Logo

ल्हाछ्योरको विद्यालयमा दिवा आवासको व्यवस्था



रामेछाप- रामेछाप जिल्लाको दुर्गम गाउँ ल्हाछ्योरका विद्यार्थीका लागि विद्यालयमा दिवास वासको व्यवस्था गरिएको छ । जिल्लाको हिमाली क्षेत्रमा पर्ने उमाकुण्ड गाउँपालिकाको–१ ल्हाछ्योरको श्री हिमालय आधारभूत विद्यालयमा पढ्ने विद्यार्थीलाई विद्यालयमै दिवा आवासको व्यवस्था गरिएको हो ।

समुन्द्री सतहबाट २ हजार ७ सय ५० मिटरको उचाइमा रहेको ल्हाछ्योरको विद्यालयमा वडा कार्यालयको आर्थिक सहयोगमा विद्यार्थीलाई बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म दिवा आवास सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक पोटराज घिमिरेले जानकारी दिएका छन् ।

विद्यार्थीहरू नियमित विद्यालय नआउने, आएपनि समयमा विद्यालय नआउने, विद्यालय आउँदा पनि गृहकार्य नगरी आउनेजस्ता समस्या भएकाले उक्त कुरालाई ध्यानमा राखी विद्यालयमै बसेर पठनपाठन गर्ने व्यवस्था मिलाइएको प्रधानाध्यापक घिमिरेको भनाइ छ ।

बिहान ७ बजे विद्यालय आउने विद्यार्थीलाई बिहानको खाजा, खाना तथा दिउँसोको खाजाको समेत व्यवस्था विद्यालयमै गरिएको उनले बताए । स्थानीयका अनुसार विद्यालयमा विद्यार्थी थोरै भएपनि ल्हाछ्योरबाट अर्को विद्यालयसम्म पुग्न निक्कै टाढा भएकाले ल्हाछ्योरमा २०३७ सालदेखि विद्यालय स्थापना गरिएको थियो ।

विद्यार्थीको नियमित उपस्थिति र पठनपाठनलाई व्यवस्थित गराउन दिवा आवास सहितको कक्षा सञ्चालन गरिएको उमाकुण्ड गाउँपालिकाको शिक्षा शाखाका अधिकृत ङावा शेर्पाले बताए । विद्यार्थीहरू बिहान सबेरै विद्यालय आउँछन्। १० बजेसम्म पढ्छन् । १० बजे नियमित कक्षा सुरु हुन्छ । ४ बजेपछि पनि विद्यालयमा नै बसेर गृहकार्य गछन् । गृहकार्य सकेपछि साँझ ५ बजे पछिमात्र घर फर्कन्छन् शाखा अधिकृत शेर्पाले भने ।

विद्यालयमा कार्यरत शिक्षकहरूलाई विद्यालयमा नै आवास र निःशुल्क खानाको व्यवस्था मिलाइएको पनि उनले जानकारी दिए ।
उक्त विद्यालयमा इन्टरनेट र विद्युत् पनि जडान गरिएको छ । कम्प्युटर, प्रिन्टर र बालबालिकालाई चिसोबाट बचाउन हिटरको समेत व्यवस्था गरिएको उमाकुण्ड गाउँपालिका–१ गुम्देलका वडा अध्यक्ष ङावातिण्डु शेर्पाले बताए ।

शिक्षा क्षेत्रको विकासबिना अन्य क्षेत्रको विकास कठिन रहेकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको उमाकुण्ड उनले बताए । शिक्षा क्षेत्रको विकास विना अन्य क्षेत्रको विकास कठिन छ । त्यसकारण अन्य क्षेत्रलाई थाती राखेर भएपनि शिक्षाकै विकासमा लागेका छौँ । जग नै राम्रो भएन भने माथि राम्रो हुँदैन । आधारभूत विद्यालयलाई नै दिवा आवासीय बनाउन लागेका छौँ, उनले भने ।

प्रतिक्रिया दिनुहोस्