Logo

केब्स स्कुल स्काउट्सको तीन किलोमिटर हाइकिङ



रामेछाप- मन्थली बजार नजिक सुकाजोर खोलाको बगर क्षेत्रमा केप्स स्कुलले स्काउट्सका विद्यार्थीहरुलाई हाइकिङ लगेको छ । विद्यालयको वार्षिक कार्यक्रम अन्तर्गत शनिवार हाइकिङ लगेको हो । उक्त काइकिङमा कक्षा ६, ७ र ८ का ७५ जना स्काउट विद्यार्थी सहभागी भएका केब्स स्कुल मन्थलीका प्रिन्सिपल केशव तिमल्सिनाले जानकारी दिए । उनकाअनुसार यो कार्यक्रम स्काउटिङ शिक्षाको अनिवार्य भागका रूपमा हरेक वर्ष सञ्चालन गरिदै आएको छ ।

कार्यक्रम अन्तर्गत विद्यार्थीहरूलाई समूहमा विभाजन गरी गन्तव्य स्थानको पूर्व जानकारी नदिई आफैं बाटो पहिचान गर्दै गन्तव्यमा पुग्नु पर्ने हुन्छ । ७५ जना विद्यार्थीलाई ९ समूहमा विभाजन गरी हाइकिङ लिएको थियो । हाइकिङमा सहभागि समूहले डे क्याम्प अवधिमा आवश्यक खानेकुरा आफैं तयार गर्ने, पानी ल्याउने, दाउरा सङ्कलन गर्ने र आगोबाट खाना पकाउने जस्ता गतिविधि गरेका थिए । कार्यक्रममा जङ्क फुडलाई निषेध गरिएको पनि प्रिन्सिपल तिमल्सिनाले बताए ।


उक्त कार्यक्रम अन्तर्गत तालिम, जंगल हाइक, प्राकृतिक सामग्री संकलन तथा ब्लाइन्ड वाकजस्ता अभ्यासहरू गराइएको पनि उनले जानकारी दिए । ब्लाइन्ड वाक अन्तर्गत विद्यार्थीहरूलाई आँखा बन्द गराई जंगल क्षेत्रमा बाँधिएको डोरी समातेर बाटो पहिचान गर्न लगाइएको थियो ।

तिमल्सिनाका अनुसार कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूमा समन्वय क्षमता विकास गर्नु, व्यावहारिक सीप सिकाउनु तथा विषम परिस्थितिमा उपलब्ध स्रोत प्रयोग गरी बाँच्न सक्ने क्षमता विकास गर्नु हो । साथै, भाँडा बिना खाना पकाउने जस्ता जीवनोपयोगी सीपहरू पनि सिकाइने गरिएको छ ।


केप्स स्कुलमा २०७१ सालदेखि औपचारिक रूपमा स्काउटिङ सञ्चालन हुँदै आएको छ । हाल विद्यालयमा करिब ११० जना विद्यार्थी स्काउटिङ कार्यक्रममा सहभागी छन् । साथै रामेछाप जिल्लामा जुनीयर स्काउट कार्यक्रम सञ्चालन गर्ने केब्स एकमात्र विद्यालय भएको पनि उनले बताए ।

विद्यालयले क्याम्पफायर, डे क्याम्प, सामाजिक सरसफाइ, स्वयंसेवा तथा अन्य स्काउट तालिम कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्दै आएको छ । स्काउटिङमार्फत समाजसेवाको भावना भएका सक्षम नागरिक उत्पादन गर्ने लक्ष्य विद्यालयले राखेको छ ।

प्रतिक्रिया दिनुहोस्