Logo

खोप अभियानमा छुटेका नागरिकहरुलाई पनि खोप लगाइने



नवराज विश्वकर्मा


रामेछाप । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अभियानबाट खोप लगाउन छुटेका नागरिकहरुलाई पनि खोप लगाइने स्वास्थ्य कार्यालय रामेछापले बताएको छ । खोप अभियानमा छुटेका नागरिकलाई अहिले पनि खोप लगाउन सकिने स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिए ।
यही माघ ६ गतेदेखि १० गतेसम्म कोभिड–१९ विरुद्धको बुस्टर डोजको खोप अभियान सञ्चालन भएको थियो भने दोस्रो चरण अन्तर्गत १३ गतेदेखि १७ गतेसम्म सञ्चालन भएको थियो । जनस्वास्थ्य अधिकृत थापाका अनुसार रामेछापमा केही पालिका बाहेक खोप अभियान बन्द भएको छ । खोप अभियानबाट खोप लगाउन छुटेका नागरिकले सम्बन्धित पालिकामा सम्पर्क गरेर जुनसुकै समयमा पनि खोप लगाउन सक्ने थापाले जनकारी दिए ।
सम्बन्धित वडा तथा पालिकामा खोप अभाव भएमा सिधैँ स्वास्थ्य कार्यालय रामेछापमा फोन गर्न सकिने पनि उनले बताए । नागरिकता नभएका व्यक्तिले वडा कार्यालयको सिफारिस वा जन्म दर्ताको प्रमाण–पत्रको आधारमा पनि खोप लगाउन सकिने थापाले बताए । केही स्थानीय तहका जनप्रतिधिहरु चासोका साथ खोप अभियानलाई सफल बनाउन लागिपरे पनि केही स्थानीय तहका जनप्रतिनिधिले खासै चासो नदेखाएको थापाले गुनासो समेत गरे ।
सार्वजनिक सेवा लिन जाँदा अनिवार्य खोप कार्ड देखाउनुपर्ने भनेर सरकारले ल्याएको नीति रामेछाप जिल्लामा अहिले कार्यान्वयनमा नआएको उनले बताए । सरकारले गत माघ ७ गतेदेखि सार्वजनिक स्थानमा सेवा लिन जाँदा अनिवार्य खोप कार्ड देखाउनुपर्ने बाध्यकारी व्यवस्थाको लागु गरेको थियो । तर, रामेछापको सन्दर्भमा भने सरकारको निर्णयले खासै छुन सकेको छैन् । यस विषयमा अब बस्ने जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकमा छलफल गरिने जनस्वास्थ्य अधिकृत थापाले बताए ।
जिल्लामा हालसम्म एक लाख ६ हजार ९ सय ९० जनाले कोभिड–१९ विरुद्धको पहिलो मात्रा खोप लगाएका छन् भने ९७ हजार ४ सय ९५ जनाले पूर्ण खोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्