Logo

केब्स स्कुल मन्थलीको प्रि–स्कुल ग्राजुएसन कार्यक्रममा ५३ विद्यार्थी दीक्षित



रामेछाप । रामेछापको सदरमुकाम मन्थलीस्थित आकासेमा रहेको कर्कलादेवी बोर्डिङ स्कुल (केब्स) ले शुक्रवार प्रि–स्कुल ग्राजुएसन समारोह तथा विद्यालयको २१ औँ वार्षिकोत्सव भव्य रूपमा मनाएको छ । पढाइसँगै विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान तथा असल आचरण सिकाउने उद्देश्यले विभिन्न अतिरिक्त शैक्षिक गतिविधिहरू सञ्चालन गर्दै आएको केब्स स्कुलले गत वर्षबाट प्रि–ग्राजुएसन कार्यक्रम सञ्चालन गरेको हो । नर्सरीदेखि यूकेजीसम्मलाई बालविकास शिक्षाको रूपमा लिइन्छ भने कक्षा १ लाई औपचारिक शिक्षाको पहिलो खुड्किलो मानिन्छ । विद्यार्थीलाई शिक्षाप्रति प्रोत्साहित गर्न केब्स स्कुलले आउँदो शैक्षिक सत्रबाट कक्षा १ मा पुग्ने ५३ जना विद्यार्थीहरू भव्य औपचारिक कार्यक्रमबिच दीक्षित गरेको हो ।

यूकेजी अध्ययन गरेका बालबालिकालाई कक्षा १ मा प्रवेश गराउन आयोजित उक्त कार्यक्रम बालबालिकालाई अक्षर चिनाउने मात्र नभई सामाजिक व्यवहार र जीवनोपयोगी सीप सिकाउने उद्देश्यले आयोजना गरिएको विद्यालयको भनाइ छ ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले शिक्षा केवल विद्यालयको जिम्मेवारी नभई परिवार र समाजको पनि साझा दायित्व भएको बताए । प्रि–स्कुल दीक्षान्त समारोह तथा २१ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख श्रेष्ठले यस्तो बताएका हुन् ।

    
नगरप्रमुख श्रेष्ठले व्यवहारिक शिक्षा र अभिभावकको सक्रिय भूमिकाबिना गुणस्तरीय शिक्षा सम्भव नहुने बताए । उनले पहिलो शिक्षा परिवारबाट र दोस्रो शिक्षा विद्यालयबाट प्राप्त हुने भएकाले अभिभावकले बालबालिकाको पढाइप्रति नियमित चासो दिनुपर्ने बताए । विद्यालयबाट घर फर्किएपछि कम्तीमा कापी–किताब हेर्ने जस्ता सामान्य अभ्यासले पनि विद्यार्थीमा पढाइप्रति उत्साह बढ्ने उनको भनाइ छ । उनले भने ‘देशमा सामुदायिक र संस्थागत गरी दुई प्रकारका विद्यालय सञ्चालनमा रहेका छन्, मन्थली नगरपालिकाले दुवै प्रकारका विद्यालयहरूको गुणस्तर सुधारका लागि साझा मापदण्ड लागू गर्ने प्रयास गरिरहेको छ ।’
कार्यक्रममा जाने क्रममा केब्स स्कुलका विद्यार्थीहरूले स्थानीय शासन, विकास योजना छनोट प्रक्रिया तथा समाजमा देखिएका विकृतिहरूबारे प्रश्न उठाएको सुनाउँदै नगरप्रमुख श्रेष्ठले नयाँ पुस्ता सचेत र जिम्मेवार बन्दै गएको उल्लेख गरे ।

देशको विकास र परिवर्तनका लागि शिक्षित, योग्य र दक्ष जनशक्ति आवश्यक हुने भन्दै उनले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को लक्ष्य हासिल गर्न शिक्षा नै मुख्य आधार भएको बताए । अभिभावकले पनि छोराछोरीसँगै नयाँ ज्ञान र प्रविधि सिक्दै अघि बढ्नुपर्ने उनको भनाइ थियो ।


रामेछाप उद्योग वाणिज्य सङ्घका उद्योग उपाध्यक्ष आकाश रिजालले युवाहरूको बढ्दो विदेश मोहबारे चिन्ता व्यक्त गरे । अहिले विद्यार्थीहरू पढाइको उद्देश्य र विषय छनोटभन्दा पनि सानै कक्षादेखि विदेश जाने सोच बनाउँदै अघि बढिरहेको पाइन्छ उनले भने । ‘चार–पाँच कक्षामा अध्ययनरत विद्यार्थीहरूमा समेत विदेश जाने मनोभावना पाइन्छ, जसका कारण युवा शक्तिलाई स्वदेशमै रोक्ने नीति तथा कार्यक्रम आवश्यक छ, उनले भने । यस विषयमा स्थानीय सरकार तथा सम्बन्धित निकायहरूको गम्भीर ध्यान जान आवश्यक रहेको पनि उनले बताए ।

केब्स स्कुलका प्रिन्सिपल केशव तिमल्सिनाले विद्यालयलाई केवल किताब पढ्ने स्थानका रूपमा नभई बालबालिकाले जीवनका लागि भविष्य तयारी गर्ने थलोका रूपमा लिनुपर्ने बताए ।

प्रधानाध्यापक तिमल्सिनाले विद्यालयले गत वर्षदेखि प्रि–स्कुल ग्राजुएसन कार्यक्रम सुरु गरेको जानकारी दिँदै प्रि–स्कुल शिक्षालाई फरक ढङ्गबाट सञ्चालन गर्ने प्रयास गरिएको बताए । नर्सरी, एलकेजी र यूकेजी तहमा बालबालिकालाई केवल अक्षर र अङ्क सिकाउने मात्र नभई उनीहरूको समग्र विकासमा ध्यान दिनुपर्ने आवश्यकता महसुस गरेर कार्यक्रम सुरु गरिएको उनको भनाइ छ ।


विद्यालयले मन्टेसरी विधिबाट प्रि–स्कुल सञ्चालन गर्दै बालबालिकामा आनीबानी, व्यवहारिक सीप, आचरण र उचित हेरचाहको विकासमा जोड दिँदै आएको बताए । विद्यालयले शिक्षामा नयाँ प्रविधिको प्रयोग र नवप्रवर्तनलाई अघि बढाउने प्रयास गर्दै आएको पनि प्रिन्सिपल तिमल्सिनाले बताए । “हामी अरूबाट सिक्ने र अरूलाई सिकाउने दुवै अभ्यासलाई निरन्तरता दिइरहेका छौँ,” उनले भने ।

केब्स स्कुलको उद्देश्य केवल आफ्नै संस्थाको प्रगति मात्र नभई मन्थली र समग्र रामेछाप जिल्लाको शैक्षिक विकासलाई अघि बढाउनु रहेको उनले बताए । उनले भने– “धेरैले विद्यालयलाई शिक्षकले बालबालिकालाई पढाएर सक्षम बनाउने स्थानका रूपमा बुझ्ने गरे पनि विद्यालय वास्तवमा जीवनको दीर्घ यात्राका लागि गरिने पूर्व तयारीको स्थान हो ।”


ज्ञानसँगसँगै विद्यार्थीको आचरण, व्यवहार र बानी–व्यहोरा महत्वपूर्ण हुन्छ । असल अनुशासन र चरित्र भएका विद्यार्थीहरू पढाइमा पनि सफल हुने उनले बताए । केब्स स्कुलले विद्यार्थीहरूको व्यवहार, अनुशासन, संस्कार र चरित्र निर्माणलाई प्राथमिकता दिएको बताए । जीपीए केवल शैक्षिक मूल्याङ्कनको एउटा प्रणाली मात्र भएको बताउँदै “विद्यार्थीले जीवनमा कस्तो परिवर्तन ल्याउँछन् भन्ने कुरा सबैभन्दा महत्वपूर्ण हुन्छ,” उनले भने ।


कार्यक्रममा विद्यालयले चालु शैक्षिक सत्रमा सञ्चालन गरेका अतिरिक्त क्रियाकलामहरु प्रथम र द्वितीय भएका विद्यार्थी समूहलाई सम्मान गरिएको थियो । त्यसैगरी विद्यालयमा लामो समयदेखि योगदान पुर्‍याएका शिक्षक तथा कर्मचारीहरुलाई सम्मान गरिएको थियो । विद्यार्थीहरुले चित्रकला, गायन, नृत्य लगायतका प्रतिभाहरु प्रस्तुत् गरेका थिए भने शिक्षकहरुले पनि नृत्य प्रस्तुत् गरेका थिए । कार्यक्रममा अभिभावकहरुलाई पनि खेल खेलाएर रमाइलो गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्