१६ भदौ, काठमाडौं– नेपाली काँग्रेसभित्र रामचन्द्र पौडेल पक्षधर नेताहरुले पार्टीभित्रको गलत प्रबृत्तीको विरुद्ध केन्द्री समितिबाट राजीनामा दिनेदेखि पार्टी कार्यालयमा धर्ना र आमरण अनसनसम्म गर्ने तयारी गरेको छ ।
केन्द्रीय गुरुराज घिमिरे, बद्री पाण्डे र जीवन परियार सम्मेलित प्रतिवेदन समितिले पार्टीभित्रका गलत निर्णय र त्यस विरुद्धको प्रतिवादका कार्यक्रम समेत सुझाएर तयार पारेको प्रतिवेदन शनिबार आफ्नो समूहका सबै नेतालाई वितरण गरिसकेको छ ।
प्रतिवेदनमा सभापति देउवालाई विधि, विधान र पद्धतिमा बाँध्नका लागि आमरण अनसनसम्मका सम्भावित विरोधका कार्यक्रम सुझाइएको छ । यस्तै प्रतिवेदनले धर्ना, अनसन र सभापति देउवाद्वारा मनोनित केन्द्रीय सदस्यको राजीना गराउने पनि उल्लेख छ ।
समितिका सदस्य गुरुराज घिमिरेका अनुसार आमरण अनसन गर्नुअघि ६ चरणका कार्यक्रम गर्ने गरिने छ । उनका अनुसार यहि हप्तामा फेरि पौडेल पक्षले भर्चुअल बैठक गर्ने छन् । आगामी बैठकले सुरुमा सभापतिलाई गलत निर्णय सच्याउन तीन दिनको अल्टिमेटम दिने छ । उक्त अवधिमा विधान विपरीतका निर्णय नसच्याए केन्द्रीय पदाधिकारी, सदस्य, सांसद, जिल्ला सभापति र भ्रातृ तथा शुभेच्छुक संस्थासँग अन्तक्र्रिया गर्ने र पत्रकार सम्मेलन गर्ने पौडेल समूहको कार्यक्रम छ ।
त्यसपछि जिल्ला तथा केन्द्रीय कार्यालयमा धर्ना दिने, रिले अनसन बस्ने र अन्तिममा आमरण अनसन बस्ने पौडेल पक्षको योजना छ । यस्तै देउवाविरुद्ध कदम चाल्नु पहिले मनोनित केन्द्रीय सदस्यलाई राजीनामा दिन लगाउने पनि पौडेल पक्षको तयारी छ ।
सभापति देउवाद्वारा मनोनित वरिष्ठ नेता पौडेलसहित अर्जुनरसिंह केसी र दिलबहादुर घर्तीलाई केन्द्रीय सदस्यबाट राजीनामा दिन प्रतिवेदनमा सुझाइएको छ । यस्तै नेपाल विद्यार्थी संघमा पठाएका पदाधिकारी पनि फिर्ता बोलाउने पौडेल पक्षको रणनीति छ । नेविसंघका १० जना पदाधिकारीमा पौडेल पक्षबाट महामन्त्रीहरु दीपक भट्टराई, उर्मिला थपलिया र प्रभात दाहालको सहभागिता छ । त्यहीअनुसार पौडेल पक्षद्ववारा गठित समितिले प्रतिवेदन तयार पारिसकेको छ ।
भदौको सुरुवातमा महामन्त्री शशांक कोइरालाको निवासमा बसेको पौडेल पक्षको बैठकमा केन्द्रीय सदस्यद्वय धानराज गुरुङ र गुरुराज घिमिरेले आफू पक्षीय मनोनित केन्द्रीय सदस्यलाई सामूहिक राजीनामा दिन सुझाएका थिए । त्यसमा वरिष्ठ नेता पौडेल र नेता केसीले आफू राजीनामा दिन तयार रहेको बताएका थिए ।