
रामेछाप- रामेछापको उमाकुण्ड गाउँपालिकाको स्वास्थ्य क्षेत्रको सामाजिक परीक्षण सम्पन्न भएको छ । सामाजिक जवाफदेहीता नेटवर्क (सान) नेपालको सहजीकरण र उमाकुण्ड गाउँपालिकाको सहयोगमा सामाजिक परीक्षण गरिएको हो ।
आर्थिक वर्ष २०८१/०८२ को पालिकाका ८ वटा स्वास्थ्य संस्थाहरुको सामाजिक परीक्षण गरिएको हो । स्वास्थ्य सेवाको न्यूनतम मापदण्ड २०७६ तथा स्वास्थ्य क्षेत्रको लागि सामाजिक जवाफदेहिता सङ्घीय मार्गदर्शन, २०७७ को आधारमा सामाजिक परीक्षण गरिएको थियो । स्वास्थ्य क्षेत्रमा सामाजिक परीक्षण स्वास्थ्य सेवाप्रदायक निकायको नीति, कानुन, पद्धति, कार्यक्रम कार्यान्वयन, व्यवहार, स्रोत परिचालन आदिको नियमितता, पारदर्शिता र प्रभावकारिता बारेमा गरिएको सामाजिक परीक्षक तथा सान नेपालका महासचिव तिलक कार्कीले जानकारी दिए । सामाजिक परीक्षण सेवाग्राही, सेवाप्रदायक र सरोकारवालाहरू सबैको धारणाका आधारमा विश्लेषणात्मक लेखाजोखा गर्नका लागि गरिएको सामाजिक परीक्षक कार्कीले बताए ।
स्वास्थ्य संस्थाहरुले आर्थिक वर्षभित्र कार्यान्वयन गरेका कार्यक्रम र तिनले सेवा क्षेत्रको समग्र स्वास्थ्य विकासमा भएका उपलब्धि तथा कार्यसम्पादनको लेखाजोखाका लागि सामाजिक परीक्षण गर्ने गरिएको स्वास्थ्य शाखा संयोजक अभिजित सुनुवारले बताए । वर्षमा एक पटक सामाजिक परीक्षण अनिवार्य गर्ने व्यवस्था भए अनुरुप परीक्षण गरिएको उनको भनाइ छ । सुनुवारले सामाजिक परीक्षणबाट पाएका सल्लाह, सुझाव, पृष्ठपोषण तथा कार्ययोजनाले स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि, सुशासन कायम, संस्थागत व्यवस्थापन तथा आर्थिक व्यवस्थापनमा सहयोग पुग्ने बताए ।
पालिकाको आवधिक योजना तयगरी स्वास्थ्य संस्थाहरुको नियमित अनुगमन गरी गुणस्तरीय सेवा प्रवाह गर्ने प्रमुख प्रशासकीय अधिकृत जितबहादुर श्रेष्ठले बताए । स्थानीय तहको व्यवस्थापन सबल र सक्षम हुनुमा प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्यकर्मीको कार्य र शिक्षकको अध्यापन रहेको बताए । प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले स्वास्थ्य संस्थाको नीति, कार्यक्रम, आयोजना कार्यान्वयन र सेवा प्रवाहले आर्थिक, सामाजिक विकासमा गरेको समग्र योगदानको लेखाजोखा गरी मूल्याङ्कन गर्ने काममा सहयोग पु¥याएकोमा आभार व्यक्त गरे ।
सामाजिक परीक्षणको क्रममा गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले स्वास्थ्य क्षेत्रमा भएका सकरात्मक कुरालाई प्रोत्साहन गर्दै लैजाने बताए । कमीकमजोरीलाई रचनात्मक सुधार गरी अझ विकासमा लाग्ने बताए । सुनुवारले कुभुकास्थली स्वास्थ्य चौकी भवन यथाशक्य छिटो सम्पन्न गरी सेवा दिनका लागि ताकेता गर्ने प्रतिवद्धता पनि जनाएको छ । बाम्ती अस्पताल र ५ शैयाको प्रिती अस्पतालबाट सेवा दिन आवश्यक समन्वय, बजेट व्यवस्थापन, स्रोत साधनको व्यवस्थापनमा लागिरहेको उनले बताए । स्वास्थ्य संस्थाहरुको उपलब्धि, कार्य सम्पादन, परिणाम र प्रभावसम्बन्धी अभिलेख तथा सूचना, नागरिक वडापत्र, औषधीहरुको विवरण, आर्थिक, प्रशासनिक, नागरिक सन्तुष्टिसमेत आधार मानेर गरिएको सामाजिक परीक्षण पालिकाका लागि मार्गदर्शन हुने अध्यक्ष सुनुवारले बताए ।