Logo

जनताको गुनासो नआउने गरी काम गरेका छौँ : अध्यक्ष तामाङ



रामेछाप- सुनापति गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङले सुनापति गाउँपालिकामा जनताले गुनासो नआउने गरी काम गरेको बताएका छन् । गाउँपालिकाले नागरिकका गुनासा न्यून हुने गरी सेवा प्रवाह, पारदर्शिता र सुशासनलाई प्राथमिकतामा राखेर काम गरिरहेको उनको भनाइ छ । बिहिवार सुनापति गाउँपालिकाको वडा नम्बर ५ मा आयोजना गरिएको गाउँपालिका स्तरीय सार्वजनिक सुनुवाइ कर्यक्रममा उनले यस्तो बताएका हुन् । उनले नियमित सार्वजनिक सुनुवाइ, वडा–वडामा प्रत्यक्ष पहुँच र जनताको घर टोलमै पुगेर समस्या समाधान गर्ने गरिएकाले सार्वजनिक सुनुवाइमा धेरै प्रश्न नआएको अध्यक्ष तामाङको भनाइ छ ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष गीता विष्ट, प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठ, वडा अध्यक्षहरू, वडा सदस्य, शिक्षा शाखा प्रमुख, पत्रकार, प्राविधिक कर्मचारी, शिक्षक तथा स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा उठेका डाँसे सडकको बिच भाग अधुरो रहेको भन्ने प्रश्नमा अध्यक्ष तामाङले सो सडकखण्ड पिच गर्न प्रदेश र संघीय पूर्वाधार विकास निकायसँग समन्वय भइरहेको र बहुवर्षीय ठेक्कामार्फत निर्माण प्रक्रिया अघि बढ्ने बताए । सडक सरसफाइ, बाढी–पहिरो जोखिम न्यूनीकरण तथा आपतकालीन सवारी साधन सञ्चालनमा अवरोध नआउने गरी प्राथमिकताका आधारमा काम भइरहेको पनि उनले बताए । स्वास्थ्य सेवातर्फ सुनापति आधारभूत अस्पताल उद्घाटन भइसकेको र एक्स–रे मेसिन जडान स्वास्थ्य मन्त्रालयको निर्णय पर्खाइमा रहेको बताए । एक्स–रे बाहेकका आवश्यक उपकरण, चिकित्सक र जनशक्ति व्यवस्थापन गरी नागरिकलाई स्थानीय तहमै सेवा दिइँदै आएको जनाइएको छ । गाउँपालिकाको शिक्षा, स्वास्थ्य, कृषि, पशु सेवा, पर्यटन र पूर्वाधार क्षेत्रमा उल्लेख्य प्रगति भएको उल्लेख गर्दै बाँकी कार्यकालमा चुनावी घोषणापत्रभन्दा बढी काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सार्वजनिक सुनुवाइ तथा एकीकृत घुम्ती शिविर कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेशकुमार श्रेष्ठले आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिक (साउनदेखि कार्तिकसम्म) अवधिमा भएका वडागत तथा शाखागत कार्यहरूको प्रगति विवरण सार्वजनिक गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठअनुसार चालु आर्थिक वर्षका लागि गाउँपालिकाको कुल अनुमानित आय–व्यय बजेट ६१ करोड ४९ लाख ९२ हजार ३९२ रुपैयाँ रहेको छ । प्रथम चौमासिकसम्म कुल अनुमानित आयको ४०.३३ प्रतिशत आम्दानी भएको छ भने खर्चतर्फ चालु र पुँजीगत गरी जम्मा १५.२९ प्रतिशत खर्च भएको छ । संघीय, प्रदेश र आन्तरिक स्रोतबाट आम्दानी भइरहेको भएपनि अपेक्षित गतिमा खर्च हुन नसकेको उनले बताए ।

राजस्व संकलनतर्फ वार्षिक लक्ष्यको ३८.३९ प्रतिशत संकलन भएको छ । बजार अनुगमन, नयाँ व्यवसाय दर्ता, व्यवसाय तथा कृषक समूह नवीकरण जस्ता कार्यहरू गरिएको जनाइएको छ । साथै गाउँपालिकामा कायम बेरुजु फछ्र्यौटको प्रक्रिया अगाडि बढिरहेको पनि उनले बताए । वडागत रूपमा जन्म, मृत्यु, विवाह, बसाइँसराइ दर्ता, सिफारिस वितरण, वडा समिति बैठक र राजस्व संकलन नियमित रूपमा भइरहेको छ । वडाहरुबाट पहिलो चौमासिकमा १३ लाखभन्दा बढी राजस्व संकलन भएको बताए ।

शिक्षा, स्वास्थ्य, कृषि, महिला तथा बालबालिका, न्यायिक, पशु सेवा, प्रशासन, रोजगार र पूर्वाधार क्षेत्रमा उल्लेख्य प्रगति भएको प्रतिवेदनमा उल्लेख छ । २४ सै घण्टा सेवा दिने सुनापति आधारभूत अस्पताल सञ्चालन, सडक स्तरोन्नति, कृषकमा सहयोग, सामाजिक सुरक्षा तथा विपद् व्यवस्थापनका कार्यक्रमहरू कार्यान्वयनमा रहेका छन् । गाउँपालिकाले पारदर्शिता, सुशासन र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रामेछापका पूर्वअध्यक्ष हिमाल ढुङ्गेलले गाउँपालिकाको काममा नागरिक सन्तुष्टि देखिनु सकारात्मक सन्देश भएको बताए ।
सार्वजनिक सुनुवाई स्थानीय सरकार कति पारदर्शी र जवाफदेही छ भन्ने मापन गर्ने महत्वपूर्ण फोरम भएको भन्दै नागरिक र सरकारबिच प्रत्यक्ष सवाल–जवाफ हुने यस्ता कार्यक्रमले जनताको धारणा, अपेक्षा र असन्तुष्टि खुला रूपमा राख्ने अवसर प्रदान गर्ने बताए ।

कार्यक्रममा प्रत्यक्ष रूपमा धेरै प्रश्न नआउनु नागरिक सन्तुष्टिको संकेत भएको भन्दै उनले स्थानीय सरकारको कामप्रति प्रशंसा गरे । “नागरिकले प्रश्न उठाउन नपर्ने गरी काम हुनु प्रशंसनीय हो,” उनले भने ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि, कार्यालय प्रमुख, विद्यालयका प्रधानाध्यापक तथा गाउँपालिकाका पाँच वटै वडाको नागरिकहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्