Logo

सुनापतिमा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु



रामेछाप- सुनापति गाउँपालिकास्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आइतवारदेखि सुरु भएको छ । गाउँपालिकाभित्रका माध्यमिक विद्यालयका विद्यार्थीबिच विभिन्न खेल विधामा प्रतिस्पर्धा हुने प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङले गरेका हुन् ।

उद्घाटन समारोह कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङले सात वर्षदेखि निरन्तर हुँदै आएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि बढाएको बताए । साथै शारीरिक तथा मानसिक विकासमासमेत सहयोग पुर्‍याएको अध्यक्ष तामाङले बताए । खेलकुदको माध्यमबाट गाउँपालिकाको प्रतिष्ठा बढाउने र सामाजिक एकता सुदृढ गर्ने अवसर प्राप्त भएको पनि गाउँपालिका अध्यक्ष तामाङको भनाइ छ । आगामी वर्ष हुने जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुनापति गाउँपालिकाले आयोजना गर्ने पनि अध्यक्ष तामाङले घोषणा गरेका छन् ।


कार्यक्रमका विशिष्ट अतिथि तथा गाउँपालिका उपाध्यक्ष गीता विष्टले गाउँपालिकाको खेलकुद क्षेत्रमा गरिएको लगानीले अब प्रतिफल दिन थालेको बताइन् । उनकाअनुसार, खेलकुदमा युवाको बढ्दो आकर्षणले सुनापति गाउँपालिकालाई खेल पर्यटनको गन्तव्यका रूपमा विकसित गर्ने लक्ष्यमा टेवा पुर्‍याइरहेको छ ।

प्रमुख प्रशासकीय अधिकृत सुरेशकुमार श्रेष्ठले पहिलो संस्करणदेखि सातौँ संस्करणसम्म आइपुग्दा विद्यार्थीहरूको खेलकुदप्रतिको लगाव र प्रदर्शनले गाउँपालिकामा खेलकुदको दिगो विकासको सङ्केत दिएको बताए । कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष ध्रुब चौलागाई, वडा नम्बर ४ का वडाध्यक्ष डन्डुप लामा, वडा नम्बर ५ का वडाध्यक्ष चित्रबहादुर मानन्धरलगायत अतिथिहरूले शुभकामना मन्तव्य दिएका थिए । खेलकुद विकास समितिका अध्यक्ष सुदिप केसीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा समितिका उपाध्यक्ष सोम तितुङले स्वागत मन्तव्य दिएका थिए ।


उद्घाटन कार्यक्रमपछि मार्चपास र नृत्य प्रतियोगिता सञ्चालन गरिएको थियो । प्रतियोगिता अन्तर्गत एथलेटिक्स, भलिबल, कपर्दी लगायतका विधामा प्रतिस्पर्धा सुरु भएको सुनापति गाउँपालिका खेलकुद विकास समितिका सचिव दिनेश नेपालीले जानकारी दिएका छन् ।

पहिलो दिन पुरुषतर्फको भलिबलमा कृष्णपुरी मावि र अग्लेश्वर माविबिच भएको खेलमा अग्लेश्वर माविले जित हासिल गरेको छ । कपर्दीतर्फ महिलामा सतलिङ्गेश्वर मावि र कृष्णपुरी माविबिचको प्रतिस्पर्धामा कृष्णपुरी माविले जित हात पारेको आयोजकले जनाएको छ । त्यस्तै एथलेटिक्स अन्तर्गत महिला र पुरुष दुवै समूहमा ज्याभलिन थ्रो, सटफुट र लङजम्पका खेलहरू सम्पन्न भएका छन् ।

सचिव नेपालीकाअनुसार प्रतियोगितामा गाउँपालिकाका ९ वटा माध्यमिक विद्यालय सहभागी छन् । प्रतियोगितामा विद्यार्थी खेलाडीहरू २० स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्दै छन् । सोमवार बिहान ७ः३० बजेदेखि बाँकी खेल सुरु भएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्