
रामेछाप- बिहिवारबाट सुरु भएको एसइई परीक्षामा रामेछाप जिल्लाका ३३ जना विद्यार्थी पहिलो दिनको परीक्षामा अनुपस्थित भएका छन् ।
पहिलो दिनको परीक्षामा जिल्लाभरबाट २ हजार ६ सय ७१ जना विद्यार्थीहरु परीक्षामा सहभागि भएको शिक्षा विकास तथा समन्वय इकाइ रामेछापले जानकारी दिएको छ ।
रामेछाप जिल्लाबाट एसइई दिने विद्यार्थीको कुल सङ्ख्या २ हजार ७ सय ४ जना रहेपनि ग्रेडबृद्धिका परीक्षार्थीहरुको परीक्षा दैनिक फरक फरक बिषयमा हुने भएकाले परीक्षाको पहिलो दिन ३३ जना विद्यार्थी अनुपस्थित भएको हुनसक्ने बताइएको छ । ३ वटा संस्थागत विद्यालय सहित ९१ वटा माध्यमिक विद्यालय रहेको रामेछाप जिल्लामा १९ वटा परीक्षा केन्द्र तोकिएको छ । एसइईको पहिलो दिनको परीक्षा शान्त र मर्यादित रुपमा सम्पन्न भएको शिक्षा विकास तथा समन्वय इकाइ रामेछापका प्रमुख नेत्रप्रसाद गजुरेलले जानकारी दिए ।
एसइई परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन आफूहरु लागिपरेको रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपानेले बताए । परीक्षामा निरीक्षकको रुपमा आधारभूत तहका शिक्षकहरुलाई मात्र राख्ने व्यवस्था मिलाइएको पनि नगरप्रमुख न्यौपानेले बताए ।
मन्थली नगरपालिकाको मन्थली माध्यमिक विद्यालयमा ३ वटा र सँगै रहेको सहिद स्मृति बहुमुखी क्याम्पसमा १ गरी ४ वटा परीक्षा केन्द्र एउटै विद्यालयको फरक फरक भवनमा सञ्चालन गरिएको छ ।
५ सयभन्दा बढी परीक्षार्थी रहेको ती केन्द्रहरुका परीक्षालाई मार्यदित र व्यवस्थित बनाइएको मन्थली माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा केन्द्राध्यक्ष डाक्टर टंकप्रसाद दाहालले बताए ।
गत बर्ष रामेछाप जिल्लाबाट एसइईमा सहभागि परीक्षार्थी मध्ये ९३ प्रतिशत उत्तीर्ण भएका थिए तर यस वर्ष एसइई उत्तीर्ण हुने प्रतिशतमा बृद्धि हुने अपेक्षा गरिएको शिक्षा विकास तथा समन्वय इकाइ रामेछापको भनाइ छ । परीक्षाको पहिलो दिन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्लाका विभिन्न परीक्षा केन्द्रहरुमा पुगेर परीक्षा अनुगमन समेत गरिएको छ ।