Logo

पर्यटन प्रवर्धन गर्न बुलेट बाइक र्याली



रामेछाप- मन्थली नगरपालिकाको चिसापानीमा पर्यटन प्रबर्धन गर्नका लागि सोमवार बुलेट बाइक र्याली गरिएको छ । मन्थलीबाट सुरु भएको उक्त र्याली चिसापानीमा पुगेर टुङ्गिएको थियो ।

मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले मन्थलीबाट चिसापानीसम्म हुने बुलेट र्यालीमा सहभागि हुने चालक र यात्रुहरुलाई खादा लगाएर विदाइ गरेका थिए । उक्त ¥याली चिसापानी पुगेपछि वडा अध्यक्ष गोपाल श्रेष्ठले स्वागत गरेका थिए ।

र्यालीपछि आयोजित कार्यक्रममा मन्थली नगरपालिका ८ को चिसापानीमा पर्यटन प्रबर्धनका लागि गरिका प्रयासहरुका बारेमा चर्चा गरिएको थियो ।

चिसापानी रामेछाप जिल्लाकै ऐतिहासिक भिमेश्वर मन्दिर रहेको स्थान हो । सदियौँ बर्षदेखि नेवारी भाषा संस्कृति र रीतिरिवाजका लागि चिसापानीले जिल्लामा पहिचान बनाउँदै आएको छ । पृथ्विनारायण शाहको पालामा अङ्ग्रेजसँग युद्ध भएका बेला सिन्धुलीगढीको किल्ला कटेर अङ्ग्रेज आए भने छेक्ने गरी अरु गढी बनाइएका थिए । त्यस गढी मध्येको चिसापानी गढी पनि एक रहेको छ ।

भिमेश्वर मन्दिर, चिसापानी गढी र नेवारी भाषा, संस्कृति र सभ्यताका लागि पहिचान बनाएको चिसापानीमा पुग्नका लागि अहिले सडक कालोपत्रे गरिएको छ । गाइखुरादेखि चिसापानी भिमेश्वर मन्दिरसम्म सिँढी निर्माण गरी सहज बनाइएको छ । सडकवत्ती र होमस्टेले चिसापानीमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सहज हुने वडा अध्यक्ष गोपाल श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्