रामेछाप– प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले बाख्रा जोन क्षेत्रका बाख्रा पालक कृषकहरुलाई साना कृषि यन्त्र उपकरणहरु वितरण गरेको छ । बाख्रा जोन क्षेत्रका कृषकलाई कृषि यान्त्रिकीकरण सहयोगका लागि कृषि यन्त्र वितरण गरिएको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई रामेछाप मार्फत बाख्रा पालक समूह तथा फार्मलाई च्याफ कटर, (डाले घाँसा टुक्राउने) डिस्कमिल (बाख्राको दाना पिस्ने मिल) डिजीटल तौल मेसिन र डिपिङ ट्यांक (बाख्रालाई नुहाउने) गरि चार थरिका कृषि यन्त्र उपकरण प्रदान गरिएको हो ।
बाख्रा पालक कृषक समूह तथा फार्मको मागको आधारमा डिस्कमिल २३ थान, डिपिङ ट्यांक तीन थान, च्याफ कटर २५ थान र डिजिटल तौल मेशिन १८ थान प्रदान गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन इकाई रामेछापका प्रमुख बरिष्ठ कृषि अधिकृत होमनाथ लम्सालले जानकारी दिए ।