Logo

तीन दिने लेखा व्यवस्थापन तालिम सम्पन्न



रामेछाप- रामेछापको मन्थली नगरपालिका वडा नम्बर १ को आर्थिक सहयोग तथा रामेछाप उद्योग वाणिज्य सङ्घको आयोजनामा सञ्चालन गरिएको तीन दिने लेखा व्यवस्थापन तालिम सम्पन्न भएको छ । साना करदाताहरु आफैले लेखा व्यवस्थापन गर्न सकुन् भन्ने उद्देश्यले गत बुधवारबाट सञ्चालन गरिएको लेखा व्यवस्थापन सम्बन्धी तालिम शुक्रवार समापन गरिएको हो ।

तालिम समापन कार्यक्रमका प्रमुख अतिथि तथा मन्थली नगरपालिका वडा नम्बर १ का अध्यक्ष होमप्रसाद पौडेलले तीन दिनसम्म सिकेको सिपलाई व्यवहारमा लागू गर्न तालिमका सहभागीहरुलाई आग्रह गरे ।
‘लेखा व्यवस्थापन व्यापारी व्यवसायीहरुलाई नभइनहुँने भएकाले साना करदाताहरुलाई लेखा व्यवस्थापनमा सहयोग पुगोस् भन्ने उद्देश्यले लेखा व्यवस्थापन तालिम आयोजना गरिएको उनको भनाइ छ । ‘लेखा तथा कर सम्बन्धी जानकारी नहुँदा गत वर्ष भैसेश्वरका टिका श्रेष्ठले ४० हजार रुपैयाँ तिरेर प्यान बन्द गर्नुभयो, त्यो कुराले मलाई च्वास्स छोरो र धेरै व्यापारीहरुमा यस्तो समस्या रहेको थापा पाएपछि मैले लेखा व्यवस्थापन सम्बन्धी तालिमलाई प्राथमिकतामा राखेर बजेट व्यवस्था गरेको हुँ’ वडाध्यक्ष पौडेलले भने ।

‘स्यानिटरी प्याड बनाउने तालिमको लागि पनि उद्योग वाणिज्य सङ्घले नगरपालिकामा प्रस्ताव पेश गरेको बताउँदै त्यसको विषयमा पनि छलफल भइरहेको वडाध्यक्ष पौडेलले जानकारी दिए। मन्थली नगरपालिका उद्योग वाणिज्य सङ्घसँग सहकार्य गर्न तयार रहेको भन्दै स्यानीटरी प्याड र टेलर व्यवसायीहरुको लागि बुटिक तालिमका लागि पनि छलफल भइरहेको बताए । वडाध्यक्ष पौडेलका अनुसार उद्योग वाणिज्य सङ्घसँगको समन्वयम ती दुई वटा तालिमहरु यसै वर्ष सञ्चालन हुने छन् । त्यस्तै पञ्चेबजा समूहलाई पञ्चेबाजा वितरण गर्ने लगायतका कार्यक्रमहरु पनि रहेको वडाध्यक्ष पौडेलले बताए । तालिम समापन कार्यक्रमका अध्यक्ष तथा रामेछाप उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवीन कुमार थापा मगरले तालिमका सहभागीहरुलाई आफूले सिकेको सिपलाई व्यवहारमा लागू गर्न आग्रह गरे । लेखालाई व्यवस्थित गर्ने मानिसहरु सम्पन्नतातिर जाने भन्दै सिकेको सिपलाई व्यवहारमा कार्यान्वयन गरेर तालिमबाट पाएको प्रमाणपत्रलाई सदुपयोग गर्न पनि उनले तालिमका सहभागिहरुलाई आग्रह गरे ।

जानेको कुरा अरुलाई सिकाउँदा आफूलाई पनि अभ्यास हुँने भन्दै तालिममा सिकेको कुरालाई आफूमा मात्रै सीमित नगरी छरछीमेकीलाई पनि सिकाउन अध्यक्ष थापा मगरले अनुरोध गरे ।
उक्त तालिममा ५५ जना साना करदाताहरुको सहभागिता रहेको रामेछाप उद्योग वाणिज्य सङ्घका कार्यकारी अधिकृत नवीन घिमिरेले जानकारी दिए । तालिमका सहभागीहरुलाई कार्यक्रमका प्रमुख अतिथिबाट प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्