सन्तोष ढुङ्गेल
रामेछाप । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त २८ वर्षपछि पक्राउ परेका छन् । जिल्ला अदालत रामेछापबाट २० बर्ष कैद सजायको फैसला भएको फरार अभियुक्त पक्राउ परेका हुन् ।
बिशेष सूचनाको आधारमा रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–४ का अभियुक्त ५५ वर्षिय होमबहादुर थापामगरलाई जिल्ला प्रहरी कार्यालयको टोलीले उनकै घरबाट पक्राउ गरेको हो । अभियुक्त घरमै रहेको सूचनाको आधामार प्रहरीले खानतलासी गर्दा घरभित्र डोकोमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक नवराज ढुंगानाले जानकारी दिए ।
कर्तब्य ज्यान मुद्दामा रामेछाप अदालतबाट २०५० फागुन १६ गते फैसला भई २० बर्ष कैद सजाय तोकिएको थियो । होमबहादुर थापामगर सहित ४ जनाले मिति २०४९/०७/०५ गते छिमेकी गजुरे मगरलाई चक्कुले मुटुमा प्रहार गरि हत्या गरेर फरार रहेका थिए । अन्य अभियुक्तहरुले भने सजाय भुक्तान गरिसकेका छन् । मुख्य प्रतिवादी अभियुक्त होमबहादुर थापामगर भने घटना पश्चात् लुकिछिपी बस्दै आएका थिए ।