३० भदौ, रामेछाप– यस वर्षको राष्ट्रिय बाल दिवस भर्चुअल बैठक, रेडियो मार्फत कविता बाचन र चित्रकला प्रतियोगिताको आयोजना गरि मनाइएको छ । कोभिड–१९ बाट सिर्जित विषम तथा असहज परिस्थितिको कारण विशेष सावधानी अपनाउदै भर्चुअल बैठक, रेडियो कविता वाचन र चित्रकला प्रतियोगिता गरी दिवस मनाइएको हो ।
विपद्मा बाल अधिकारको सुनिश्चितताः हामी सबैको साझा प्रतिवद्धता भन्ने मूल नाराका साथ कार्यक्रम आयोजना गरिएको थियो । राष्ट्रिय बाल दिवसको अवसरमा आयोजीत भर्चुअल बैठकमा बालबालिका को हुन् ? बाल क्लब तथा सञ्जालले समुदायमा खेल्नुपर्ने भूमिका, स्थानीय सरकारको बालबालिका लक्षित कार्यक्रम कस्तो हुनु पर्दछ भन्ने विषयमा गैह्रसरकारी संस्था महासंघका केन्द्रीय सदस्य तथा सामुदायिक विकास समाजका कार्यकारी निर्देशक मिलन कुमार घिसिङले चर्चा चर्चा गरेका थिए ।
त्यसैगरी सुनापति गाउँपालिकाकी उपाध्यक्ष गीता विष्ट र खाँडादेवी गाउँपालिकाकी उपाध्यक्ष मखमली श्रेष्ठले स्थानीय सरकारको बालबालिका लक्षित नीति, बजेट तथा कार्यक्रमका बारेमा छलफल गरेका थिए ।
सुनापति गाउँपालिकाका २ वटा र खाँडादेवी गाउँपालिकाका ३ वटा वडा स्तरीय बाल क्लब सञ्जालका प्रतिनिधिहरुको सहभागिता रहेको भर्चुअल बैठकमा राष्ट्रिय बाल दिवसको ऐतिहासिक पृष्ठभूमी र महत्वका बारेमा सामुदायिक विकास समाजका परियोजना संयोजक तिलक कार्कीले चर्चा गरेका थिए ।
सञ्जालका प्रतिनिधिहरुले बालबालिकाका सवाल, कोभिड–१९ (कोरोना भाइरस)ले पारेका शैक्षिक, मानसिक असर, दूव्र्यसन, आत्माहत्या, बालविवाह जस्ता सबाल उठाएका थिए । जिज्ञासा तथा प्रश्नहरुको माध्ययमबाट सञ्जालले सञ्चालन गरेका गतिविधिहरु पनि प्रस्तुत गरिएको थियो ।
बालबालिकाले उठाएका प्रश्न तथा जिज्ञासाहरुको एथोचित सम्वोधन गर्न कार्यक्रम तय गरी कार्यान्वयनमा जोड दिने गाउँपालिकाका उपाध्यक्ष द्वयको प्रतिवद्धता जनाएका छन् ।
त्यसैगरी रेडियो कविता वाचन कार्यक्रममा बाल क्लब तथा सञ्जालका कवि कवियत्रीहरुको सृजना वाचन गरिएको थियो । जसमा विपद् र बालअधिकार, विपद्मा बालवालिकाहरुको भूमिका, कोरोना संक्रमणबाट बचौं र बचाऔं, कोरोना र शिक्षा, कोरोना र बालवालिका जस्ता विषयमा सृजना गरिएका कविता वाचन भएको थियो । २१ जना सहभागिता रहेको रेडियो कविता वाचन कार्यक्रम रेडियो रामेछापको सहकार्यमा गरिएको हो ।
बालमैत्री विद्यालय, वृक्ष र जीवन चक्र, प्रकृति र बालवालिका, कोरोना र संक्रमणबाट बचौं र बचाऔं, बाल विवाहको असर जस्ता विषयहरुमा चित्रकला प्रतियोगिता गरिने परियोजनाका संस्थागत विकास सहजकर्ता मोहनकुमार सुनुवारले जानकारी दिए ।