माधवप्रसाद उपाध्यया
१ कार्तिक, रामेछाप– जिल्लाको दोरम्बामा म्याराथुन दौड प्रतियोगिता सम्पन्न भएको छ । विजया दशमीको अवसरमा सैलुङ्ग केलकुद विकास समिति दोरम्बाले दोरम्बा–अग्लेश्वरी खुल्ला म्याराथुन प्रतियोगिताको आयोजना गरेको हो ।
म्याराथुन प्रतियोगिता दोरम्बा बजारबाट सुरु भएर पुनः दोरम्बा बजारमै आएर टुङ्गिएको थियो । म्याराथुन अन्तर्गत ६ किलोमिटरको दौड राखिएको सैलुङ्ग केलकुद विकास समिति दोरम्बाका महासचिव रञ्जीत मोक्तानले जानकारी दिए ।
७३ जनाले सहभागिता जनाएको दोरम्बा–अग्लेश्वरी खुल्ला म्याराथुन प्रतियोगितामा राम रानामगर प्रथम भएका छन् । त्यसैगरी निर्मल थापामगर द्धितीय र संगीत योञ्जन तृतीय भएका छन् भने भुपेन्द्र थापामगरले सान्तोना पुरस्कार पाएका छन् ।
विजयी प्रतियोगिहरुलाई पुरस्कार समेत प्रदान गरिएको छ । प्रतियोगिताको प्रथम पुरस्कार ५ हजार रुपैयाँ नगद शिल्ड मेडल र प्रमाण–पत्र रहेको थियो । त्यसैगरी द्धितीय पुरस्कारमा ३ हजार रुपैयाँ नगद सहित शिल्ड मेडल र प्रमाण–पत्र थियो भने तृतीय पुरस्कारमा २ हजार रुपैयाँ नगद सहित मेडल र प्रमाण–पत्र रहेको थियो ।
त्यसैगरी सान्तोना पुरस्कार एक हजार रुपैयाँ नगद र प्रमाण–पत्र रहेको थियो । विजयी प्रतियोगिलाई कार्यक्रमका प्रमुख अतिथि दोरम्बा गाउँपालिकाकी उपाध्यक्ष कृशला घिसिङद्धारा पुरस्कार प्रदान गरिएको थियो ।
रामेछापको दोरम्बा गाउँपालिका–२ दोरम्बालाई सरकारले ‘दोरम्बा पर्यटन गन्तव्य गाउँ’ घोषणा गरेपछि स्थानीयबासी प्रचार प्रसारमा जुटेका छन् । दोरम्बाको प्रचार प्रसार गर्ने उद्देश्यले दोरम्बा–अग्लेश्वरी खुल्ला म्याराथुन प्रतियोगीता आयोजना गरिएको सैलुङ्ग केलकुद विकास समिति दोरम्बाले जनाएको छ ।