Logo

पौष १६ र १७ गते मन्थलीमा कृषि तथा लघु उद्यम प्रदर्शनी मेला



रामेछाप- रामेछाप जिल्लाको मन्थली नगरपालिकाले यही पौष १६ र १७ गते नगरस्तरीय कृषि तथा लघु उद्यम प्रदर्शनी मेलाको गर्ने भएको छ । आइतवार पत्रकार सम्मेलन गरी उक्त प्रदर्शनी मेलाको तयारी पूरा भएको मन्थली नगरपालिकाले जानकारी दिएको हो ।

मन्थली नगरपालिकाले पहिलो पटक “शिक्षित स्वस्थ, व्यवसायिक सहर, उत्थानशील र समृद्ध मन्थली नगर” भन्ने नाराकासाथ दुई दिने कृषि तथा लघु उद्यम प्रदर्शनी मेला आयोजना गरेको हो ।

प्रदर्शनी मेला जिल्ला समन्वय समिति रामेछापको परिसरमा हुने आइतवार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा मथली नगरपालिकाका आर्थिक विकास शाखा अधिकृत गोविन्द कट्टेलले नगरपालिकाभित्र उत्पादन तथा प्रशोधन भएका बाली वस्तुहरूको प्रदर्शनीका लागि आयोजना गरिएको कृषि तथा लघु उद्यम प्रदर्शनी मेलाको तयारी पुरा भएको बताए ।

पौष १६ र १७ गते हुने मेलाको तयारी लगभग सकिएको छ । मेलामा बालीतर्फ तरकारी, फलफूल, रैथाने बाली, दलहन, मौरीजन्य, चिया, कफी मसला बाली, नर्सरी फूल कन्दमूल लगायतका उपजहरू प्रदर्शनीमा राखिने छ कट्टेलले भने । त्यस्तै पशुपन्छीतर्फ खसी, बोका, अण्डा र दूधजन्य उत्पादनहरू प्रदर्शनीमा राखिने छ ।

लघु उद्यमतर्फ ढाका, साबुन, बाँसबाट बनाइएका सामग्रीहरू होजियारी, दुना टपरी जुस पनि प्रदर्शनीमा राखिने उनले बताए । प्रदर्शनी मेलाका लागि ५३ वटा स्टल तयार गरिएको र उक्त स्टल कृषक तथा उद्यमीहरूलाई निःशुल्क दिइने पनि कट्टेलले बताए । योसँगै स्टलमा आफ्नो उत्पादन राख्ने कृषक तथा उद्यमीहरूलाई प्रतिस्टल एक जनालाई दुई दिनसम्म बस्ने, खाने र यातायात खर्चको समेत व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।

कट्टेलकाअनुसार कृषि तथा उद्यमसँग सम्बन्धित परामर्श सेवा पनि प्रदान गरिने छ । दुई दिन सञ्चालन गरिने उक्त कृषि तथा लघु उद्यम प्रदर्शनी मेलामा १२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले जानकारी दिए ।

नगरपालिकाले पहिलो पटक कृषि तथा लघु उद्यम प्रदर्शनी मेला गर्न लागेको छ । यो वर्ष मेलामा बढीमा १२ लाख रुपैयाँ बजेट खर्च हुने अनुमान गरिएको छ । यसबाट हुने कमिकमजोरीलाई सच्याएर अर्को वर्ष थप व्यवस्थित बनाउँने छौँ नगरप्रमुख श्रेष्ठले भने । कृषि तथा लघु उद्यम प्रदर्शनी मेलामा नगरपालिका अन्तर्गतका १४ वटै वडाका कृषक तथा लघु उद्यमीहरूलाई सहभागी गराउने नगरपालिकाको तयारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्