Logo

प्याब्सन रामेछापको अध्यक्षमा पुनः तिमल्सिना



रामेछाप- निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) रामेछापको अध्यक्षमा पुनः केशव तिमल्सिना दोहोरिएका छन् । बुधवार सम्पन्न भएको प्याब्सन रामेछापको छैटौँ जिल्ला अधिवेशनले केब्स स्कुल मन्थलीका प्रिन्सिपल तिमल्सिनालाई पुनः अध्यक्षमा निर्वाचित गरेको छ ।

त्यसैगरी समितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष पार्वती पाठक (तामाकोसी अङ्ग्रेजी बोर्डिङ स्कुल,मन्थली), सचिव–रमेश फुयाँल (लिटलस्टार अङ्ग्रेजी बोर्डिङ स्कूल, मन्थली) र कोषाध्यक्षमा अनिता कार्की (जिएन अङ्ग्रेजी बोर्डिङ स्कुल माकादुम) निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यहरुमा रविन्द्र कुमार श्रेष्ठ (गङ्गालाल एकेडेमी, रामेछाप), खड्गबहादुर थापा (खिम्ती सनराइज पब्लिक स्कुल) र अनिल श्रेष्ठ (दीपज्योति अङ्ग्रेजी स्कूल सालु) रहेका छन् । अधिवेशनले महाधिवेशन प्रतिनिधिमा गङ्गालाल एकेडेमी, रामेछापका ढालबिक्रम कार्कीलाई चयन गरेको छ ।

सदरमुकाम मन्थलीस्थित तीनलाल पार्कमा आयोजना गरिएको छैटौँ जिल्ला अधिवेशनको उद्घाटन सङ्घीय सरकारका उर्जा, लजस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ कान्छारामले गरेका थिए ।

औपचारिक कार्यक्रम सुरु हुनुअघि वृहत्त ¥याली निकालिएको थियो । मन्थली बजारस्थित भदनआश्रित चोकबाट सुरु भएको ¥याली देवकोटाचोक, कटहरबोट, बसपार्क, ट्राफिकचोक हुँदै तीनलाल पार्कको सभा हलमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो । अधिवेशनमा जिल्लास्थित सम्पूर्ण निजी तथा आवासीय विद्यालयकोहरुको सहभागिता रहेको थियो ।

अधिवेशन उद्घाटन समारोहमा बागतमती प्रदेश सभा सदस्य आनन्दकुमार श्रेष्ठ, तारानारायण श्रेष्ठ, जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का, मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ, रामेछापका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेललगायतल अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्