३१ वैशाख, काठमाडौं– राष्ट्रियसभाका सांसदले नेपाल–भारतसीमा क्षेत्रमा काँडेतार लगाउनुपर्ने माग गरेका छन् । सीमा क्षेत्रमा रहेका नागरिकलाई भारतीय गतिविधिले आक्रान्त बनाएको उल्लेख गर्दै बुधबार बसेको राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्ने सांसदले काँडेतार वा पर्खाल लगाउन माग गरेका हुन् ।
राष्ट्रिय सभा सदस्य इन्दु कडरियाले सीमा क्षेत्रमा सरकारले काँडेतार लगाउन तयार भए एक वर्षको सेवा सुविधा दिन तयार रहेको बताइन । अहिले लिपुलेक क्षेत्रमा भारतले सडक निर्माण गरेको विषयले तराईका सीमाक्षेत्रमा बस्ने बासिन्दालाई आक्रान्त बनाएको उनले बताइन ।
सांसद अनिता देवकोटाले भारतले नेपाली भूमिमा सडक निर्माण गरेको विषयमा सरकारको स्पष्ट धारणा सदनमा जानकारी गराउन माग गरिन । सांसद उदया शर्माले सीमा क्षेत्रमा काँडेतार लगाउन यही आर्थिक वर्षबाट बजेटको व्यवस्था गर्न आग्रह गर्दै भारत सरकारसँग बार्ताका लागि उचित पहल गर्न सरकारसँग माग गरे । त्यस्तै सांसद कोमल ओलीले कोरोना संक्रमणको दर बढिरहेकाले सीमा क्षेत्रमा रहेका नागरिकको व्यवस्थापनमा ध्यान दिन आग्रह गरिन ।
लुकिछिपी नेपाल आउनेको संख्या बढेसँगै संक्रमितको दर पनि बढेको उल्लेख गर्दै उनले सरकारले उचित प्रबन्ध मिलाएर सीमा क्षेत्रमा रहेका नागरिकलाई स्वदेश ल्याउनुपर्ने बताइन । सांसद तारादेवी भट्टले बिनासूचना दशगजा क्षेत्रमा नेपाल नागरिक अलपत्र रहेकोतर्फ सरकारको ध्यानाकर्षण गराउदै खाडीमा रहेका नेपालीको उद्दार गरी स्वदेश फर्काउन पनि उनले आग्रह गरिन ।