Logo

उपभोक्ता सचेतनामा लगानी कम भयो कि ? : न्यौपाने



रामेछाप- रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी किसान न्यौपानेले उपभोक्ता सचेतनामा लगानी कम भएको बताएका छन् । जिल्ला अनुगमन समितिका संयोजक समेत रहेका सहायक प्रजिअ न्यौपानेले जिल्ला प्रशासन कार्यालय रामेछापले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा बजार अनुगमन सम्बन्धी उठेको प्रश्नको जवाफ दिँदै भने– ‘उपभोक्ता सचेतनामा हाम्रो लगानी काम भयो कि ?, उपभोक्तालाई हामीले सचेत गराउनु आवश्यक छ । उपभोक्ताले सामान खरिद गर्दा कम्तीमा उपभोग्य मिति हेर्ने बानी बसाउनु पर्छ ।’

सहायक प्रजिअ न्यौपानेले रामेछापको बजारमा एकाध समस्या भएपनि खासै समस्या नरहेको बताए । जिल्ला प्रशासन कर्यालयले चाडपर्व लक्षित, आकस्मिक र नियमित गरी तीन प्रकारले बजार अनुगमन गर्दै आएको बताए । स्थानीय तह र उद्योग वाणिज्य कार्यालयले नियमित अनुगमन गरिरहेको पनि सहायक प्रजिअ न्यौपानेले बताए ।

सहायक प्रजिअ न्यौपानेले भने ‘जुनसुकै कार्यक्रममा जाँदा, हामी पनि भन्छौँ र सबैले उपभोक्तालाई भन्नु प¥यो, उपभोग्य सामान किन्दा उपभोग्य मिति हेरर मात्र किन्नु होला ।’ उपभोक्ता सचेत भएमा अटोमेटिक बजार सुध्रिन्छ सहायक प्रजिअ न्यौपानेले भने ।

रामेछाप जिल्लामा व्यवसायीहरुको आन्तरिक समस्याको कारण पेट्रोलियम पदार्थ केहीलेकाँही अनियमित हुने गरेको सहायक प्रजिअ न्यौपानेको भनाइ छ ।

त्यस्तै सहायक प्रजिअ न्यौपानेले जिल्ला प्रशासन कार्यालयको अभिलेख ७७ वटै जिल्लामा एप्रिसियट गर्ने भएको बताए । सहायक प्रजिअ न्यौपानेले भने– ‘जिल्ला प्रशासन कार्यालयको कागजपत्र सबै पोकामा थियो, त्यसलाई व्यवस्थित र डिजिटलाइट गर्नुपर्छ भनेर व्यवस्थित गरेका छौँ ।’ जिल्ला प्रशासन कार्यालयमा भएको अभिलेख माग भएमा, माग भएको पत्र आएको पाँच मिनेटभित्र हामी अभिलेख दिन सक्छौँ, सहायक प्रजिअ न्यौपानेले भने ।

प्रतिक्रिया दिनुहोस्