Logo

जुनार खेती: जनशक्ति र सिँचाइको अभाव झेल्दै किसान



टीकाप्रसाद भट्ट


रामेछाप- रामेछाप जिल्लाको दक्षिणी क्षेत्रका पाखाहरु यतिबेला जुनारले पहेलपुर छन् । जुनारले बजार र भाउ दुबै पाएका बेला किसानलाई भने जुनार खेतीका लागि जनशक्तिको अभाव खड्किएको छ । भएका बगैँचामा गोडमेल, काँटछाँट र अन्य स्याहार पु¥याउन किसानले सकेका छैनन् । जनशक्तिकै अभावका कारण जुनार खेती विस्तार गर्ने काम पनि चुनौतिपूर्ण बन्न थालेको छ ।

‘जुनार छन् तानी तिनको उचित स्याहार गर्न अब हम्मे भैसक्यो’ रामेछाप नगरपालिका–६ ओख्रेनीका किसान तिर्थबहादुर घिसिङले भने – बुढाबुढीले कतिन्जेलसम्म वगैँचाको हेरचाह गर्न सक्लान र ? । अन्य क्षेत्रझै ओख्रेनीबाट पनि विदेशीने युवा धेरै छन् । गाउँमा एकाध घरमा केही उमेर भएका किसानले बगैँचा गोडमेल र सिँचाइको पबन्ध गरेपनि अरु बगैँचामा स्याहार पुगेको छैन् । झारपातका बिच पुराना रुख र साना दाना जुनारले बगैँचानै बिगारेका छन् ।

जनशक्तिकै अभावमा बोटमा भएका जुनार टिपेर बजार लैजान किसानहरुले आफूले सक्दैनन् । एक बोरा जुनार झण्डै १२ किलोमिटर टाढाको मन्थली बजारसम्म लैजान बलेरोले २ सय रुपैयाँ भाडा लिन्छ । बोकेर बजार लाने जनशक्ति छैन, गाडीबाट पठाउँदा किसानले पाउने पैसा गाडीले लैजान्छ । बगैँचामा प्रतिकेजी ६० देखि ७० रुपैयाँसम्म लिने किसानले बजारमा पुर्याउँदा पनि त्योभन्दा बढी भाउ नपाउने गरेको गुनासो तिर्थबहादुर घिसिङले गरे । बजारसम्म लैजाने जनशक्ति पनि नभएको तिर्थबहादुर गुनासो गर्छन् ।

‘हामीलाई सिँचाइको पनि धेरै अभाव भएको छ’ गाईटारकै किसान धनबहादुर घिसिङ भन्छन् – यो बर्ष हिउँदमा पानी परेको छैन् । असोजको दोस्रो सातादेखि पानी नपरेकाले धेरै जुनार बगैँचा खडेरीको चपेटामा छन् । खडेरीले गर्दा बगैँचाको गोडमेल गर्न गाह्रो भएको उनले बताए ।

बगैँचामा पहेलपुर देखिएका जुनार मध्ये केही व्यवसायीले जुनार पाक्नु अगाबै फल किनिसकेका बगैँचा पनि छन् । राम्रो स्याहार पुगेको बगैँचामा बाहिरी जिल्लाबाट आएका व्यवसायीहरुले जुनारको मोलतोल गरिसकेका छन् । स्याहार नपुगेको बगैँचा र साना दाना जुनारमा व्यवसायिको ऑखा लागेको छैन । ‘भाउ आएमा जुनार निकाल्ने बेला यही हो’ धनबहादुर भन्छन् – माघको पहिलो सातादेखि पालुवा पलाउन थाल्छ, त्यस अगावै काँटछाँट र गोडमेल सक्नु पर्छ । तर अहिले त्यसका लागि धेरै बगैँचा तयार छैनन् । अधिकांशको बगैँचामा जुनार रुखमानै छन् । पुस मसान्तसम्म जुनार टिपीसक्नु पर्छ ।

कृषिमा काम गर्ने जनशक्ति घटिरहेको बेला जुनार किसानलाई यान्त्रिकरणले केही सहज भएको छ । पुरै बगैँचा मिनीटिलरको सहयोगले खनजोत गर्न एक्लै किसानले भ्याएका छन् । रोगकिराको पहिचान, प्रविधि हस्तान्तरण, औजार र उपकरण, सिँचाइ, कुलबुट निर्माण, हाइटेक नर्सरी व्यवस्थापन र बजारीकरणमा केही बर्ष अघिदेखि जुनार जोन घोषणा गरी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले किसानलाई सघाउँदै आएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकी परियोजना रामेछापका प्रमुख थिरलाल गैह्रेकाअनुसार रामेछाप र मन्थली नगरपालिकालाई समेटेर जुनार जोन कार्यक्रम सञ्चालन गरिएको छ । जोन क्षेत्रमा पर्ने बगैँचामा किसानहरुलाई परियोजनाले अनुदान दिने व्यवस्था गरेको छ । अमिलो जातमा देखा परेका औँसा किराको प्रकोप नियन्त्रणका लागि स्थानीय सरकारको समन्वयमा परियोजनाले विषाधी छिट्ने कार्यलाई प्रभावकारी बनाएका कारण अधिकांश बगैँचामा गत बर्षदेखिनै रोगकिराको प्रकोप देखिएको छैन् ।

रोगकिराको नियन्त्रणसँगै व्यवसायिक जुनार उत्पादन गर्ने किसानले मनग्यै आम्दानी गर्न थालेका छन् । ओख्रेनीका किसान हिमाल तामाङका अनुसार गत बर्ष उनले ३ लाख ५० हजारको जुनार बिक्री गरेका छन् । बगैँचमानै प्रतिकेजी ७० रुपैयाँसम्म लिएर जुनार दिएका उनले यो बर्ष पनि जुनारबाट त्यतिनै कमाउने लक्ष्य लिएका छन् । तामाङले १५ रोपनीमा जुनार लगाएका छन् । ‘थप खेती विस्तारको लागि व्यवस्था गर्दैछु’ उनले भने ।

ओख्रेनीको पुरानागाउँका अगुवा किसान शेरबहादुर तामाङले आफ्नो बगैँचाको जुनार र सुन्तला एकमुष्ट बिक्री गरिसकेका छन् ।

गैरेकाअनुसार जुनार जोन कार्यक्रम सञ्चालन भएका रामेछाप र मन्थली नगरपालिकामा करिब ५ सय २० हेक्टरमा जुनार खेती गरिएको छ । उक्त क्षेत्रमा करिब ४ हजार ५ सय टन जुनार उत्पादन हुने तथ्याङ्क छ । जुनार बिक्रीबाट किसानले २० देखि २२ करोड आम्दानी गर्ने अनुमान रहेको उनले बताए । केही जुनारले उत्पादन दिने बेला नभैसकेकाले आगामी बर्षहरुमा अझ उत्पादनमा थप वृद्धि हुने अपेक्षा उनले गरेका छन् ।

जुनार किसानलाई आफ्नो उत्पादनबाट बढीभन्दा बढी फाइदा दिलाउनका लागि परियोजनाले ओख्रेनीमा २ वटा कुलबुट (चिस्यान केन्द्र) निर्माणमा सघाएको छ । यो बेला जुनार टिपेर चिस्यान केन्द्रमा राख्दा फागुन चैतमा दोब्बर भाउ लिन सक्ने भएकाले किसानलाई चिस्यान केन्द्र निर्माणमा उत्प्रेरणा जगाउन उक्त कार्यक्रम राखिएको हो । गाईटारका किसान धनबहादुर घिसिङले दुई बर्षदेखि सरदर १ सय ४० क्रेट जुनार आफ्नो निजी चिस्यान केन्द्रमा राखेको र त्यसबाट चैतमा जुनार बजारमा पुर्याउँदा प्रतिकेजी १ सय २५ रुपैयाँसम्म भाउ पाएको बताए ।

जिल्लामा उत्पादन भएको जुनारको बजार आधाभन्दा बढी बाहिरी जिल्लामा छ । रामेछापमा उत्पादित जुनारको ६० प्रतिशत जुनार बाहिरी जिल्लामा जान्छ । त्यसमध्ये पनि सिन्धुली जिल्लामा धेरै जुनार जाने गरेको छ । सिन्धुलीका व्यवसायीले रामेछापबाट हरेक बर्ष जुनार लाने र त्यसलाई सिन्धुलीकै जुनार भनेर बिक्री गर्ने गरेका छन् । ‘हाम्रो चिजलाई हामीले ब्राण्डिङ् गर्न सक्नुपर्छ’ जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का कार्की भन्छिन् – त्यसका लागि स्थानीय सरकारले कार्यक्रम ल्याउनु पर्नेमा उनले जोड दिइन । परियोजनाले गत बर्ष ब्राण्डिङ् र प्याकेजिङमा सीमित कार्यक्रम ल्याएको बताउने गैरे रामेछापको जुनारलाई अझ प्रचारप्रसार गरेर बजार विस्तारमा लाग्नुपर्नेमा जोड दिन्छन् ।

प्रतिक्रिया दिनुहोस्