Logo

मेरो कामले विदेशमा श्रीमानलाई समेत हौसला मिलेको छ



 

भोजपुर– उमेरले भर्खर २८ बर्ष पुगेकी दुर्गा भोजपुर जिल्लाको भोजपुर नगरपालिका–५ बोखिममा बस्छिन् । उनका श्रीमान मलेसिया गएको २ बर्ष पुरा भयो । श्रीमान मलेसिया गएदेखि दुर्गाको दिनरात कटाउने साथी भनेकै ३ वर्षीया छोरा हुन् । बिदेश जानुअघि श्रीमान घरमा थिए तर पैसा थिएन । पैसा नभएपछि घर चलाउन दुर्गा दम्पतीलाई हम्मेहम्मे थियो । अहिले उनीसँग धेरथोर पैसा छ तर उनलाई माया गर्ने श्रीमान साथमा नहुँदा मन बेचैन छ, । दुर्गाको श्रीमानको काम र कमाई चित्त बुझ्दो छ । श्रीमानले मलेसियामा कमाउन थालेपछि के खाउँ ? के लाउँ ? भन्ने अवस्था नरहेको उनी बताउँछिन् । आज चलेकै छ भोली पनि जस्तो पर्छ त्यस्तै टर्छ भनेझैं लाग्थ्यो दुर्गालाई । त्यही सोचाइले आफूले पनि कमाउनु पर्छ भन्ने लागेन उनलाई
गरीबीसँग जुधेर अभावमा बाँच्न कसलाई रहर हुन्छ र ? अलिअलि पैसा साथमा भएका बेलामा पनि किन कञ्जुस्याँई गर्ने भन्ने लाग्यो दुर्गालाई । तर बिदेशबाट हात लागेका पैसाको जाने ठाउँ धेरै भए । श्रीमानले कमाएर पठाएको पैसा धेरै बचाउन सकिनन् उनले । “पहिले नहुँदा चिन्ता, अहिले पैसाको बचत नहुँदा चिन्ता” उनी भन्छिन् ।
दिन फेरिए, महिना बिते र सालपनि फेरियो । दिनहरु बित्दै जाँदा श्रीमान फर्कने दिन नजिकै आइसक्यो । तर दुर्गाको आर्थिक अवस्था उनले सोचेजति सुधार हुन सकेन । सुधार आउन नसक्नुको पनि कारण आफै रहेछु भन्ने उनलाई त्यतीबेला लाग्यो, जतिबेला उनी भोजपुर नगरपालिकाले गाउँमा चलाएको वित्तीय साक्षरता कक्षामा बस्न थालिन् ।
उनी भोजपुर नगरपालिकाले डिप्रोक्स नेपालको प्राविधिक सहयोगमा चलाएको वित्तीय साक्षरता तथा मनोपरामर्श कक्षामा बसेर छलफल गरेको २०८० को कार्तिकमा १ बर्ष पूरा हुन्छ । २१ हप्ता नियमित कक्षामा बसेर जानेको कुरा उनलाई जहिले पनि नयाँ लाग्छ । कक्षामा बसेर घाँटी हेरी हाड निल्नु भनेर पूर्खाले बनाएको उखान सहि लाग्न थालेको छ दुर्गालाई । किनकी मान्छे पैसा नभएर होइन, भएको पैसालाई जतन गर्न नसकेर गरिब भएका रहेछन् भन्ने महसुस गरेकी छन् उनले ।
दुर्गाले कक्षामा बसेर आम्दानी र खर्चको लेखाजोखा गर्न जानेकी छन् । आउने महिना घरमा कति खर्च हुन्छ भन्ने कुराको जानकारी अघिल्लो महिना नै थाहा पाउने जुक्ति जानेकी छन् । उनलाई आजभोली बचत बढाउन आम्दानीको बाटो पहिल्याउनु पर्छ भन्ने लाग्छ । खर्च गर्नुअघि के मा कति खर्च गर्ने भन्ने कुराको योजना बनाउनु पर्ने रहेछ भन्ने थाहा पाएकी छन् दुर्गाले । त्यस्तै खर्च भएको कुराको दैनिक हिसाव टिपेर राख्न सके अनावश्यक रुपमा हुने खर्च नियन्त्रण गर्न समेत सजिलो हुने कुरा जानेकी छन् । उनले कक्षामा बसेपछि आफूले जानेको कुरा पहिल्यै थाहा पाएको भए अहिले आफूसँग मनग्य पैसा हुने रहेछ भन्ने कुराले भतभती पोल्न थालेको बताउँछिन् ।
कक्षामा जान थालेपछि भविष्य सोचेर दुर्गा फेरिएकी छन् । आफूले गरेको खर्च अहिलेको लागि ठिकै भएपनि भविष्यको लागि जमाउनु पर्ने रहेछ भन्ने लाग्छ दुर्गालाई आजकल । कमाउनका लागि हजार बाटो रहेको कुरा उनले कक्षामा छलफल गरेपछि थाहा समेत पाइन् । कक्षामा गरेको छलफल जस्तै दुर्गाले पनि आम्दानीको लागि केहि न केहि गर्ने अठोट समेत गरिन् । दुर्गाले आफूले कक्षामा जानेको कुरा श्रीमानलाई सुनाइन् । श्रीमानमा पनि खुसीको सिमा रहेन । किनकी उनले श्रीमानलाई भैंसी पालेर दुध बेच्ने कुरा सुनाएकी थिइन् । दुध बेच्न उनलाई भोजपुरको सदरमुकामको बजार पर्याप्त थियो । घर नजिकै सदरमुकाम भएकोले श्रीमान पनि उनको जुक्ति देखेर दङ्ग परे ।
दुर्गाले २ वटा माउ भैंसी २ लाख लगानी गरेर किनिन् । उनले श्रीमानलाई सुनाएजस्तै दैनिक दुध बिक्री गर्न थालिन् । तर दुध बिक्रीबाट हुने कमाई उनले सोचेभन्दा बढि हुन थाल्यो । अहिले उनी महिनामा ३२ हजार सम्मको दुध बिक्री गर्छिन् । यसरी उनले भैंसीका लागि हुने दैनिक खर्च कटाएर १५ हजार नाफा कमाउन कमाउदै आएकी छन् । आफूले भैसीको दुध बेचेर पैसा कमाउन थालेपछि श्रीमानले कमाएको सबै पैसा बचत हुन थालेको बताछिन् दुर्गा । पौरख गरे आफैंले मनग्य कमाउन सकिने रहेछ भन्ने लाग्छ उनलाई । भैंसी नपाल्दा दिनभरी घरमा बस्ने दुर्गालाई आजभोली एकैछिन पनि फुर्सद छैन । घरका मान्छेलाई कति समय बिदेश बस्न लगाउनी ? भन्ने कुरा घरमा बस्नेको हातमा हुने रहेछ भन्छिन् दुर्गा ।
पैसाले पैसा नै कमाउछ भने झैँ दुर्गाले बजारमा अकबरे खुर्सानीको माग राम्रो भएको थाहा पाइन् । भैसी पालेर भकारोमा थुप्रिएको मलबाट लटरम्मै अकबरे खुर्सानी फलेको कल्पना गर्न थालिन उनले । ‘भगवानले तँ आँट म पुर्याउँछु भन्छन् रे भने झैँ’ उनले देखेकी सपना पुरा भयो । बारीमा लगाएको अकबरे खुर्सानी बेचेर अहिले ३० हजार आम्दानी लिइसकेकी छन् । यसरी भैसीको दूःध र खुर्सानीको बिक्रीबाट भएको कमाई मध्यबाट सहकारी संस्थामा महिनामा ९५० रुपैयाँ जम्मा गर्छिन् दुर्गा ।
आजभोली दुर्गालाई श्रीमान बिदेशबाट फर्किदिए हुन्थ्यो भन्ने लाग्छ । आफू एक्लैले नभ्याएको काममा श्रीमानको साथ चाहिएको छ, उनलाई । अर्काको देशबाट ढिलाचाँडो फर्कनु नै पर्छ । सँधै बिदेश बसेर पनि हुँदैन । अव त मलाई पनि चिन्ता छैन । श्रीमान फर्कनु भए घर कसरी चल्ला भन्ने चिन्ता नभएपछि मन हलुका हुनेरहेछ भन्छिन् दुर्गा । उनलाई श्रीमान मलेसियाबाट फर्किएदेखि आफ्नै घरगाउँमा बसेर आफूले गरिरहेको व्यावसायलाई बढाउने सोच बनाएकी छन् । मेरो कामले श्रीमानलाई समेत हौसला मिलेको छ भन्दै मुस्कुराइन् दुर्गा ।

भेजपुर जिल्लाको भेजपुर नगरपालिका वित्तीय साक्षरता सहजकर्ताको सहयोगमा सागर विक्रम बस्नेत

प्रतिक्रिया दिनुहोस्