रामेछाप–भूकम्प पछिको पुनर्निर्माण अन्तर्गत रामेछाप नगरपालिका–५ रामपुरका प्रबलिकरणमा घर परेका भूकम्प प्रभावितहरुले प्रबलिकरण नभई पुनर्निनिर्माण गर्न पाउनुपर्ने माग गरेका छन् । प्रबलीकरणमा परेका घरहरु प्रबलीकरण गरेर बस्न सक्ने अवस्था नभएको भन्दै भूकम्प प्रभावितहरुले पुनर्निर्माण गर्न पाउनुपर्ने माग गरेका हुन् ।
कतिपय भूकम्प प्रभावितहरुले घर पूर्ण रुपमा क्षति भएर पनि लाभग्राही सूचीमा नपरेको गुनासो गरेका छन् भने कतिपयले घर सम्पन्न भएको एक वर्ष वितिसक्दा पनि तेश्रो किस्ता नपाएको गुनासो गरेका छन् । ट्रान्सपरेन्सी इन्टरनेशलन रामेछापले आयोजना गरेको भूकम्पपछिको पुनर्निर्माको अवस्था बिषयक सार्वजनिक सुनुवाई कार्यक्रममा भूकम्प प्रभावितहरुले यस्तो गुनासो गरेका हुन् ।
भूकम्प गए लगत्तै प्राविधिकहरु गाउँमा खटिइनुअघि निर्माण भएका घरहरुको बारेमा वडामा रहेको इन्जिनियर जाँच गरेर वडा कार्यालय र नगरपालिकाका कार्यालयले घर बलियो भएको सिफारिस दिएमा भुक्तानी दिने सरकारले घोषणा गरेको छ ।
गाउँपालिका प्राविधिक खटिइसकेपछि सम्झौता गरिएका घरधनीहरुले ढाँट छल गरेर पहिले नै बनाएको भनि सिफारिस माग्न आए त्यस्तो अवस्थामा भने सिफारिस गर्न नसकिने वडा अध्यक्ष भिमबहादुर तामाङले बताए । ढाँटछल गरेर सिफारिस लिन नआउँन पनि अध्यक्ष तामाङले भूकम्प प्रभावितहरुलाई आग्रह गरे ।
लाभग्राहीमा नभएर र गाउँमा प्राविधिक नखडिइदै निर्माण भएका घरको सन्र्दभमा वडा र नगरपालिका तथा गाउँपालिकाको सिफारिसका आधारमा प्रक्रिया अगाडि बढाइने सरकारको घोषणाले वडा कार्यालयलाई समस्या परेको पनि वडा अध्यक्ष तामाङले बताए । भूकम्प प्रभावितको बुझाई वडा कार्यालयले सिफारिस दिएपछि हुन्छ भन्ने छ तर वडा कार्यालयले विभिन्न प्रक्रिया पूरा गरेर सिफारिस गर्नुपर्ने हुन्छ, सरकारले तोकेको मापदण्ड विपरीत सिफारिस वडाले गर्न नसक्ने भएकाले वडाबाटै सबै काम हुन्छ भनिदिदा समस्या भएको अध्यक्ष तामाङले गुनासो गरे ।
जिल्ला आयोजना कार्यान्वयन इकाई भवनका इन्जिनीयर किशोर बिक्रम शाहीले प्रवलीकरणमा परेका घरहरुलाई प्रबलीकरण नै गर्न लाभग्राहीलाई सुझाव दिए । प्रवलिकरणमा परेका घर धनीले प्रवलीकरण गर्न चाहेमा तत्कालै प्रवलीकरणको काम हुने पनि इन्जिनीयर शाहीले बताए । प्रबलिकरण (रेक्टोफिटिङ) गर्दा पुनर्निर्माण गरिएको भूकम्प प्रतिरोधी घरजतिकै बलियो हुने भएकाले प्रबलिकरणमा परेका घरहरुलाई प्रबलिकरण गर्न पनि उनले लाभग्राहीलाई सुझाव दिए ।
गाउँमा प्राविधिक खटिइनु पहिले निर्माण भएका र तेश्रो किस्ता लिन बाँकी भएका घरहरुको इन्जिनीयर, वडा कार्यालय र नगरपालिकाको सिफारिसमा मुक्तानीन दिने जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान ब्यवस्थापन कार्यालय रामेछापका प्रमुख बिरबहादुर रावलले बताए ।
लाभग्राहीमा नपरेका र प्रबलिकरणमा सूचिकृत भएका तर घर पूर्ण रुपमा क्षतिभएकाहरुले गुनासो फर्म भर्न गत जेष्ठ मसान्तसम्मको म्याद दिएर पुनर्निर्माण प्राधिकरणले खुलाएको आवेदनको अवधिमा आएका आवेदन फारमहरु केन्द्रमा पठाइसकिएको र केन्द्रको निर्णय अनुसार प्रक्रिया अघि बढ्ने पनि उनले जानकारी दिए ।
रामपुरमा आवास पुनर्निर्माको काम नेपाल रेडक्रस सोसाइटीले गरेकाले रेडक्रसको परियोजना अवधिमा निर्माण भइनसकेका घरहरुको लागि नेपाल सरकारले नै बजेटको ब्यवस्था गर्नुपर्ने भएकाले केही ढिलाई भए पनि थप बजेटको बारेमा निर्णय भइसकेकोले भुक्तानी बाँकी रहेका घरहरुको अनुगमन गरेर मापदण्ड पूरा भएका घरहरुलाई तत्कालै भुक्तानी दिने पनि उनले बताए ।
सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण ट्रान्सपरेन्सी इन्टरनेशलन रामेछापका संयोजक दिपक केसीले गरेका थिए ।