Logo

लिखु करिडोर सडक स्तरोन्नतिको काम विवादमा



नवराज विश्वकर्मा


रामेछाप– रामेछाप नगरपालिका–३ साँघुटारस्थित लिखु करिडोर सडक स्तरोन्नतिको काम विवादमा परेको छ । सडक स्तरोन्नतिका लागि प्रयोग गरिने स्काभेटरको मूल्यको विषयमा उपभोक्ता समिति र स्थानीय नागरिकबीच कुरा नमिल्दा सडक स्तरोन्नतिको काम विवादमा परेको हो ।
उपभोक्ता समितिले स्काभेटरको प्रतिघण्टा पाँच हजार रुपैयाँमा लगाउने निर्णय गरेको तर स्थानीय स्काभेटर सञ्चालकले प्रतिघण्टा ४ हजार ५ सय रुपैयाँ खन्ने काम गर्ने बताएपछि स्काभेटर सञ्चालन गर्ने विषयमा स्थानीय र सडक उपभोक्ता समितिबीच विवाद भएको हो । विवादको कारण काम नै सुरु हुन सकेको छैन ।
उपभोक्ता समितिले कमिसनको खेलमा महंगो शूल्कमा स्काभेटर सञ्चालन गर्न लागेको स्थानीयको आरोप छ । स्थानीय स्काभेटर सञ्चालक घनश्याम ढकालले आफूले प्रतिघण्टा ४ हजार ५ सय रुपैयाँमा काम गर्छु भन्दा पनि उपभोक्ता समितिले थाहै नदिई कमिसनको लोभमा अर्का स्काभेटर सञ्चालक सुवास थापासँग प्रतिघण्टा पाँच हजार रुपैयाँमा काम गर्ने गरि सम्झौता गरेको आरोप लगाए । उपभोक्ता समितिले प्रतिघण्टा पाँच सय रुपैयाँ कमिसन लिने योजना अनुसार अर्कै मेसिन सम्झौता गरेको ढकालको आरोप छ ।
उनले भने, ‘मेरो मेसिन २१० सीसीको हो, समितिले सम्झौता गरेको मेसिनले भन्दा छिटो र धेरै खन्न सक्छ ।’ मेसिन पावर हर्सको हिसाबले पनि समितिले सम्झौता गरेको मेसिन कम पावरको र पुरानो मेसिन भएकाले त्यसको कार्य क्षमता निकै कम हुने उनको दावी छ । समितिले सम्झौता गरेको मेसिन २०० सीसी र आफ्नो मेसिन २१० सीसीको भएकाले उपभोक्ता समितिले सम्झौता गरेको मेसिनको शूल्क निकै बढी भएको ढकालको तर्क छ ।


तर, लिखु करिडोर साँघुटार–सिरिसे सडक खण्ड स्तरोन्नति आयोजना उपभोक्ता समितिका सचिव पदमबहादुर प्रधानले भने समितिले सम्झौता गरेको मेशिन २२० सीसीको भएको दावी गरेका छन् । सडक स्तरोन्नतिको विषयमा विवाद गर्नुपर्ने कुनै पनि कारण छैन, सडक स्तरोन्नतिको काम हुन नदिनका लागि राजनीतिक पूर्वाग्रह राखेर निकालिएको बखेडा मात्र हो, उनले भने ।’ सचिव प्रधानले आफूहरुले सम्झौता गरेको मेसिन २२० सीसीको भएको बताए पनि सडक खन्नका लागि लगिएको मेसिन भने २०० सीसीको मात्रै छ ।


प्रतिघण्टा ४ हजा ५ सयमा काम गर्ने मेसिनलाई काम नदिएर उपभोक्ता समितिले प्रतिघण्टा पाँच हजारमा सम्झौता गरेपछि मेसिनको रेटको विषयमा छलफल गर्न वडा कार्यालयमा आफूले निवदेन दिएको तर, वडा कार्यालयले छलफल समेत गर्न नचाहेको नेपाल काँग्रेस रामेछाप नगरपालिका–३ साँघुटारका इकाई सभापति मनोज खड्काले बताए । उपभोक्ता समितिदेखि वडा अध्यक्षसम्म कमिसनको खेलमा लागेको उनको आरोप छ । हामीले थोरै पैसामा धेरै काम गर्न चाहेका हौँ, तर वडा कार्यालय र उपभोक्ता समितिले कामलाई भन्दा पनि आफूलाई आउने कमिसनमा ध्यान दिएको उनले आरोप लगाए ।
आफूले दिएको निवेदनमाथि छलफल गर्न माग गर्दा वडा अध्यक्ष भुपालराज श्रेष्ठले मेसिन सम्झौता भइसकेको भन्दै छलफल गर्न सकिने तर, अर्को मेसिन दुई हजारमा खन्ने गरी आए पनि काम लगाउन नसकिने बताएको, खड्काको भनाई छ ।
यस विषयमा वडा अध्यक्ष भुपालराज श्रेष्ठले भने यदि कुनै मेसिन सस्तो रेटमा काम गर्ने गरि आउँछ भने उसलाई काम दिन कुनै आपत्ति नरहेको बताए । उनले भने हामीलाई राम्रो काम चाहेको हो, यदि राम्रो काम गर्छ र सस्तो मूल्यमा काम हुन्छ भने कम मूल्यमै काम गर्ने मेसिनलाई काम दिन तयार छौँ । तर, सडकको कामका लागि आवश्यक पर्ने टिप्परसहितका औजार तथा उपकरणहरु स्वयं मेसिन सञ्चालकले व्यवस्था गर्नुपर्ने वडा अध्यक्ष श्रेष्ठको भनाई छ । स्थानीय स्काभेटर सञ्चालक ढकालले भने आवश्यक सबै औजार तथा उपकरण जुटाएर काम गर्न तयार रहेको बताएका छन् ।
यस विषयमा रामेछाप नगरपालिकाकी उपप्रमुख सिर्जना खड्काले आफूलाई कुनै पनि जानकारी नभएको भन्दै प्रतिक्रिया दिन अस्वीकार गरिन् । उनले भनिन्, मलाई जानकारी नै छैन, मैले कसरी बताउ भनि पत्रकारमाथि नै आक्रोश पोखिन् । यस विषयमा बुझ्न त सकिएला नि ? भन्ने जिज्ञासामा आफ्नो कुनै पनि प्रतिक्रिया नै नरहेको बताएकी थिइन् ।
उक्त सडक स्तरोन्नतिका लागि प्रदेश सांसद शान्तिप्रसाद पौडेलले संसद विकास कोषबाट २० लाख रुपैयाँ बजेट विनियोज गरिदिएका थिए । काम गर्ने समय एक महिना मात्र बाँकी छ तर काम भने अझै सुरु हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्