Logo

रामेछाप नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी



रामेछाप- रामेछाप नगरपालिका स्तरीय ८ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी छ । रामेछाप नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा मङ्सिर ११ गते सुरु भई १३ गते सम्पन्न हुने उक्त प्रतियोगिता अन्तर्गत प्रतिस्पर्धा गराइने १७ वटा खेलहरुमध्ये धेरैजसो खेलहरु सम्पन्न भइसकेको रामेछाप नगर खेलकुद विकास समितिले जनाएको छ ।

शुक्रवारसम्म सम्पन्न भएका खेलहरुमा सहभागी विद्यालयहरू मध्ये अङ्कको आधारमा गौरीश्वर माध्यमिक विद्यालय, रामेछाप अग्रस्थानमा रहेको छ । गौरीशङ्कर माध्यमिक विद्यालय सम्पन्न भएका खेलहरु मध्येबाट ५६ अङ्कसहित अग्रस्थानमा रहेको हो । गौरीशङ्क माध्यमिक विद्यालयले २६ स्वर्ण, १४ रजत र १६ काँस्य पदक प्राप्त गरेको छ ।


त्यसैगरी जनता माविले ९ स्वर्ण, १४ रजत र ११ काँस्यसहित ३४ अङ्क पाएको छ । हिमगङ्गा माध्यकि विद्यालय साँघुटारले ६ स्वर्ण, ४ रजत र ५ काँस्यसहित १५ अङ्क प्राप्त गरेको छ । मावि भङ्गेरीले ५ स्वर्ण, ४ रजत र ९ काँस्यसहित १८ अङ्क प्राप्त गरेको छ ।


प्रतियोगितामा नगरका १३ वटा विद्यालयहरूले सहभागिता जनाएका छन् । सम्पन्न भएका खेलहरुको नतिजाअनुसार रेणुकादेवी मावि धारापानी २ स्वर्णसहित ४ अङ्क, महारुद्र मावि बोलङबोलङ ० अङ्क, शारदा संस्कृत मावि ४ स्वर्णसहित १३ अङ्क, चण्डेश्वरी मावि ० अङ्क, कालिकादेवी मावि ३ अङ्क, सितलादेवी मावि २ अङ्क, भिमेश्वर मावि, रामपुर २ अङ्क, जनकल्याण मावि, च्यास्कु २ अङ्क र पटनादेवी मावि, भालुखोपले २ अङ्क पाएको छ ।


शुक्रवारसम्म सम्पन्न भएका खेलमा जम्मा ४५ स्वर्ण, ३५ रजत र ५१ काँस्य पदक वितरण गरिएको नगर खेलकुद विकास समितिले जानकारी दिएको छ । कार्यक्रमका संयोजक केदार कार्कीले विद्यालयस्तरमा उदाउँदा खेलाडीहरू पहिचान गर्न प्रतियोगिता महत्वपूर्ण भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्