सन्तोष ढुङ्गेल
रामेछाप- जिल्लको खाँडदेवी गाउँपलिकामा रहेको प्रसिद्ध शक्तिपीठ खाँडादेवी मन्दिरमा भक्तजन र दर्शनार्थीको घुँइचो लागेको छ । आस्था एवम् विश्वासको प्रतिकको रुपमा रहेको यस मन्दिरमा भाकल गरेको र मनले चिताएको पूरा हुने विश्वास गरिँदै आएको छ । पुरातत्व विभागमा सूचीकृत भएको खाँडादेवी मन्दिरमा पौषको तेस्रो शनिवार सयौँ भक्तजन र दर्शनार्थीको उपस्थिति रहेको खाँडादेवी विकास कोषले जनाएको छ ।
पछिल्लो समय खाँडादेवी मन्दिरप्रति भक्तजनको विश्वास बढ्दै गएको र भाकल पूरा भएको भन्दै सयौँको सङ्ख्यामा भक्तजन मन्दिरमा आउने गरेको विकास कोषका अध्यक्ष शेरबहादुर तामाङ बताए ।
पालिकाको नाम समेत मन्दिरको नामबाट नामाकरण गरिएको खाँडादेवी मन्दिर जिल्लाकै प्रसिद्ध शक्तिपीठ हो । देश बिदेशदेखि पनि भक्तजन मन्दिरमा आउने र पञ्चवली गर्ने गरेको पनि कोषका अध्यक्ष तामङले बताए ।
परापूर्वकालमा मानवलाई दुःख दिने राक्षसलाई बद गरेर मानव जगतको हित गरेको र यस क्षेत्रमा देवी आएर बसेको किंवदन्ती पाइन्छ । पारिवारिक समस्या भएको र देवीको भाकल गरेपछि समस्या टरेको मन्दिरमा आएकी खाँडादेवी गाउँपलिका–२ कि इन्द्रावती मोक्तान बताउँछिन् ।
भक्तजनको सुविधालाई लक्षित गर्दै विकास कोषले मन्दिर परिसरमा सिसि क्यामेर जडान गरेको छ भने बली चढाउन आउने भक्तजनको लागि छुट्टै व्यवस्था गरेको छ । प्रचारप्रसारको कमीले ओझेलमा परेको यस ऐतिहासिक एवम् पुरातात्विक शक्तिपीठ भक्तजनको बाक्लो उपस्थितिले मन्दिर प्रतिको विश्वास अझै बढाएको छ ।