टीकाप्रसाद भट्ट
रामेछाप- बागमती प्रदेशकी उद्योग बाणिज्य तथा प्रशासन मन्त्री सुकमाया तामाङले रामेछाप जिल्लाका व्यवसायी तथा नागरिकले नापतौल सम्बन्धी भोग्दै आएको समस्या तत्काल समाधान गर्ने बताएकी छिन् ।
रामेछाप उद्योग वाणिज्य सङ्घले उनको सम्मानमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री तामाङले रामेछाप जिल्लामा रहेका व्यवसायीले आफ्ना नापतौलका सामानहरुको मापदण्डका लागि सास्ती खेप्नु परेको कुरामा दुख्ख लागेको भन्दै तत्काल उक्त समस्या समाधानको लागि प्रदेश सरकारले कदम चाल्ने बताइन । हाल रामेछाप जिल्लालाई मधेश प्रदेश अन्तर्गत जनकपुरमा रहेको कार्यालयले हेर्ने गरेको छ ।
रामेछापलाई हेर्ने कार्यालय टाढा र अपायक भएकोले रामेछापका व्यवसायीलाई ढक तराजु र तौल सम्बन्धी प्रयोगमा रहेका डिजिटल सामग्रीहरुको जाँच गर्न झन्झट वेहोर्नु परेको छ । तौलका सामग्रीहरुको जाँच तथा परीक्षण नगर्दा व्यवसायी कारबाहीमा पर्ने र नागरिकले ठगिनु पर्ने अवस्थाको अन्त्य हुनुपर्ने भन्दै रामेछाप उद्योग वाणिज्य सङ्घले उक्त समस्या समाधानका लागि मन्त्री तामाङ समक्ष आग्रह गरेको थियो ।
कार्यक्रममा मन्त्री तामाङले ५ लाखभन्दा तलका उद्योग व्यवसाय दर्तामा भोग्दै आएको दोहोरोपनको झन्झटलाई पनि तत्काल समाधान गरिने बताएकी छिन् । उनीले पर्यटन र उद्योग व्यवसायको क्षेत्रमा भोग्नु परेका समस्याको समाधान गरी उद्योग प्रवर्धनका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् । उनले रामेछाप जिल्लामा पशु तथा कृषि विज्ञको अभाव रहेको भन्दै त्यसको लागि समेत प्रदेश सरकारमा कुरा राख्ने बताइन ।
रामेछाप उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवीनकुमार थापामगरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बागमती प्रदेशसभाको उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठले प्रदेशमा विद्यमान कानुनहरु परिमार्जन गर्ने र नयाँ निर्माण गर्ने चरणमा रहेकाले त्यसका लागि प्रदेशले प्रयाप्त छलफल र अन्तरक्रिया गर्ने बताए । ‘पहिले कानुनहरु सिधै बन्थे र कार्यान्वयनका लागि आउथे ’ श्रेष्ठले भने – अब तल्लो निकाय र सरोकारवालासँग प्रयाप्त छलफल गरेपछि मात्र कानुनको तर्जुमा गरी संसदले पारित गर्नेछ ।
रामेछाप बाणिज्य सङ्घका बरिष्ट उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठले रामेछाप जिल्लामा ढुवानीको समस्याका कारण ठुला उद्योगको स्थापनामा समस्या भएको बताए । उनले साना उद्योगहरुलाई प्रबर्धन गर्ने खालका कार्यक्रम ल्याउनका लागि प्रदेश मन्त्री समक्ष माग राखे । कार्यक्रममा रामेछाप उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवीनकुमार थापामगरले मन्त्री तामाङलाई सम्मान गरेका थिए ।
यसैबिच मन्त्री तामाङले आइतवार मन्थलीमा आयोजित उद्योग तथा बाणिज्य कार्यालयको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुको साथै मालपोत र नापी कार्यालयका कार्यक्रमका बारेमा जानकारी लिएकी थिइन्।