Logo

कृषि, पर्यटन औधोगिक मेलाको तयारी पूरा



रामेछाप- रामेछाप उद्योग वाणिज्य सङ्घको आयोजनामा यही माघ १६ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने “कृषि, पर्यटन, औद्योगिक प्रदर्शनी मेला”को सम्पूर्ण तयारी पूरा भएको छ । ११ दिनसम्म सञ्चालन हुने उक्त प्रदर्शनी मेलाको तयारी भएको रामेछाप उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवीन कुमार थापा मगरले जानकारी दिए ।

मन्थलीस्थित जिल्ला समन्वय समितिको पाङ्गणमा हुने उक्त प्रदर्शनी मेलामा जिल्लामा उत्पादित कृषि तथा घरेलु उत्पादनहरू, हस्ताकला तथा कुटिर उद्योगबाट उत्पादित सामग्रीहरु राखिनेछन् । त्यसका अतिरिक्त मेलामा विभिन्न जातजातिको झाँँकी प्रदर्शन गरिने छ ।


प्रदर्शनी मेलामा ७५ वटा स्टल राखिएको छ । प्रदर्शनी स्थलमा निर्माण गरिएको ७५ स्टलहरु मध्ये मङ्गलवारसम्म ४० भन्दामाथि बुकिङ् भइसकेको र बाँकी स्थलमा बुधवार महोत्सव उद्घाटनसम्म बुकिङ् भइसक्ने रामेछाप उद्योग वाणिज्य सङ्घका कार्यकारी अधिकृत नवीन घिमिरेले जानकारी दिए । प्रदर्शनी मेलामा स्थानीय र राष्ट्रिय स्तरका कालाकारद्वारा सांगीतिक कार्यक्रम प्रदर्शन गरिने कार्यक्रम रहेको रामेछाप उद्योग वाणिज्य सङ्घले जानकारी दिएको छ ।

कृषि, जलस्रोत, वन, कला संस्कृतिको जर्गेना गराैँ, पर्यटन प्रवर्धन गरौँ भन्ने नारासहित सञ्चालन हुने कृषि, पर्यटन औद्योगिक प्रर्दशनी मेलाको पहिलो दिन माघ १६ गतेदेखि १९ गतेसम्म प्रवेश शुल्क पूर्णरुपमा निःशुल्क गरिने, २० गतेदेखि दिउँसो ३ बजेसम्म प्रवेश शुल्क नलाग्ने र ४ बजेपछि प्रवेश शुल्क लिइने रामेछाप उद्योग वाणिज्य सङ्घले जनाएको छ । २० गतेदेखि २६ गतेसम्म अपराहन्न ४ बजेदेखि मेला स्थलमा प्रवेश गर्नको लागि एक सय रुपैयाँ शुल्क निर्धारण गरिएको रामेछाप उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिए ।


कृषि उपज प्रदर्शनीमा राख्ने व्यवसायीहरुको लागि स्थानीय सरकारको सहयोगमा व्यवसायीहरुलाई निःशुल्क स्टल उपलब्ध गराउने व्यवस्था मिलाइएको पनि उनले बताए । बालबालिकाहरुको मनोरञ्जनको लागि बालउद्यानको समेत व्यवस्था गरिएको श्रेष्ठ भने ।

कृषि उपज प्रदर्शनीमा राखि स्थलमा बस्ने प्रत्येक कृषि उपज स्टलका एक जनालाई बिहान र बेलुकाको खाना समेत व्यवस्था गरिने वरिष्ठ उपाधयक्ष श्रेष्ठले जानकारी दिएका छन् ।

मेला आयोजनाका लागि झन्डै २५ लाख रुपैयाँ खर्च लाग्ने र सोको व्यवस्थापनका लागि प्रदेश र स्थानीय सरकारहरुमा अनुरोध गरिएको समेत श्रेष्ठले जनाएका छन् । बुधवार (आज) देखि २६ गतेसम्म सञ्चालन हुने प्रदर्शनी मेलाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासङ्घका जिल्ला नगर उपाध्यक्ष सुरकृष्ण बैद्यले गर्ने छन् । कार्यक्रम उद्घाटन गर्नुअघि र्याली निकालिने रामेछाप उद्योग वाणिज्य सङ्घका कार्यकारी अधिकृत घिमिरेले जानकारी दिए । उनको अनुसार ¥यालीमा विभिन्न जातजातिको झाँकी, स्केटिङ्, मञ्चेबाला, स्काउट लगाएको सहभागिता रहने छ । र्याली बिहान ११ बजेपछि मदनआश्रित चोकबाट सुरु हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्