Logo

साना करदातालाई लेखा व्यवस्थापन तालिम



रामेछाप– मन्थली नगरपालिका–१ को आर्थिक सहयोग तथा रामेछाप उद्योग वाणिज्य सङ्घको आयोजनामा बुधवारदेखि तीन दिने लेखा व्यवस्थापन सम्बन्धी तालिम सुरु भएको छ । साना करदाताहरु आफैले लेखा व्यवस्थापन गर्न सकुन भन्ने उद्देश्यले लेखा व्यवस्थापन सम्बन्धी तालिम आयोजना गरिएको रामेछाप उद्योग वाणिज्य सङ्घले जनाएको छ । उक्त तालिमको उद्घाटन बुधवार जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्काले गरेकी थिइन ।

तालिम उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति प्रमुख खड्काले व्यवसायमा मात्र नभर देशमा जतिपनि नराम्रो भएको छ, त्यो हिसाब किताब नमिलेरै भएको बताइन् । ‘समन्वय प्रमुख खड्काले भनिन् यसले राम्रो पनि गर्छ र नराम्रो पनि गर्छ ।’ ‘जुनसुकै कुरामा पनि पहिलो कुरा हिसाब किताब नै मिल्नुपर्ने रहेछ’ खड्काले भनिन् ।

तालिमका सहभागीहरुलाई अल्छि नगरिकन सिक्न आग्रह गर्दै तालिममा सिक्ने मात्र होइन, मैले बाहिर गएर अरुलाई पनि सिकाउनु पर्छ भन्ने सोच राखेर सिक्न अनुरोध गरिन् ।

‘आफूले जानेको कुरा लुकाउने हाम्रो चलन छ, आफूभित्र भएका सिपलाई बाहिर ल्याउनु पर्छ, आफू भित्रको सिपलाई बाहिर ल्यायौँ भने अरुले तारिफ गर्ने भइन्छ, समाजमा आफूलाई चिनाउन पनि सकिन्छ’ खड्काको भनाइ थियो ।
लेखा व्यवस्थापन तालिम जिल्लाका ८ वटै स्थानीय तहमा दिनु आवश्यक रहेको बताउँदै उनले भनिन् त्यसको लागि जिल्ला समन्वय समिति प्रमुखको हैसियतले म स्थानीय तहका प्रमुखहरुलाई अनुरोध गर्नेछु, मलाई विश्वास छ, उहाँहरुले यो कुरालाई स्वीकार गर्नुहुने छ ।

स्थानीय सरकारले लेखामा कार्यरत कर्मचारीलाई दबाबमा पारेर, नियम विपरीत बिल पास गर्न लगाउने र चेक काट्न लाउने गरेको भन्ने गुनासाहरु आइरहेका छन्, धम्की र दबाबमा परेर त्यस्तो काम नगर्न पनि म अनुरोध गर्न चाहन्छु खड्काले भनिन् । ‘कतिपयले जागिर जाने डरले नियम विपरीतका बिल पास गराएर चेक काट्ने गरेको कुरा आएको छ, त्यो कुरा क्षणिकको लागि मात्र हो, लेखाको काम गर्दा पछि आउने दिनलाई समेत सोचेर काम गर्न सबैलाई अनुरोध गर्न चाहन्छु’ खड्काले भनिन् ।


मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले हिजो मान्छे विश्वासमा अघि बढ्थ्यो तर अहिले बतासमा अघि बढ्ने चलन आएको बताए । वास्तविक कुरा नबुझी अरेको कुरामा पछि लाग्दा त्यसबाट सही नतिजा आउन नसकेको उनको भनाइ छ । समन्वय सहकार्य र सद्भावका साथ सकारात्मक सोचबाट अगाडी जान सकेमात्र मुलुक सही दिशातिर अघि जाने उनको भनाइ छ ।

कागले कान लग्यो भनेर पछिपछि दौडिनेभन्दा पनि कान कहाँ छ भनेर छाप्नेतर्फ लाग्नु पर्ने उनले बताए । लेखा व्यवस्थापन महत्वपूर्ण पक्ष भएकाले विधिपूर्व लागिदिन पनि उनले सबैलाई अनुरोध गरे ।

रामेछापका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले लेखा सम्बन्धी तोकिएका प्रावधान अनुसार आफ्नो कारोबारलाई चुस्त, दुरुस्त राख्न सकेमात्र आफ्नो व्यवसाय पारदर्शी बनाउन सकिने बताए । मेरो व्यवसाय विगतमा कस्तो थियो अहिले कस्तो छ र भविष्यमा कस्तो हुन्छ भनेर झल्काउने विषय लेखा भएकाले लेखालाई अत्यन्त व्यवस्थितका साथ राख्न जरुरी रहेको प्रजिअ पौडेलको भनाइ छ । ‘जुनसुकै बेला पनि यहाँहरुको कारोबार परीक्षण हुनसक्ने अवस्था छ । र्यान्डम्ली होस् वा उजुरीका आधारमा जुनसुकै बेलापनि व्यवसाय परीक्षण हुन सक्ने कानुनी प्रावधान छ, त्यसकारण पनि आफूले गरेको कारोबारलाई व्यवस्थित राख्नु अत्यन्त महत्वपूर्ण हुन्छ प्रजिअ पौडेलले भने ।

त्यस्तै रामेछाप उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष श्याम थापाले जुनसुकै पेशामा लागेको भएपनि लेखालाई मजबुद् ढङ्गले राख्न नसक्ने व्यक्तिको परिवारको अवस्था दयनीय बनेको बताए । लेखालाई व्यवस्थित रुपमा राख्ने व्यक्तिको परिवार नै धनी र सम्पन्न बन्ने उनको भनाइ छ ।


रामेछाप उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा तालिम उद्घाटन समारोहका अध्यक्ष नवीनकुमार थापा मगरले व्यवसायमा लेखालाई चुस्त र दुरुस्त पारेर काम गर्न नसकिरहेको बताए । पहिले र अहिलेको लेखा प्रणालीमा आकाश जमिनको फरक रहेको भन्दै लेखा प्रणालीलाई चुस्त र दुरुस्त राख्न सके व्यवसायलाई पारदर्शी बनाउन सकिने बताए । तालिममा सिकेको कुरा अरुलाई पनि सिकाउन सकियो भने आफूलाई पनि अभ्यास हुने भन्दै तालिममा सिकेको सिपलाई व्यवहारमा लागू गर्न पनि उनले प्रशिक्षार्थीलाई अनुरोध गरे ।

पौष १२ गतेसम्म सञ्चालन हुने तालिममा ५५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको रामेछाप उद्योग वाणिज्य सङ्घका कार्यकारी अधिकृत नवीन घिमिरेले जानकारी दिए ।
उक्त तालिमको प्रशिक्षकमा कोष तथा लेखा नियन्त्रण कार्यालय मन्थली रामेछापका कोष नियन्त्रक दिपक श्रेष्ठ, करदाता सेवा कार्यालय मन्थलीकी कर अधिकृत प्रतिमा घिमिरे, अडिटर शङ्कर ढुङ्गेल लगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्