Logo

आर्थिक समृद्धिका लागि सक्षम नेतृत्व आवश्यक : मन्त्री घिसिङ



रामेछाप- उज्यालो नेपाल पार्टीका नेता तथा नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले नेपालमा आर्थिक समृद्धि हासिल गर्न सक्षम र दुरदर्शी नेतृत्व अपरिहार्य रहेको बताएका छन्।

सोमबार रामेछापको मन्थलीमा आयोजित उज्यालो नेपाल पार्टीको प्रथम जिल्ला भेलाको उद्घाटन गर्दै मन्त्री घिसिङले राजनीतिक र नेतृत्व परिवर्तन भए पनि देशको अवस्था परिवर्तन हुन नसकेको उल्लेख गरे। पुराना दललाई निरन्तर मत दिएर तिनैले देश विकास गर्छन् भन्ने विश्वास गर्दा मुलुकले आर्थिक प्रगति गर्न नसक्ने उनको भनाइ थियो।

नेपालसँगै राजनीतिक परिवर्तन भएका भारत र चीनले उल्लेखनीय विकास गरेको तर नेपाल भने पछाडि परेको भन्दै उनले असन्तोष व्यक्त गरे। राजनीतिक परिवर्तन मात्रै पर्याप्त नहुने र सही सोच, सही नेतृत्व र स्पष्ट बहुमतको सरकार आवश्यक रहेको उनले जोड दिए।

उज्यालो नेपाल पार्टी राजनीति गर्नभन्दा पनि मुलुक परिवर्तन गर्ने उद्देश्यका साथ अघि बढेको बताउँदै मन्त्री घिसिङले आगामी निर्वाचनमा स्पष्ट बहुमतसहितको सरकार गठन गर्न जनताको विश्वास जित्ने दाबी गरे। परिवर्तनका लागि धेरै समय नचाहिने उदाहरण दिँदै उनले ‘जेन–जी’ आन्दोलनको उल्लेखसमेत गरे।

“चुनावपछि फेरि विगतकै जस्ता सरकार बन्ने हो भने त्यसको कुनै अर्थ हुँदैन,” उनले भने, “सही व्यक्ति सही समयमा सही स्थानमा हुनु जरुरी छ।” आफू सधैं संकटका बेला जिम्मेवारीमा आएर काम गरेको र सफल पनि भएको दाबी गर्दै उनले समृद्धिको एजेन्डा लिएर सरकारमा जान चाहेको स्पष्ट पारे।

कुलमान घिसिङ एक्लैले जितेर परिवर्तन सम्भव नहुने भन्दै उनले स्पष्ट बहुमतका लागि सबैको सहकार्य आवश्यक रहेको बताए। “म रामेछाप वा काठमाडौंको कुनै एक क्षेत्रबाट जित्न सक्छु, तर एक्लै जितेर केही परिवर्तन हुँदैन,” उनले भने।

मन्त्री बनेको तीन महिनापछि रामेछाप पुगेका घिसिङले उज्यालो अभियानलाई देशव्यापी रूपमा फैलाउने प्रतिबद्धता जनाए। राजधानी बाहिर रहेर विकास निर्माणका काम र जनताका माग सुन्दै आएको बताउँदै उनले सरकारले तोकिएकै मितिमा निर्वाचन गराउने तयारी गरिरहेको जानकारी दिए।

यसैबीच, रामेछाप जिल्ला समन्वय समितिले आयोजना गरेको कार्यक्रममा मन्त्री घिसिङले चालु आर्थिक वर्षमा विनियोजन भई अर्थ मन्त्रालयबाट रोक्का भएका जिल्लाका सबै विकास बजेट फुकुवा हुने विश्वास दिलाए। बाँकी बजेट पनि क्रमशः फुकुवा हुने बताउँदै उनले सम्बन्धित कार्यालय प्रमुखहरूलाई ठेक्का प्रक्रिया पूरा गरी तयारी अवस्थामा रहन निर्देशन दिए।

कार्यक्रममा सिँचाइ, सघन सहरी, भवन निर्माण तथा सडक आयोजनाका प्रमुखहरूले बजेट अभावका कारण काम अघि बढ्न कठिनाइ भएको जानकारी गराएका थिए।

त्यस अवसरमा रामेछाप उद्योग वाणिज्य संघले बीपी राजमार्गमा ठूला मालवाहक सवारी सञ्चालन, बजार क्षेत्रमा सडक बत्ती जडान, खुर्कोटमा पक्की पुल निर्माण, मन्थलीमा शहरी पूर्वाधारका लागि बजेट विनियोजन, डम्पिङ साइट निर्माण तथा छुट जग्गासम्बन्धी म्याद थपको मागसहित ध्यानाकर्षण पत्र बुझाएको थियो।

जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का कार्कीले शहरी विकास मन्त्रालयको लगानीमा निर्माणाधीन जिल्ला सभा हलको अवस्थाबारे जानकारी गराउँदै बजेट अभाव हुन नदिन आग्रह गरिन्। मन्त्री घिसिङले निर्माणाधीन सभा भवनको अनुगमनसमेत गरेका थिए।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख प्रेमबहादुर थापाले जिल्लाको समग्र विकास निर्माण अवस्थाबारे जानकारी गराएका थिए।

प्रतिक्रिया दिनुहोस्