रामेछाप- सुनापति गाउँपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि कृष्णपुरी माध्यमिक विद्यालयले जितेको छ । मङ्गलवार सम्पन्न भएको प्रतियोगितामा ७ स्वर्ण पदकसहित कृष्णपुरी माध्यमिक विद्यालय सुनापति– ५ रुपाकोटले रनिङ शिल्डको उपाधि जितेको हो ।
त्यस्तै डहु माध्यमिक विद्यालय सुनापति– ४ डहुले ४ स्वर्ण पदकसहित दोस्रो स्थान हासिल गरेको छ भने पशुपति माध्यमिक विद्यालय सुनापति–३ नागसिवाले ३ स्वर्ण पदक जित्दै तेस्रो भएको छ ।
प्रतियोगितामा कृष्णवर्णेश्वर माध्यमिक विद्यालय सुनापति–२ मानपुरले २ स्वर्ण जितेको छ भने कुशेश्वर माध्यमिक विद्यालय सुनापति–४ बेथानले २ स्वर्ण जितेको छ । त्यस्तै सतलिङ्गेश्वर माध्यमिक विद्यालय सुनापति– १ गुन्सीले १ स्वर्ण पदक जित्दा जलदेवी माध्यमिक विद्यालय सुनापति–५ खनियापानीले १ स्वर्ण जितेको छ । प्रतियोगितामा भाग लिएका अग्लेश्वर माध्यमिक विद्यालय सुनापति–२ दिमीपोखरी र बाल माध्यमिक विद्यालय भिरकोटले भने एउटा पनि स्वर्ण पदक जित्न सकेनन् ।

सुनापति गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा आइतवारदेखि सुरु भई मङ्गलरवार सम्पन्न सातौँ रनिङ शिल्ड प्रतियोगितामा गाउँपालिकाका ९ वटा विद्यालयले भाग लिएका थिए ।
पदक जित्ने खेलाडीलाई शिल्ड, मेडल र प्रमाणपत्र वितरण तथा समापन कार्यक्रममा बोल्दै सुनापति गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङले रनिङ शिल्ड प्रतियोगितामा भाग लिने खेलाडीहरूले कुनै पनि हारजितको रूपमा नहेरी निरन्तर अभ्यासको रूपमा लिन आग्रह गरे । जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भाग लिएर शिल्ड जित्नेगरी अभ्यास गर्न पनि अध्यक्ष तामाङले आग्रह गरे । उनले सुनापति गाउँपालिकाको खेलकुद विकासमा गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।

प्रतियोगितामा पदक जित्ने खेलाडीहरूलाई जिल्लास्तरीय प्रतियोगितामा भाग लिनको लागि अब अभ्यासका खेलहरू खेलाइने सुनापति गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष सुदिप केसीले जानकारी दिए ।
सुनापति गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष सुदिप केसीको अध्यक्षतामा भएको समापन तथा शिल्ड, मेडल र प्रमाणपत्र वितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गिता विष्ट, गाउँपालिका प्रवक्ता एवम् वडा नम्बर २ का वडाध्यक्ष पदम थापा, वडा नम्बर १ का वडाध्यक्ष ध्रुव चौलागाई, वडा नम्बर ३ का वडाध्यक्ष कुलबहादुर थिङ, वडा नम्बर ४ का वडाध्यक्ष डन्डुप लामा, वडा नम्बर ५ का वडाध्यक्ष चित्रबहादुर मानन्धर लगायतको सहभागिता रहेको थियो ।
