रामेछाप- नेपाल विद्यार्थी सङ्घ र तरुणदलका नेताहरुले मन्थली नगरपालिकाका ४ वटा विद्यालयका विद्यार्थीहरुलाई कपी र कलम वितरण गरेका छन् । नेविसङ्घ नेता मनिष चुहान, तरुण दल नेता सन्तोष भट्टराई नेविसङ्घका नेता रवि चुहान, रमेश चुहान, जडिबुटी तरुण नेता सशांक योगी र तेन्जिन लामाले “शिक्षा सबैका निम्ती’ अभियान अन्तर्गत ४ वटा विद्यालयका विद्यार्थीहरुलाई पर विद्यार्थी ५ वटा कलम र ५ वटा कपी पुग्ने गरी ७ सय थान कपी र ७ सय थान कलम वितरण गरिएको नेपाल विद्यार्थी सङ्घ रामेछापका सहसचिव मनिष चुहानले जानकारी दिए ।
विद्यार्थी नेता चुहानकाअनुसार श्री कालिका आधारभूत विद्यालय, श्री महादेव आधारभूत विद्यालय, श्री गुणजेश्वरी आधारभूत विद्यालय र श्री आधारभूत विद्यालय अर्चलेका विद्यार्थीहरुलाई उक्त शैक्षिक सामग्री प्रदान गरिएको हो । विद्यार्थीहरुलाई पठानपाठनमा थोरै भएपनि सहयोग पुर्याउने उद्देश्यले कपीकलम वितरण गरिएको विद्यार्थी नेता चुहानको भनाइ छ ।
एक वर्षअघि पनि नेपाल विद्यार्थी सङ्घ रामेछापका सहसचिव मनिष चुहानले १ हजार वटा बोटबिरुवा जिल्लामा हस्तान्तरण गरेका थिए । “शिक्षा सबैको निम्ती” अभियान अन्तर्गत यसअघि पनि काठमाडौँका निजी शैक्षिक संस्थाबाट पुस्तकहरु सङ्कलन गरी रामेछाप नेपाली काङ्ग्रेस पार्टी कार्यालयमा पुस्तकालय स्थापना गरी बालबालिकाहरुको लागि अध्ययन गर्ने व्यवस्था गरिएको पनि नेविसङ्घ सहसचिव चुहानले जानकारी दिए ।