रामेछाप– रामेछापको मन्थली नगरपालिका–१३ फुलासीका फत्तबहादुर कार्की १५ वर्षसम्म स्थानीय शिक्षक छत्रबहादुर खड्काको घरमा हाली बसे । शिक्षक खड्काको गाउँमै किराना पसल छ । गाउँमा गाडी नचल्दासम्म पसलको समान बोक्ने भरिया बने, फत्तबहादुर । गाडी पुगेपछि शिक्षक खड्काले फत्तबहादुरलाई काम लगाउन छाडे । सन्तान नभएकाले दुबै आँखा नदेख्ने पूर्ण दृष्टिविहीन फत्तबहादुरकी ९४ वर्षीया श्रीमती खड्गीमाया कार्कीको हेरचाह गर्नुपर्ने भएपछि फत्तबहादुर काम गर्न घरबाट टाढा जान सकेनन् ।
फत्तबहादुरको दुःखान्त कथा यसरी सुरु हुन्छ, कृषि विकास बैङ्कबाट ५ हजार रुपियाँ ऋण लिएर तरकारी–फलफूल व्यवसाय सुरु गरे । श्रीमती र आफ्नो उपचार, घरव्यवहारको गर्जाे टार्न फत्तबहादुरले गाउँकै ललितबहादुर पौडेलसँग ३ हजार रुपियाँ सापटी लिए । ‘आम्दानी अठन्नी, खर्च रुपैयाँ’ उनले बैङ्क र गाउँले ऋण तिर्न सकेनन् । दृष्टिविहीन श्रीमतीलाई छोडेर मजदुरी गर्न घरबाट टाढा जाने अवस्था नभएकाले उनलाई हर्रेचिण्डे मावि फुलासीका शिक्षक छत्रबहादुर खड्काले घरमा हली र पसलमा भरियाको काम लगाए । भरिया मात्र हैन, शिक्षक खड्काले कार्कीको निर्धोपनको फाइदा उठाउँदै घरेलु कामदेखि खेतीपाती र भकारो सोर्नेसम्म सित्तैमा लगाए । पसलको सामान बोकेको प्रतिकेजी ५० पैसा दिन्थे । कार्की भन्छन्, १ केजी भारिको ५० पैसा ज्याला दिन्थे, १ सय २० केजीको भारी बोकेर ५ घण्टाको उकालो कटाएपछि ६० रुपियाँ पाउँथे । त्यो ज्यालाले नुन–भुटुन टरेकै थियो ।
तर भारी बोकेको कमाइले ऋण तिरुँ कि घर चलाउँ, केही उपाय लागेन । ऋण बढेर ३६ हजार पुग्यो । बैङ्क र साहुले ताकेता गर्न थाले । बैङ्क र साहुले च्यापिरहेका बेला फत्तबहादुरको तनाव र हैरानीमा शिक्षक खड्काले सुनौलो अवसर देखे । ‘ऋण तिर्ने पैसा म दिन्छु, तिम्रो १ कित्ता जग्गा मेरो नाममा पास गरिदेउ, मेरो सावाँब्याज तिर्यौ भने म जग्गा फिर्ता गर्छु’ शिक्षक खड्काले प्रस्ताव गरे । वर्षौदेखि भारी बोकाएको साहुँ र माष्टरसा’बले भनेको कुरालाई फत्तबहादुरले कुनै शङ्का गरेनन् । १ कित्ता जग्गा पास गरिदिन उनी राजी भए । १४ रोपनी १ आनाको एउटा पुर्ख्यौली कित्ता र दृष्टिबिहीन श्रीमतीको दाइजो पेवाबाट किनेको १० रोपनी १० आना गरी २ कित्ता जग्गा फत्तबहादुरकै नाउँमा थियो । त्यसमध्ये १० रोपनी १० आना जग्गा छत्रबहादुर खड्काको नाममा पास गरिदिएपछि फत्तबहादुरले ३६ हजार रुपियाँ लिएर बैँक र गाउँको ऋण व्यवहार मिलाए । निरक्षर फत्तबहादुरले १० रोपनीको कित्ता खड्कालाई पास गरिदिने सहमति अनुसार जहाँ–जहाँ भने त्यहीँ सहीछाप गरिदिए । यो २०६२ असारतिरको कुरा हो । जग्गा बेचेको कुरा फत्तबहादुरले आफ्नै श्रीमतीलाई पनि भनेनन् । उनको मनमा थियो, श्रीमतीले थाहै नपाई भारी बोकेर भएपनि यो जग्गा एकदिन फिर्ता गर्छु ।
त्यसयता दुःखजिलो जीवन चलिरहेकै थियो । तर हालसालै दृष्टिविहीन ९४ वर्षीया खड्गीमायाले घर बाहिर हल्लाखल्ला सुनिन् । बुझ्दै जाँदा जग्गा किन्ने ग्राहक आएका रहेछन् । खड्गीमायाको मनमा प्रश्न उठ्यो– कसको जग्गा किन्ने ग्राहक आए ? गाउँलेले भने– यही तपाइँको घर–मतान भएको जग्गा बेच्ने रे ! खड्गीमाया आफ्नै श्रीमानसँग आगो भइन् । बसिरहेको घरजग्गा बेचेर कहाँ बस्ने, गुफामा ?
तर कुरा अर्कै थियो । २०६२ सालमा १० रोपनीको एउटा कित्ता मात्र थिचेको भन्ठानेर सुकामोहोर जुटाउँदै जग्गा फिर्ता गर्ने धुनमा रहेका फत्तबहादुर कार्कीले शिक्षक खड्काको नाममा भएका दुबै कित्ता जग्गा थिचिदिएको १७ वर्षपछि थाहा पाए । कार्की मुर्च्छा परे । पीडित कार्कीले भने– ‘१० रोपनी १० आनाको कित्ता पास गर्ने भनेको थियो, म अक्षर नचिन्ने मान्छेलाई झुक्याएर माष्टरले सबै जग्गा आफ्नो नाममा गराएछन् । मेरी आँखा नदेख्ने जहानले जग्गा उम्केको थाहा पाइ भने त्यो बाँच्दिन ।’ ‘माष्टरसा’बसँग लिएको ३६ हजार अझै तिर्न सकेको छुइँन, घर–घुर्यान भएको १४ रोपनी जग्गा छँदैछ, १० रोपनी जग्गा पो कसरी निखन्ने भनेर घुँडा धसिरहेको थिएँ, पापीले मलाई गुफाको बास पो गराएछ’ कार्कीले दुःखेसो पोखे ।
कार्कीले भने– १४ रोपनी कित्तामा मेरो घर छ, आँखा नदेख्ने जहान बसिरहेकी छ, ७ दिनभित्र घर खाली गर् भन्दै माष्टरले श्रीमतीलाई पनि पो झम्टिए । आँखाभरि आँशु पार्दै कार्कीले भने– बेइमानी माष्टरले ममाथि बज्र हाने, विश्वासघात गरे । मलाई सुकुम्बासी बनाए । म न्याय खोज्न कहाँ जाउँ, सयवर्ष पुग्न लागेकी जहानलाई कहाँ लगेर राखूँ ।
यस विषयमा शिक्षक छत्रबहादुरसँग बुझ्न खोज्दा निज सम्पर्कमा आउन र कुराकानी गर्न चाहेनन् ।