रामेछाप-सुनापति गाउँपालिका अध्यक्ष कपको उपाधि मुगीखोला युवा क्वल मन्थलीले उचालेको छ । सुनापति गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा सम्पन्न भएको चौथो अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि मुगिखोला युवा क्लब मन्थलीले उचालेको हो ।
बेष्ट अफ फाइप अन्तर्गत खेलाइएको खेलमा मुगिखोला युवा क्लबले आयोजक टिम सुनापति गाउँपालिका खेलकुद विकास समितिलाई ३–२ को सेटअनुपातमा पराजित गर्दै उपाधि हात पारेको हो ।

विजेता मुगिखोला युवा क्लबले १ लाख ५० हजार रुपैयाँ नगद साथै ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै उपविजेता आयोजक टिमले १ लाख रुपैयाँ नगद साथै, ट्रफि, मेडल र प्रमाणपत्रसहित हात पारेको छ ।
फाइनल खेलअघि तृतीय स्थानका लागि भएको प्रतिस्पर्धामा जीएनइबिएस माकादुमले बेथान युवा समाजलाई पराजित गर्दै तेस्रो स्थान हात पारेको थियो । तेस्रो स्थान हासिल गरेको माकादुमले ५० हजार रुपैयाँ नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने चौथो स्थान हासिल गरेका बेथान युवा समाजले २५ हजार रुपैयाँ नगर साथै ट्रफि, मेडल र प्रमाणपत्र पाएको छ ।
उक्त प्रतियोगितामा उत्कृष्ट सर्वर, जिएनइविसका रोशन मगर, बेष्ट सेटर आयोजक टिमका देबेन्दर परिवार, बेष्ट स्पाइकर मुगीखोला युवा क्लवका शुशिल खडका, वेष्ट ब्लकर सनुज चौधरी, बेष्ट डिफेन्डर आयोजक टिमका राजन दर्लामी घोषित भए भने सर्वोत्कृष्ट खेलाडी राष्ट्रिय खेलाडीसमेत रहेका मुगीखाला युवा क्लवका दुर्गाबहादुर खड्का बने ।

प्रतियोगिता कार्तिक ९ गते सुरु भई १२ गते सम्पन्न भएको हो । समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङले चार दिनसम्म सञ्चालन भएको खेलले स्थानीय खेलाडीलाई राष्ट्रिय स्तरका खेलाडीहरूसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गरेको र गाउँपालिकाको आन्तरिक पर्यटन प्रवर्धनमासमेत टेवा पुगेको बताए ।

त्यसैगरी, जिल्ला समन्वय समिति रामेछापका सदस्य बाबुलाल योञ्जनले गाउँपालिका अध्यक्ष कपले स्थानीय खेलकुदको विकासमा सकारात्मक प्रभाव पारेको बताए । कार्यक्रमका क्रममा प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै खेलकुद विकास समितिका अध्यक्ष सुदिप केसीले यस प्रतियोगिताले सुनापति गाउँपालिकाको खेलकुद क्षेत्रलाई नयाँ उचाइमा पुर्याएको बताए ।
समापन समारोहका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङ, उपाध्यक्ष गिता विष्ट, विशेष अतिथि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेशकुमार श्रेष्ठ, वडाध्यक्षलगायतले बिजेता, उपविजेता, तृतीय र सान्त्वना भएका टिमका खेलाडीहरूलाई पुरस्कार, ट्रफि, मेडल र प्रमाणपत्र वितरण गरेका थिए । प्रतियोगितामा रामेछापसहित विभिन्न जिल्लाका ११ टिमले सहभागिता जनाएका थिए । आयोजक समितिका अनुसार, यसपटकका खेलमा राष्ट्रिय स्तरका खेलाडीहरूकोसमेत सहभागिता रहेको थियो ।
