Logo

जिल्ला प्रशासन कार्यालयले फिर्ता गराइदियो ठगिएको रकम



रामेछाप– रामेछाप नगरपालिका–७ का सविन माक्तान वैदेशिक रोजगारीको आशामा आफ्नै छिमेकीबाट ठगिन पुगे । छिमेकीले सविनलाई न्युजिल्याण्ड पठाइदिने झुटो आश्वासन दिएर रकम मागेका थिए । न्युजिल्याण्ड पठाइदिन्छु भनेपछि सविनले पनि छिमेकीको विश्वासमा पैसा दिए । पैसा मागेअनुसार नै उनले १५ लाख ५० हजार रुपैयाँ एजेन्ट (छिमेकी) लाई बुझाए । पैसा लिइसकेपछि विदेश पठाउनुको साटो एजेन्ट सम्पर्कविहिन भएपछि सविनले आफू ठगिएको थाहा पाए ।

रकम लिएर विदेश नपठाएको र एजेन्ट सम्पर्कविहिन भएपछि मोक्तानको आशा निराशामा बदलिएको थियो । एजेन्टले रकम फिर्ता नगर्ने र विदेश पनि नपठाउने देखिएपछि अन्ततः सविनले सुरक्षित आप्रवासन कार्यक्रम अन्तर्गत सञ्चालित आप्रवासी स्रोत केन्द्रको सहारा लिए ।

उनी सो केन्द्रमा पुगेपछि केन्द्रले प्रारम्भिक जानकारी लिइ, सम्पूर्ण कागजातहरू सङ्कलन गरी पीडितको तर्फबाट औपचारिक उजुरी तयार पार्दै जिल्ला प्रशासन कार्यालय रामेछापमा निवेदन दर्ता गरियो । उजुरीको गम्भीरतालाई मध्यनजर गर्दै प्रशासन कार्यालयले तत्कालै जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरी अनुसन्धान प्रक्रिया अगाडि बढायो ।

जिल्ला प्रहरी कार्यालय रामेछापको सक्रिय पहलमा सम्बन्धित ठगी गर्ने एजेन्टलाई बोलाइयो । एजेन्ट प्रहरीको सम्पर्कमा आएपछि दुवै पक्षलाई झिकाए छलफल गरी रकम फिर्ता गराउनु साथै मेलमिलापसमेत गराइयो । जिल्ला प्रशासन कार्यालयको समन्वयमा ठगिएको रकम फिर्ता भएपछि यस कार्यमा आप्रवासी स्रोत केन्द्रको भूमिकालाई अत्यन्तै महìवपूर्ण मानिएको छ । पीडित मोक्तानले न्याय पाएपछि केन्द्रप्रति आभार व्यक्त गरे ।

यो घटनाले वैदेशिक रोजगारको नाममा भइरहेको ठगीप्रति सचेत रहनुपर्ने र यस्ता घटनामा परिएमा कानुनी प्रक्रिया तथा सम्बन्धित संस्थाको सहयोग लिएमा न्याय पाइन्छ भन्ने सन्देश दिएको छ । साथै सरकारी निकाय र सहयोगी संस्थाहरूको समन्वयमा पीडितले न्याय पाउने गरी वैदेशिक रोजगार मेलमिलप कार्यविधि २०८० बनेको र उक्त कार्यविधिको अधिनमा रही मेलमिलाप गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ । साथै वैदेशिक रोजगारमा ईजाजत नलिई कसैले वैदिशिक रोजगारमा पठाउन नपाउने र उक्त कार्य गरे वा वैदेशिक रोजगारमा पठाउने नाममा ठगी गरे कानुनले कसैलाई नछाड्ने पनि जिल्ला प्रशासन कार्यालयको भनाइ छ ।

आप्रवासी स्रोत केन्द्र तथा प्रशासन र प्रहरीको तदारुकताले वैदेशिक रोजगार ठगीविरुद्धको अभियानमा एउटा सकारात्मक उदाहरण प्रस्तुत गरेको छ । यसले अन्य पीडितहरूलाई पनि उजुरी दिन र न्याय खोज्न प्रेरणा दिने विश्वास गरिएको आप्रवासी स्रोत केन्द्रका परामर्शकर्ता जितबहादुर तामाङले बताए ।

प्रतिक्रिया दिनुहोस्