Logo

कारागार निरीक्षण गर्न न्यायाधीशलाई नै रोक



रामेछाप- निरीक्षणका लागि रामेछाप कारागार पुगेका रामेछाप जिल्ला अदालतका न्यायाधीश राजेन्द्र नेपाललाई कारागारभित्र प्रवेश गर्न नदिएको घटना सार्वजनिक भएको छ ।

शनिवार कारागार निरीक्षणका लागि रामेछाप कारागार पुगेका जिल्ला न्यायाधीश नेपालसहितको टोलीलाई कारागार सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले प्रवेशमा रोक लगाएको हो ।

रामेछाप कारागारमा रहेका कैदीहरूमा स्वास्थ्य समस्या, सेवासुविधा लगायतका विषयमा विभिन्न माध्यमबाट गुनासो आएपछि आकस्मिक निरीक्षणका लागि गएको तर कारागारमा खटिएका सुरक्षाकर्मीले निरीक्षण गर्न रोक लगाएको जिल्ला अदालत रामेछापका स्रेस्तेदार सुरेश केसीले जानकारी दिए ।

स्रेस्तेदार केसीले भने, “कारागारमा कैदीबन्दीको स्वास्थ्य समस्या साथै सेवा–सुविधाका विषयमा विभिन्न माध्यमबाट गुनासो आएपछि श्रीमानसहितको टोली कारागार निरीक्षणका लागि गएका थियौँ, तर कारागारभित्र निरीक्षण गर्न दिइएन । कारागारका सईसाबले आदेशात्मक रूपमा नाम लेखाएर ३–४ जना जाने भए जानु, त्योभन्दा बढी जाने हो भने सिडिओसाबको आदेश चाहिन्छ भनेर रोक्नुभयो ।”

स्रेस्तेदार केसीले भने, “श्रीमान कारागारको संरक्षक हुनुहुन्छ । श्रीमान न्यायाधीशले जुनसुकै बेला पनि कारागार निरीक्षण गर्न सक्नुहुन्छ । श्रीमान निरीक्षणमा जानुभएको बेला यतिजना–उतिजना भन्ने हुँदैन । श्रीमान्‌सहितको टोलीसँग कारागारमा जुनखालको व्यवहार भयो, त्यो कारागारको ज्यादती हो ।” निरीक्षणका लागि सिडिओको आदेश चाहिन्छ भनी सईसाबले ठाडो जवाफ दिँदै प्रवेश नदिएपछि हामी निरीक्षण नगरी फर्कियौँ, स्रेस्तेदार केसीले भने ।

कारागारको ज्यादती त्यतिमै सीमित रहेन । अदालतले तारेखमा थुनामुक्त गर्न अनुमति भएको व्यक्तिलाईसमेत कारागार प्रशासनले थुनामै राखेको छ । पुर्पक्षका लागि थुनामा रहेका शत्रुधन साहलाई उच्च अदालतको आदेशअनुसार तारेखमा छाड्न आइतवार जिल्ला अदालतले अनुमति दिएको भए पनि पुनः कारागारमा लगेर थुन्ने काम भएको जानकारीमा आएको स्रेस्तेदार केसीले बताए ।

साहलाई पुर्पक्षका लागि थुनामा राखिएको थियो, कैदका लागि होइन । उच्च अदालतको आदेशअनुसार तीन लाख रुपैयाँ धरौटीमा तारेखमा राख्नुपर्ने भएपछि आवश्यक सबै कानुनी प्रक्रिया पूरा गरी तारेख पर्चा, अदालतको आदेशको प्रतिलिपिसहितका कागजात अदालतले दिए पनि निज व्यक्तिलाई हालसम्म थुनामै राखिएको जानकारी आएको छ, केसीले भने । अदालतले तारेखमा थुनामुक्त गर्न दिएको आदेश कारागार प्रशासनले अवज्ञा गरेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्