रामेछाप- आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षामा रामेछापमा १८ जना विद्यार्थी अनुपस्थित भएका छन्।
शिक्षा विकास तथा समन्वय इकाई रामेछापका प्रमुख नेत्रप्रसाद गजुरेलका अनुसार नियमिततर्फ ५ जना छात्र र १२ जना छात्रा गरी १७ जना विद्यार्थी परीक्षामा सहभागी भएनन् भने ग्रेड वृद्धितर्फ १ जना परीक्षार्थी अनुपस्थित रहेका छन्।
उपस्थित नभएकामध्ये उमाकुण्ड गाउँपालिकाको बाम्ती परीक्षा केन्द्रमा १ छात्रा, गोकुलगंगा गाउँपालिकाको बेतालीमा १ छात्रा र १ छात्र तथा रामेछाप नगरपालिकाको साँघुटार केन्द्रमा १ छात्रा अनुपस्थित रहेका छन्। त्यसैगरी खाँडादेवी गाउँपालिकाको पकरबास केन्द्रमा २ छात्रा, दोरम्बा शैलुङ गाउँपालिकाको टोकरपुरमा १ छात्रा र २ छात्र, मन्थली नगरपालिकाको मन्थली क्याम्पस केन्द्रमा १ छात्रा तथा नागकन्या मावि केन्द्रमा ५ छात्रा र २ छात्र अनुपस्थित भएको जनाइएको छ।
पहिलो दिनको परीक्षामा नियमिततर्फ १ हजार १२३ छात्रा र ९९७ छात्र गरी कुल २ हजार १२० विद्यार्थी सहभागी भएका छन्। यस्तै प्राविधिक धारतर्फ ६३ छात्रा र ८१ छात्र गरी १४४ जनाले परीक्षा दिएका छन्।
यस वर्षदेखि लागू गरिएको नयाँ कार्यविधिअनुसार परीक्षा सकिएकै दिन उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्था गरिएको छ। सोहीअनुसार जिल्लाका सबै परीक्षा केन्द्रमा सम्बन्धित पालिकाको शिक्षा शाखासँग समन्वय गर्दै सुरक्षा व्यवस्थासहित जाँच कार्य सुरु गरिएको प्रमुख गजुरेलले जानकारी दिए।
विशेषगरी मन्थली नगरपालिकास्थित मन्थली मावि, मन्थली क्याम्पसका तीन केन्द्र र नागकन्या माविमा शिक्षा विकास तथा समन्वय इकाईमै उत्तरपुस्तिका परीक्षण भइरहेको छ। प्रत्येक दिन परीक्षा सम्पन्न भएलगत्तै जाँच सुरु गरी साँझ ८ बजेसम्म सक्ने लक्ष्य राखिएको इकाईले जनाएको छ।
दुई नगरपालिका र ६ गाउँपालिका रहेको रामेछाप जिल्लामा यस वर्ष १४ वटा परीक्षा केन्द्रबाट एसइई सञ्चालन भइरहेको छ। सुनापति, दोरम्बा शैलुङ, खाँडादेवी, उमाकुण्ड र गोकुलगंगामा एक–एक केन्द्र रहेका छन् भने लिखुतामाकोशी गाउँपालिका र रामेछाप नगरपालिकामा दुई–दुई केन्द्र सञ्चालनमा छन्। जिल्ला सदरमुकाम मन्थली नगरपालिकामा भने ५ वटा परीक्षा केन्द्रबाट परीक्षा भइरहेको छ।
