रामेछाप-रामेछाप नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि गौरीशङ्कर माध्यमिक विद्यालय रामेछापले उचालेको छ । यही मङ्सिर ११ गतेबाट सुरुभइ १३ गते शनिवार सम्पन्न भएको रामेछाप नगरपालिका स्तरीय ८ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि गौरीशङ्कर माध्यमिक विद्यालयले जितेको हो ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ रामेछाप नगरपालिका, नगर खेलकुद विकास समितिको आयोजनामा सम्पन्न भएको प्रतियोगिताको उपविजेता जनता माध्यमिक विद्यालय बनेको छ भने हिमगङ्गा माध्यमिक विद्यालयले तृतीय स्थान हासिल गरेको छ ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत १७ वटा विधामा प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगिता अन्तर्गत तेक्वान्दामा गौरीशङ्कर माध्यमिक विद्यालय रामेछापले ७ स्वर्ण, ५ रजतसहित १२ पदक जितेको छ । शारदा संस्कृत माध्यमिक विद्यालय बाबियाखर्कले स्वर्ण ३, रजत ३ र कास्य ५ गरी ११ पदक हात परेको छ भने मावि भङ्गेरीले स्वर्ण २, रजत २ र कास्य ४ गरी ८ पदक जितेको छ । तेक्वान्दोमा सान्त्वना भएको जनता माध्यमिक विद्यालयले रजत १, कास्य २ गरी ३ पदक जितेको छ ।

उसुमा गौरीशङ्कर माविले स्वर्ण ८, रजत २ र कास्य ३ जितेको छ भने मा.वि. भङ्गेरी रजत ३ र कास्य १ जितेको छ । त्यसैगरी कराँतेमा जनता माविले स्वर्ण ७, रजत ७ र कास्य ६ गरी २० पदक हात पारेको छ । गौरीशङ्कर माविले स्वर्ण ३, रजत ४ र कास्य ७ गरी १४ पदक पाएको छ भने मावि भङ्गेरीले स्वर्ण २, रजत १ र कास्य ३ गरी ६ पदक जितेको छ ।
कपर्दी छात्रतर्फ चण्डेश्वरी मावि गोठगाउँ प्रथम, हिमगङ्गा मावि द्वितीय तथा जनकल्याण मावि र गौरीशङ्कर मावि तृतीय भएका छन् । त्यसैगरी कपर्दी छात्रातर्फ चण्डेश्वरी मावि गोठगाउँ प्रथम, जनता मावि कोलञ्जोर द्वि
तीय तथा शारदा संस्कृत मावि बाबियाखर्क र महारुद्र मावि बोलङबोलङ तृतीय भएका छन् ।
भलिबलतर्फ छात्रमा हिमगङ्गा मावि प्रथम, जनता मावि द्वितीय तथा रेणुकादेवी मावि र कालिका मावि तृतीय भएका छन् भने छात्रातर्फ हिमगङ्गा मावि प्रथम, चण्डेश्वरी मावि द्वितीय तथा गौरीशङ्कर मावि र जनकल्याण मावि तृतीय भएका छन् ।

तीन दिनसम्म सञ्चालन गरिएको उक्त प्रतियोगितामा रामेछाप नगरपालिका अन्तर्गतका १३ वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको थियो । प्रतियोगिता कार्यक्रम समापन शनिवार रामेछाप नगरपालिका प्रमुख लवश्री न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । त्यसैगरी कार्यक्रमका अतिथिहरुमा रामेछाप नगरपालिका उपप्रमुख बालकुमारी कार्की ‘थापा’, प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईं, राजनीतिक दलका प्रतिनिधि, सङ्घसंस्थाका प्रतिनिधि लगायत रहेका थिए । प्रतियोगिताका विजयी खेलाडीहरुलाई प्रमुख अतिथि तथा अतिथिहरुबाट शिल्ड मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रमका अध्यक्ष तथा रामेछाप नगर खेलकुद विकास समितिका संयोजक केदार कार्कीले प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको बताए । प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गर्दै प्रतियोगिताले नगरपालिका अन्तर्गतका खेलाडीहरुको प्रतिभा पहिचान गर्ने अवसर प्राप्त भएको पनि बताए । प्रतियोगिता रामेछाप नगरपालिका–८ स्थित टुडिखेलमा सञ्चालन गरिएको थियो ।
