Logo

रामेछाप नगरपालिका–५ जातीय छुवाछुत मुक्त वडा घोषणा, प्रतिवद्धता सहित



२५ असार, रामेछाप– रामेछाप नगरपालिका–५ रामपुरले घोषणा पत्र जारी गर्दै वडालाई जातिय छुवाछुत अन्त्य भएको घोषणा गरेको छ । नेपालको संविधान २०७२ ले जाति छुवाछुतलाई जघन्य अपराधको रुपमा परिभाषीत गरि छातीय छुवाछुत गरेमा सजाय हुने समेत ब्यवस्था गरेको छ ।
संविधानले जातीय छुवाछुत मुक्त नेपालको कल्पना गरेपनि अधिकांस समुदाय वा समाजमा जात, जातिको नाममा विभेद कामय रहेको अवस्थामा रामेछाप नगरपालिका–५ रामपुरले घोषणा पत्र सहित वडालाई छुवाछुत मुक्त घोषणा गरेको हो ।
बुधवार एक समारोहकाबीच घोषणा पत्र जारी गर्दै सोहि वडाका वडा अध्यक्ष भिमबहादुर तामाङद्धारा जातीय छुवाछुत तथा विभेदमुक्त वडा घोषणा गरिएको हो । घोषणा पत्रमा वडाले निर्धारण गरेको ८ सूचकहरु पूरा भएको र ८ बुँदे प्रतिवद्धता समेत गरिएको छ ।


सूचकहरुमा वडा भित्र रहेका सार्वजनिक धारा, कुवा, देवालय जस्ता भौतिक संरचना प्रयोग र प्रवेशमा दलितहरुमाथि विभेद नरहेको, विवाह, पास्नी, भोजभतेरजस्ता सामाजिक सस्कारगत कार्यदेखि विकासका गतिविधिमा समेत सब जातजातीको समान सहभागिता रहेको वडा अध्यक्ष भिमबहादुर तामाङले बताए ।
यसैगरी दलित समुदायले गर्दै आएको परम्परागत पेशा आधुनिकिकरण हुँदै आएको, जातिगत उचनिच भावना झल्किने भाषा, शब्द तथा उखान टुक्काहरु प्रयोगमा आउन छोडेको, शैक्षिक संस्थाहरुमा जातको आधारमा विद्यार्थी तथा शिक्षकहरुबीच जातीय विभेद नरहेको पनि अध्यक्ष तामाङले बताए ।
समुदायमा हुने जातीय छुवाछुत, लैंङ्गिक हिंसा, बालश्रमजस्ता सामाजिक कुरिती कुसंस्कारको अन्त्य गर्नु वडाको काम कर्तव्य भित्रपर्ने भएकाले वडाभित्र कतै छुवाछुतको घटना घटेमा वडा कार्यालय आफैले कानुनी दायरामा ल्याउने प्रतिवद्धता व्यक्त ब्यक्त गरे ।
कार्यक्रमका प्रमुख अतिथि मन्थली नगर कार्यपालिकाका सदस्य तथा दलित अधिकारकर्मी उद्धव रम्तेलले जिल्लाका ६४ वडा मध्ये रामेछाप नगरपालिकाको वडा नं. ५ छुवाछुत मुक्त पहिलो वडा भएकोमा वडा अध्यक्षलाई बधाई दिँदै आगमी दिनमा पनि यस्तै नमूना काम गर्न आग्रह गरे । यसअघि पनि ५ नं. वडा साविक रामपुर गाविस हुँदा जिल्लाका ५५ गाविस मध्ये नमूना गाविस घोषित भएको थियो । घोषणा सभामा बोल्दै ६ नंं. वडाका वडा अध्यक्ष धनबहादुुर खड्काले एक मानव र अर्को मानवबीच छुवाछुतको व्यवहार गर्नु मानव जातिकै कलंग भएकाले यसको अन्त्य गर्नुपर्नेमा जोड दिए । छुवाछुत मुक्त वडा घोषणासँगै अन्तरजातीय विवाह गर्ने ४ जोडी र १० जना दलित ज्येष्ठ नागरिकलाई वडाले सम्मान समेत गरेको छ ।

रामेछाप नगरपालिका वडा नंं ५ को
जातीय छुवाछुत तथा विभेद मुक्त वडा घोषणा कार्यक्रमको
घोषणा पत्र २०७७
भूमिका

समयको दौडानसँगै विश्व विज्ञान र प्रविधिको युगमा आइसकेको छ । प्रविधिको विकासले विश्व नै एक परिवारजस्तै भइसकेको छ । सामाजिक कुरिती, कुसंस्कार, कुप्रथाको कारण २१ औं शताब्दीमा आइसक्दा पनि नेपाली समाजमा एक मानव र अर्को मानवबीच विभेद हुनु लज्जापद विषय हो ।

राज्य संरचना हेर्दा राणा शासन, पञ्चायती व्यवस्था, राजतन्त्रको अन्त्य भई नेपालको संविधान २०७२ जारी पश्चात देश संघीय संरचनाको अभ्यासमा छ । स्थानीय तहको निर्वाचन पश्चात वडा तहदेखि नै निर्वाचित जनप्रतिनिधिहरुको वडा समिति रहेको छ । जातीय छुवाछुत, लैंङ्गिक हिंसा, बालश्रम अन्त्य लगायतका सामाजिक विभेद अन्त्य गर्दै वडाको चौतर्फी विकास गर्नु वडा समितिको काम कर्तव्यभित्र पर्दछ । जारी नेपालको संविधान २०७२, जातीय छुवाछुत तथा कसुर र सजाय ऐन २०६८, स्थानीय सरकार सञ्चालन ऐन २०७४ का साथै संघ, प्रदेश र रामेछाप नगरपालिकाले जारी गरेको विभिन्न ऐन, कानून, नीति तथा कार्यक्रमको अधिनमा रही वडाले तय गरेका निम्नानुसार सूचक पूरा भइसकेकाले मानव जातीको कलंक र कानुनी दृष्टिले जघन्य अपराधको रुपमा रहेको जातीय छुवाछुतलाई अन्त्य गर्न जातीय छुवाछुतमुक्त वडा घोषणा गर्न यो घोषणा पत्र जारी गरिएको छ ।

जातीय छुवाछुत तथा भेदभाव मुक्तका सूचकहरु

१. वडा भित्र रहेका सार्वजनिक धारा, कुवा तथा भौतिक संरचना प्रयोग र प्रवेशमा एक जात र अर्को जात बीच विभेद नरहेको ।
२. मठ मन्दिर, गुम्बा, चर्च लगायतका देवालायहरुमा सबै जातजातीहरुको साझा पहुँच रहेको र देवालय प्रवेशमा कुनै विभेद नरहेको
३. जातीय छुवाछुत तथा भेदभाव मानव विकासको कलंक र कानुनी रुपमा जघन्य अपराधको रुपमा वडाबासीले स्वीकार गरेको
४. जातीय छुवाछुत तथा भेदभाव झल्काउने भाषा, शब्द, उखानटुक्का प्रयोग नभएको
५. सामाजिक संस्कारगत विवाह, पूजाआजा, ब्रतबन्ध, पास्नी, श्राद्ध, भोजभतेर जस्ता कार्यमा सबै जातको सम्मानजनक सहभागिता रहेको
६. शैक्षिक संस्थाहरुमा जातको आधारमा विद्यार्थी तथा शिक्षकहरुबीच जातको आधारमा कुनै पनि विभेद नभएको
७. परम्परागत जातीय सीपमा आधारित कामहरुमा सम्मानजनक व्यवहर र आधुनिकिकरण हुँदै गएको
८. सामाजिक, सांस्कृतिक तथा राजनैतिक क्षेत्रमा जातजातीहरुको सम्मान सहभागिता रहेको

प्रवद्धता

जातीय छुवाछुत जस्तो जघन्य अपराधलाई पूर्णरुपमा अन्त्य गर्न निम्न कार्यक्रमहरु निरन्त्र गर्ने घोषणा गर्दछु ।

१. अझैं झिनो अवस्थामा रहेका सामाजिक कुरिती, कुसंस्कार पूर्णरुपले अन्त्यको लागि सचेतनामूलक कार्यक्रमहरु निरन्तर गरिनेछ ।
२. नगर दलित सशक्तिकरण ऐन ल्याउन रामेछाप नगरकार्यपालिकामा पहल गरिनेछ ।
३. दलित लक्षित कार्यक्रम सञ्चालन गर्न वार्षिक रुपमा बजेट बिनियोजन गरिनेछ ।
४. अन्तरजातीय विवाहलाई प्रोत्साहन दिइनेछ ।
५. दलित समुदायको सर्वाङ्गिण विकास, जीवनस्तर सुधार, खाद्य अधिकार, आर्थिक, सामाजिक, शैक्षिक रुपान्तरण लगायत गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारीका लागि विशेष पहल गरिनेछ ।
६. जातीय छुवाछुत तथा विभेदजन्य कार्यलाई निरुत्साहित गर्न सामाजिक न्यायको सिद्धान्त लागू गरी सुरक्षाको प्रत्यक्ष अनुभूति गराउन विशेष पहल गरिनेछ ।
७. सभ्य र समतामुलक समाज निर्माण गर्न सामाजिक जीवनका हरेक निकायमा दलित समुदायको समावेशी सिद्धान्तको आधारमा प्रतिनिधित्व गराई दलित समुदायको नेतृत्व विकासमा विशेष जोड दिइनेछ ।
८. संविधान, ऐन, कानुनले व्यवस्था गरेका दलित समुदायको हक अधिकार लागू गर्न र उपलब्ध गराउनुपर्ने सेवा सुविधा प्रदान गर्न ५ नं. वडा समिति प्रतिवद्ध छ ।

………………………..
भिमबहादुर तामाङ
वडा अध्यक्ष
५ नंं वडा कार्यालय, रामेछाप नगरपालिका, रामेछाप

प्रतिक्रिया दिनुहोस्