टीकाप्रसाद भट्ट
रामेछाप – फुरिन्जीको गोठको लोभलाग्दो ‘सेराङ’ बिरामी परेर मरेको एक बर्ष भयो । ५ बेते ‘सेराङ’ बिरामी परेदेखि फुरिन्जीका आँखा ओभाएनन । ‘घाँसै नखाने, र्याल चुहाइरहने, केही खाइहाले पनि ओकल्थ्यो’ फुरिन्जी भन्छन – मैले जानेको कुड्की लगायतको जडिबुट्टिबाट औषधी बनाएर ख्वाई । तर केही सिप चलेन । १२ दिन जति बचाए, त्यसपछि मर्यो ।
गोठमा रोग लागेर मरेको ‘सेराङ’ मात्र हैन, अरु धेरै चौरी त्यसैगरी मरे । १०–१२ वटा जति । लेकमा चौरीलाई रोग लागेपछि बचाउने औषधी पाइँदैन । माथिल्लो गुम्देलमा सरकार पुग्दैन । पशु प्राविधिकहरुको मुख चौरीले पुलुक्क पनि हेर्न पाउँदैनन । को डाक्टर अनि के औषधी ? चौरीपालक किसानलाई थाहा छैन । आजभन्दा अघि त भएन नै, अहिले पनि छैन । गुम्देलमा रहेका सबै २० वटा गोठका किसानको समस्या उस्तै उस्तै हो ।
चौरी बिरामी पर्यो कि उनीहरु भगवान सम्झन्छन । जडिवुट्टि खोज्छन । बाबु बाजेको पालादेखि सिकेको औषधी बनाएर खुवाउछन । गोठ नछोडी हेरचाह गर्छन । केही सन्चो पनि हुन्छन, धेरै चाहिँ मरेकै छन । तेछिमका गेल्जे शेर्पा भन्छन – सरकार धेरै वटा छन, तर चौरीको व्यथा हेर्ने सरकार एउटै छैन । शेर्पा भन्छन – चौरीका हामीनै सरकार अनि हामीनै गोठालो ।
चौरी पालन किसानलाई सघाउन सरकारले कुनै कार्यक्रम गुम्देलमा लगेको छैन । कयौँ स्थानमा सुरक्षित बाटो छैन । खोलाहरुमा काठेपुल छैन् । वडाले चौरी गोठका लागि कार्यक्रम दिएको छैन । प्रदेश र केन्द्र सरकारको के कुरा ? फुरिन्जी भन्छन – चौरीबारे स्थानीय सरकारनै बेखबर छ । चौरीपालन पेशालाई जिल्लाकै चिनारी बनाउन सकिन्थ्यो । चौरी पर्यटनक्षेत्रको विकास गर्न मिल्थ्यो । केही गरेको छैन, अहिलेसम्म ।
पाँचबर्ष अघि गुम्देलमा चौरीपालक किसानलाई सघाउन जिल्ला पशुसेवा कार्यालयले याक ल्याइदियो । सोलुबाट खरिद गरेर गुम्देल ल्याएको उक्त याक आँखै हेर्न नसकेर म¥यो । माथिल्लो लेकमा हुने याक गुम्देलमा फापेन । त्यसपछि उनीहरु माथि थप बज्रपात परेको छ । कार्यालयले निजी डेरी उद्योग स्थापनाका लागि सहयोग गरेको थियो । सहयोग बन्द भयो, डेरीपनि बन्द भए । केन्द्र सरकारले जिल्लामा भएको पशु कार्यालय खारेज गरेपछि सदरमुकाम आएर पनि डाक्टरको सल्लाह लिन समेत नपाउने अवस्था छ ।
गुम्देलमा चौरीको दूध बिक्रीमै समस्या छ । नजिकै डेरी छैनन्, गुम्देलबाट बाम्तीको थोदुङ्गसम्म दूध लैजान आधा दिननै हिडेर जानुपर्छ । सरकारी डेरीले बर्षायाममा दूध सङ्कलन केन्द्र केही पर गाउँसम्म लैजान्छ । हिउँदमा उक्त सुविधा छैन । डेरीमा दूध लैजान नसक्ने किसानले गोठमै छुप्रि बनाएर थुपारेका छन । थुप्रिको बजारभाउ चिज जतिको छैन । चिज बनाउदा राम्रै पैसा आउने चौरी किसानहरुको भनाइ छ ।
गुम्देलमा २० वटा चौरी गोठ छन । चिसोले ओरालिएका चौरी गुम्देल गाउँ नजिकै आइपुगेका छन । बर्षामा भालेपोखरी लेकसम्म पुग्छन । यो सिजनमा धेरैजसो चौरी व्याउने छन् । स्थानीय गोरु लागेका । याकलाई स्थानीय जातको गाइमा लगाएर जन्माएका उरङ्ग जातका चौरी धरै छन् । उरङ्गले त्यति धेरै दूध दिदैन । झण्डै ५५ हजार जति पर्ने उक्त चौरी किन्न पनि सोलुमै पुग्नुपर्छ । रामेछापमा याक छैन । गोरु खोजेको बेला याक भएको स्थान सोलुसम्म गाई लैजान सकिदैन । त्यसैले रामेछापका चौरीपालक जहिल्यै धेरै मोलमा उरङ्ग किनेर ल्याउन बाध्य छन । उरङ्गलाई स्थानीय गोरु लगाइन्छ । त्यसबाट जन्मेको बाच्छाबाच्छि बाच्दैनन् । केही केही बाँचेपछि घाँस खादै माथिल्लो लेक लादा छेरेरै मर्छन ।
चौरी गोठमा डिम्जो जातको चौरी बिरलै छन । डिम्जो अलि धेरै दुध दिनेमा गनिन्छ र धेरैबेत पनि व्याउछ । उरङ्ग १० बेत व्यायो भने डिम्जो १८ बेतसम्म व्याउछ । उरङ्गले दिनमा साढे दुई लिटर जति मात्र दूध दिन्छ । ‘सानो गाई अनि सानै दूध’ को उपमा उरङ्ले पाएको छ । डिम्जोको ४ लिटर जति हुन्छ । गाई पनि केही ठुलो अनि महङ्गो पनि । डिम्जोको ७० हजार जति मोल पर्छ ।
फुरिन्जीको गोठमा अहिले १९ वटा उरङ्ग चौरी छन् । ति मध्ये १५ वटा व्याउने । गोठमा चौरीको स्याहार सुसार र व्याउने चौरीको निगरानीमा धेरै समय जान्छ । ‘भिरतिर गएर लड्ला अनि जङ्गली जनावारको आक्रमणमा पर्ला भन्ने पिरलो छ’ एकैछिन घर पुग्दा पनि शेर्पा गोठतिरै जान हतारिन्छन । ‘मेरो सम्पत्ति भनेकै त्यही चौरी हुन’ ७ जना परिवारका मुली ४० वर्षीया शेर्पा भन्छन – त्यसलैले बर्षको १÷२ लाख कमाइ हुन्छ । नुन तेल खाने मेलो त्यही हो ।
गुम्देलमा पहिलेजस्तो चौरी गोठ छैनन् । पहिलेको झै दुःख गर्ने किसानहरु पनि छैनन । कोही विदेशतिर जान्छन । हरेक बर्ष चौरी गोठ घटिरहेको छ । पहिले गुम्देलको क्यामा, तेछिम्, ल्हाछेवर, चरीपत्करी जस्ता स्थानमा झण्डै ५० को हाराहारीमा गोठ थिए । अहिले घट्दै छन ।