Logo

खिम्ती २ आयोजनाको सुरुङ मार्गको निर्माण अन्तिम चरणमा



टीकाप्रसाद भट्ट


रामेछाप- खिम्ती खोलाको पानी प्रयोग गर्ने गरी निर्माणाधीन खिम्ती २ जलविद्युत् आयोजनाको सुरुङ निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

आयोजनाको लागि निर्माण गर्नुपर्ने करिब ८ किलोमिटर लामो सुरुङ मार्ग मध्ये अब करिब २ सय मिटर मात्र खन्न बाँकी छ । ‘हामी चाडै ब्रेक थु्र गर्ने गरी काम गरिरहेका छौँ’ आयोजनाको सिभिल तर्फको काम गर्दै आएको हाई हिमालय हाईड्रो कम्पनीका कन्ट्रयाक्ट एण्ड विलिङ ईन्जिनियर क्रिपेश झाले बताए । सुरुङ निर्माणको कार्य गर्नका लागि विभिन्न ५ वटा सव–सुरुङमार्ग निर्माण गरिएका छन् ।

ईन्जिनियर झाकाअनुसार २०२० मा आयोजनाको सिभिल कार्य गर्ने गरी ठेक्का सम्झौता गरेको उक्त कम्पनीले सुरुङका साथसाथै बाँध निर्माण स्थल र उत्पादन गृहको काम समेत एकै साथ गरिरहेको छ । भवन लगायतका काम अन्तिम चरणमा पुगेको उनले बताए । ‘हामी आगामी नोभेम्बर महिना भित्र सिभिल तर्फको काम पुरा गरेर आयोजनालाई बुझाउने छौँ’ झा ले भने । सिभिल कार्यको लागि कुल ३ अरब ८९ करोड लगानीको सम्झौता रहेको उनले बताए ।

दोलखा र रामेछापको बिच भएर बग्ने खिम्ती खोलाको पानीलाई दोलखाको जिरी नगरपालिका र रामेछापको गोकुलगङ्गा गाउँपालिका–३ रस्नालुको सिउरानी नजिक बाँध निर्माण गरी सुरुङ मार्फत दोलखा जिल्लाको तामाकोसी गाउँपालिकामा पर्ने हावामा निर्माण हुने पावर हाउस खसालेर ४८ दशमलव २ मेघावाट विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको छ । विद्युत् उत्पादनका लागि ३ वटा टर्वाइन जडान गरिनेछन् । हरेक टर्वाइनबाट १६ मेघावाट बिद्युत् उत्पादन गर्नेछन् । बग्दो पानीलाई बाँध बनाएर फर्काएर प्रयोग गर्ने उक्त आयोजनाले विद्युत् उत्पादनका लागि प्रयोग गरेको पानी निजी क्षेत्रबाट यसअघि सञ्चालनमा रहेको खिम्ती १ जलविद्युत् आयोजनाको बाँध स्थलभन्दा केही माथि खिम्ती खोलामा खसालिने छ ।

आयोजनाबाट उत्पादित विद्युत् १ सय ३२ केभि प्रशारण लाईन मार्फत रामेछाप जिल्लाको गोकुलगङ्गा गाउँपालिकाको गर्जाङमा निर्माण भएको सब–स्टेशनमा लगेर राष्ट्रिय ग्रिडमा जोड्ने लक्ष्य रहेको छ । त्यसका लागि आयोजनाले आवश्यक प्रकृया अघि बढाएको छ ।

खिम्ती खोलाको पानीबाट यसअघि ३ वटा जलविद्युत् आयोजना निर्माण भइसकेका छन् । नर्बेजियनको लगानीमा निर्माण भएको खिम्ती १ जलविद्युत् आायोजनाबाट ६० मेघावाट, हिमालय उर्जा कम्पनीबाट १२ र ७ मेघावाटका अपर खिम्ती र माथिल्लो खिम्ती जलविद्युत् आयोजनाबाट विद्युत उत्पादन हँुदै आएको छ । उक्त दुवै आयोजना राष्ट्रिय प्रशारणमा जोडिएका छन् । माथिल्लो खिम्ती र अपर खिम्ती गत दुई बर्षअघि मात्र राष्ट्रिय प्रशारणमा जोडिएका हुन् भने खिम्ती १ जलविद्युत आयोजना २७ बर्ष अघिदेखि उत्पादन दिँदै आएको छ । उक्त आयोजना २ बर्षअघिबाट नेपाल विद्युत प्राधिकरणको आधा स्वामित्व हुने गरी व्यवस्थापकियको काम हुँदै आएको छ । तत्कालिन अवस्थामा अमेरिकी डलरमा विद्युत खरिद गर्ने सम्झौता गरेका कारण खिम्ती १ जलविद्युत आयोजना नेपाल विद्युत प्राधिकरणलाई महङ्गो पर्दै आएको थियो । अब आधा मात्र तिर्दा पुग्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्