Logo

रामेछाप जिल्लाको कृषि तथ्याङ्क हचुवाको भरमा



रामेछाप- रामेछाप जिल्लामा कृषि तथ्याङ्क अहिलेसम्म अनुमानकै भरमा सार्वजनिक गर्ने गरिएको पाइएको छ । कृषि विकास कार्यालय रामेछापसँग अहिलेसम्म कुनै बाली तथा कृषिसम्बन्धी एकिन तथ्याङ्कन नभएको कृषि विकास कार्यालय रामेछापका कार्यालय प्रमुख मिनबहादुर पुनले बताए ।

कार्यालय प्रमुख पुनले भने– “देशमा नयाँ संरचना लागू हुनु अघि जिल्ला कृषि विकास कार्यालयमा जेजति तथ्याङ्क थियो, त्यसैलाई समान्य परिमार्ज गरिएको छ, तर ओभरल जिल्लाको तथ्यपरक कृषि तथ्याङ्क छैन ।” राज्यको नयाँ संरचनासँगै कृषिको तथ्याङ्कन पनि स्थानीय सरकारले राख्नु पर्ने भएकाले स्थानीय सरकारले तथ्यपरक रुपमा कृषि तथ्याङ्क व्यवस्थापन नगर्दा जिल्लाभरीको तथ्याङ्क पनि तथ्यपरक नभएको कार्यालय प्रमुख पुनको भनाइ छ । यही पौष १९ गते जिल्ला प्रशासन कार्यालय रामेछापले आयोजना गरेको सरकारी कार्यालयको सार्वजकि सुनुवाइ कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

अहिलेसम्म कृषि तथ्याङ्क हचुवाकै भरमा चलेको छ त ? भन्ने पत्रकारहरुको जिज्ञासामा कार्यालय प्रमुख पुनले भने ‘यो यथार्थ हो । अहिलेसम्म कृषिको एकिन तथ्याङ्क छैन, तथ्याङ्क राख्नको लागि हामीलाई आधार प्रमाण चाहिँन्छ, हाम्रो लागि आधिकारिक प्रमाण भनेको स्थानीय सरकार हो, स्थानीयले सरकारले नै तथ्यपरक रुपमा तथ्याङ्क सङ्कलन नगर्दा कृषिको एकिन तथ्याङ्क आउन नसकेको हो’ पुनले भने ।

त्यस्तै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वय इकाइ रामेछापले भनि अनुमानकै भरमा कृषि तथ्याङ्क सार्वजनिक गर्दै आएको पाइएको छ । परियोजनाले रामेछाप जिल्लामा वार्षिक २० करोडको जुनार बिक्री गर्ने गरेको तथ्याङ्क सार्वजनिक गर्दै आएको भएपनि त्यो तथ्याङ्क समेत एकिन नभएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ रामेछापका प्रमुख थिरलाल गैरेले स्वीकार गरेका छन् ।

रामेछापमा २० करोडको जुनार उत्पादन भयो भन्ने आधार के हो भन्ने पत्रकारहरुको प्रश्नमा कार्यालय प्रमुख गैरेले भने– ‘हामीले मूल्यको अधारमा हिसाव गर्दा २० करोड भनेका हौँ । रामेछाप जिल्लाको मन्थली नगरपालिका र रामेछाप नगरपालिकाका गरी १३ वटा वडामा जुनार लगायतका अमिलो जातका सम्पूर्ण फलफूल हुन्छ ।’ गैरेले भने– “जुनारको मूल्य प्रतिकेजी ५० रुपैयाँ राख्नुभयो भने १५ करोड हुन्छ, ६० रुपैयाँ राख्नुभयो भने २१ करोड भयो, १५० रुपैयाँ केजी राख्नु भयो भने ३० करोड हुन्छ ।” कार्यालय प्रमुख गैरेले सार्वजनिक सुनुवाइमा पनि हचुवाकै भरमा तथ्याङ्क सुनाए । रामेछाप जिल्लाका जुनारको तथ्याङ्क जेजस्तो सार्वजनिक भएपनि रामेछापबाट जुनार वार्षिक रुपमा ५ करोड जतिको बिक्री हुने अगुवा कृषिकहरुको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्