रामेछाप- मन्थली नगरपालिकाको आयोजनामा मङ्गलवारबाट दुई दिने कृषि तथा लघुउद्यम प्रदर्शनी मेला सुरु भएको छ ।
मन्थली नगरपालिका भित्र उत्पादन तथा प्रशोधन भएका बाली तथा वस्तुहरू प्रदर्शनीको लागि मङ्गलवार र बुधवार दुई दिन नगरस्तरीय कृषि तथा लघुउद्यम प्रदर्शनी मेला आयोजना गरिएको हो ।
जिल्ला समन्वय समितिको परिसरमा आयोजना गरिएको मेलामा मन्थली नगरपालिकाका विभिन्न वडाबाट कृषकहरु आफूले उत्पादन गरेको वस्तुहरु प्रदर्शनीका लागि आएका छन् । ५३ वटा स्टलहरुमा कृषि तथा लघु उद्यमीहरुले निर्माण गरेका वस्तुहरु प्रदर्शनीमा राखिएको मन्थली नगरपालिकाका महाशाख प्रमुख सह–सचिव हेमन्त बुढाथोकीले जानकारी दिए ।
कृषि मेलामा स्थानीय उत्पादन तरकारीमा, बन्दा, काउली, विभिन्न जातका हरियो साग राखिएको छ । मूला, जुनार, कागती अदुवा गाँजर, तरुल लगायतका फलफूल तथा कन्दमुलहरु पनि प्रदर्शनीमा राखिएको छ ।
त्यसैगरी स्थनीय बाँसबाट बनाइएका ढालो, डोको, जस्ता वस्तुहरुको स्टल राखिएको छ । स्थानीय डेरीहरुद्धारा उत्पादन गरिएको दूधका विभिन्न परिकारहरु, स्थानीय उद्योगहरुद्धारा उत्पादित, कोदो, फापर, जौँ लगायतका बालीबाट बनाइएको विस्कुट, केकलगायत वस्तुहरु पनि प्रदर्शनी मेलामा राखिएको छ । स्थानीय व्यवसायीले उत्पादन गरेको अण्डा तथा स्थानीय खसी बोका समेत प्रदर्शनी मेलामा राखिएको छ ।
नगरपालिकाले प्रदर्शनीमा आएका कृषकहरूलाई खान र बस्नको व्यवस्था गरेको मन्थली नगरपालिकाले जनाएको छ । त्यसबाट कृषकहरू अझ उत्साहित भएका छन् । प्रदर्शनीमा मौरीजन्य चिया, कफी, मसला बाली, फुल, कन्दमुलहरू राखिएका छन् । लद्यु उद्यमतर्फ ढाका, साबुन, सरफ, बाँसका सामग्री, हतियार दुनाटपरी र जुसहरू राखिएको छ । कृषि तथा उद्यमसँग सम्बन्धित परामर्श सेवाको पनि सुविधा रहेको छ ।