रामेछाप- रामेछाप नगरपालिका–२ देउरालीका सहिद परिवारहरूले बालमैत्री खेलकुद कार्यक्रम तयारीका लागि खेल सामग्री वितरण गरेको छ । देउराली हत्याकाण्डका ६ जना सहिदहरुको सम्झनामा उक्त खेल सामग्री वितरण गरिएको सहिद परिवारका एक सदस्य केशव बस्नेतले जानकारी दिए । उक्त कार्यक्रमका अगुवाई गरेका बस्नेतले खेलकुदप्रति बालबालिकाहरुको आकर्षण बढाउने र बालमैत्री खेलकुद कार्यक्रम तयारीको लागि सहज होस् भन्ने उद्देश्यले खेल सामग्री वितरण गरिएको बताए ।
बस्नेतका अनुसार रामेछाप नगरपालिका वडा नम्बर २ र सहिद परिवारहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा दुई विद्यालय सितलादेवी माध्यमिक विद्यालय र कालिकादेवी माध्यमिक विद्यालय साथै टोल स्तरीय ९ वटा बालसमूहलाई १३ थान भलिबल र ९ थान जाली (नेट) वितरण गरिएको छ ।

उक्त कार्यक्रमका लागि केही आर्थिक सहयोग वडा कार्यालय र सहिद प्रतिष्ठानका महासचिव युवराज चौलागाईँले उपलब्ध गराएका थिए भने बाँकी खर्च सहिद परिवारका सदस्यहरूले नै संयुक्त रूपमा जुटाएका थिए ।
२०५९ साल कार्तिक ७ गते तत्काली शाही नेपाली सेनाले राजकुमार पौडेल, टेकबहादुर बस्नेत, रामजी श्रेषठ, दुर्गाबहादुर बस्नेत, नेत्रबहादुर कार्की, लोकबहादुर भुजेल र निरबहादुर श्रेष्ठलाई घरबाट गिरफ्तार गरी सालुको ढुङ्गेछापमा ल्याएर ६ जनालाई गोली हानी हत्या गरेका थिए भने निरबहादुर श्रेष्ठ बालक भएकाले उनलाई छाडिएको थियो । उनै निरबहादुर श्रेष्ठ अहिले रामेछाप नगरपालिका–२ का वडा अध्यक्ष छन् ।
