रामेछाप- मन्थलीमा वितरण भएको खानेपानी धाराको मासिक शुल्क घट्ने भएको छ । बुधवार मन्थली खानेपानी उपभोक्ता तथा सरसफाई समितिको २२ औँ बार्षिक साधारण सभाले खानेपानीको मासिक न्यूनतम शुल्क घटाउने निर्णय गरेको हो ।
जिल्ला सदरमुकाम मन्थली बजार र आसपासका वस्तीका करिब १ हजार उपभोक्ताहरुलाई दैनिक खानेपानी आपूर्ति गर्दै आएको उक्त समितिले हाल प्रतिधाराको न्यूनतम मासिक ५ सय रुपैयाँ शुल्क लिदै आएको थियो । मासिक १५ हजार लिटर माथि थप शुल्क लाग्ने गरेको थियो ।
मन्थली खानेपानी उपभोक्ता तथा सरसफाई उपभोक्ता समितिका सचिव ढाकलबहादुर थापाका अनुसार बार्षिक साधारण सभाले आउदो बैशाख १ गतेदेखि लागू हुने गरी मासिक न्यूनतम शूल्कमा १ सय घटाएर ४ सय निर्धारण गरेको हो । यसबाट आम उपभोक्तालाई थप सुविधा उपलव्ध हुने थापाले बताए । वर्तमान समिति आउनु अघि मासिक न्यूनतम शुल्क ६ सय रहेको थियो । समितिले गत बर्ष १ सय रुपैयाँ महशुल घटाएको थियो ।
समितिका अध्यक्ष पूर्णवहादुर सुवेदीको अध्यक्षतामा भएको उक्त साधारण सभाको उद्घाटन गर्दै मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले आम उपभोक्तालाई सहज खानेपानी सुविधा दिर्घकालसम्म उपलव्ध गराउनका लागि थप व्यवस्थित गर्दै लैजानुपर्नेमा जोड दिएका थिए । उनले जिल्ला सदरमुकाममा आगलागि जस्ता प्रकोप आइपर्दा नियन्त्रणका लागि पानीको प्रयोग गर्न अलग्यै पाइप लाइनको व्यवस्थापन गर्न सुझाव दिए । स्थानीय सरकार स्वच्छ खानेपानीलाई नियमित र निरन्तर आपूर्तिका लागि परेको बेला आवश्यक सहयोग गर्न तयार रहेको पनि नगर प्रमुख श्रेष्ठले बताए ।
साधारण सभामा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष दिपक घिमिरेले खानेपानी वितरणसँगै स्वच्छतामा जोड दिनु पर्ने बताए । उनले मानव स्वास्थ्यमा दुषित खानेपानीको सेवनका कारण विभिन्न रोगको प्रकोप र महामारी आउने भएकाले सरसफाई र समय समयमा पानी परीक्षणमा ध्यान दिन आग्रह गरे ।
रामेछाप उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवीनकुमार थापामगरले मन्थली बजारमा रहेका खानेपानी वितरण लाइनको व्यवस्थापनको काममा अझै सुधारको खाँचो रहेको बताए । उनले साविककोभन्दा समितिले प्रभावकारी काम गरेकोमा उनले प्रशंसा समेत गरे । समितिले उपभोक्ताको हितका लागि साविकमा तोकिएको न्यूनतम मुल्य घटाएर उपभोक्तालाई राहत दिएको थापामगरले बताए ।
स्थानीय उभोक्ता जगन्नाथ दाहालले समितिले विगतकोभन्दा सुधारका कार्य गरेको प्रशंग उल्लेख गर्दै बजारमा रहेका जिआई पाईपहरुका कारण कुरुप र दुर्घटना हुने गरेकोले त्यसलाई सुधार गर्नु पर्ने कुरा औल्याए । त्यसैगरी अभियान्ता यमवहादुर थापाले समितिले हाल गर्दै आएको खर्च कटौती गर्नुपर्ने र उपभोक्तालाई शुल्क घटाउनु पर्ने औल्याएका थिए ।
बार्षिक साधारणसभामा अध्यक्ष पूर्णवहादुर सुवेदी, सचिव ढाकलबहादुर थापा र कोषाध्यक्ष कृष्णवहादुर वस्तेतले प्रश्तुत गरेका प्रतिवेदनहरु पारित गरिएको छ । बार्षिक साधारण सभामा समितिका उत्कृष्ट कार्य गर्ने कर्मचारी डुकबहादुर थापालाई नगद ५ हजारसहित सम्मान गरिएको छ ।
समितिले यस बर्ष प्रतिनिधिमुलक बार्षिक साधारण सभा गरेको हो । झण्डै १ हजार उपभोक्ता भएकाले समितिले आफ्ना ९ वटा क्षेत्रमा पुगेर बेग्लाबेग्लै साधारण सभा गरेको थियो । क्षेत्रगत साधारणसभाबाट आएका प्रतिनिधिहरु सहभागि गराएर बुधवार बार्षिक साधारणसभा गरेको बताइएको छ । साधारण सभाले विधान संशोधन र केहि कार्यविधि समेत पारित गरेको जनाएको छ ।