३० जेठ, रामेछाप– विपी कोइराला प्रतिष्ठान रामेछापले कृषकलाई कृषि औजार प्रदान गरेको छ । रोजगारीको सिलसिलामा शहरमा बसेका युवाहरु लकडाउनसँगै गाउँ फर्किएपछि उनीहरुलाई कृषि पेसाप्रति आकर्षित गर्ने उद्देश्यले कृषि औजार प्रदान गरिएको विपी कोइराला प्रतिष्ठान रामेछापका महासचिव रत्नहरी ढुङ्गेलले बताए ।
गाउँ फर्किएका युवाहरु रोजगारीको लागि फेरि शहर फर्किनु भन्दा पनि गाउँकै माटोमा आफ्ना पसिना भिजाएर युवाहरुले भविष्य खोज्नुपर्छ भन्ने हामी चाहन्छौं ढुङ्गेलले भने । कृषि पेसाबाट मुलुको अर्थतन्त्र पनि सुध्रिने, राष्ट्रिय उत्पादन पनि बढ्ने र मुलुकमा खाद्य संकट आउन सक्ने सम्भावना टार्न सकिन्छ भन्ने उद्देश्यले कृषकलाई कृषि औजार प्रदान गरिएको उनको भनाई छ ।
कृषि पेसाको लागि आवश्यक पर्ने आधारभूत औजारहरु कोदालो, हलो, कोदाली, हँसिया र पुशपालक किसानका लागि आवश्यक पर्ने ठेकी, मदानीलगायतका औजारहरु प्रदान गरिएको ढुङ्गेलले जानकारी दिए । खेतीको सिजन सुरु भएकाले कृषकलाई सहयोग र कृषिबाटै रोजगारीको सिर्जना गर्न कृषि औजार वितरण गरिएको प्रतिष्ठानको भनाई छ ।
प्रतिष्ठानले जिल्लाका ७० जना कृषकहरुलाई कृषि औजार प्रदान गरेको बताइएको छ । मन्थलीस्थित विपीचोकमा एक कार्यक्रमको आयोजना गरि नेपाली काँग्रेस रामेछापका सभापति लवश्री न्यौपानेद्धारा कृषहरुलाई कृषि सामग्री प्रदान गरिएको हो । त्यसैगरी प्रतिष्ठाले पत्रकार महासंघ जिल्ला शाखा रामेछापलाई एकसय थान मास्क पनि प्रदान गरेको छ ।