रामेछाप- रामेछापको मन्थली नगरपालिका–१ सानीमदौमा निर्माणाधीने चिस्यान केन्द्र स्थानीले सरकार र प्रदेश सरकारको हानाथापका कारण निर्माण सम्पन्न भएर पनि अलपत्र अवस्था रहेको छ । बागमती प्रदेश सरकारको ७० प्रतिशत र मन्थली नगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा करिब सात करोड रुपैयाँ खर्चेर निर्माण गरिएको ५ सय मेट्रिकटन क्षमताको उक्त चिस्यान केन्द्र निर्माण सम्पन्न भएको दुई वर्ष वितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन ।
२०७८ को असार मसान्तभित्र निर्माण सक्ने गरी ठेक्का लिएको काठमाडौँस्थित इजिइन्फ्रा प्रालिले झन्डै दुई वर्ष ढिलो गरी २०८० साउनमा मात्र काम सम्पन्न गरेको थियो । परीक्षण सफल भइसकेपनि केन्द्र सञ्चालनमा आउन सकेको छैन ।
स्थानीयवासी पूर्ण सुवेदीका अनुसार निर्माणमा भएको ढिलाइपछि अहिले प्रदेश सरकार र नगरपालिकाबिचको समन्वय अभावका कारण केन्द्र सञ्चालनमा ढिलाइ भइरहेको हो । पहिला निर्माणमा ढिलाइ गरियो, अहिले सञ्चालनमै अन्योल देखिएको छ, सुवेदीले भने, “प्रदेश र नगरबिचको असमझदारीकै कारण यो अलपत्र परेको देखिन्छ ।”
नगरपालिकाका प्रवक्ता गोपाल श्रेष्ठकाअनुसार केन्द्रको मुख्य संरचना तयार भएपनि आवश्यक पूर्वाधार घेराबारा, कर्मचारी आवास र शौचालय—नबनेका कारण औपचारिक रूपमा केन्द्र हस्तान्तरण हुन सकेको छैन । उनकाअनुसार चालु आर्थिक वर्ष २०८२÷०८३ मा बाँकी संरचना निर्माणका लागि ५० लाख रुपैयाँ बजेट प्रदेश सरकारबाट विनियोजन गरिएको छ । “अबको योजना भनेको यही वर्षभित्र बाँकी काम सम्पन्न गरेर केन्द्र सञ्चालनमा ल्याउने हो,” प्रवक्ता श्रेष्ठले भने ।
बागमती प्रदेश सरकारको पाँच करोड र मन्थली नगरपालिकाको दुई करोड दश लाख रुपैयाँको साझेदारीमा चिस्यान केन्द्र निर्माण गरिएको हो । नगरपालिकाले आफ्ना ३० प्रतिशत हिस्सासहितको रकम प्रदेश सरकारलाई पहिल्यै बुझाइसकेको छ । साथै, केन्द्रसम्म विद्युत् लाइन विस्तार गरी टिओडी मिटर जडानसमेत नगरकै लगानीमा गरिएको हो । तर अझै पनि आवश्यक संरचना नबन्दा प्रयोगमा ल्याउन सकिएको छैन । स्थानीय किसानहरूका लागि आशाका रूपमा निर्माण गरिएको यो चिस्यान केन्द्र वर्षौँसम्म सञ्चालन हुन नसक्दा लगानीको उपयोगितामाथि प्रश्नमा उठेको छ । अब बाँकी काम छिटो टुङ्ग्याएर यसलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउनुपर्ने स्थानीयको माग छ ।
