Logo

जनयुद्धका उपलब्धि संस्थागत गर्दै बाँकी कार्यभार पूरा गर्न प्रतिबद्ध छौँ : तरानारायण श्रेष्ठ



रामेछाप- ३१ औँ जनयुद्ध दिवसको अवसरमा नेपाली कम्युनिष्ट पार्टी रामेछापले “महान जनयुद्धका उपलब्धी र नेपाली कम्युनिष्ट पार्टीको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ । जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका नेताले तारानारायण श्रेष्ठले जनयुद्धले नेपाली समाजको राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरणमा ऐतिहासिक भूमिका खेलेको बताए । उनले जनयुद्धकै जगमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको, संविधानसभामार्फत नयाँ संविधान जारी भएको र राज्य संरचनामा व्यापक परिवर्तन सम्भव भएको बताए ।

उनकाअनुसार नेपालको राजनीतिक आन्दोलनको इतिहास हेर्दा २००७ सालमा विश्वेश्वर प्रसाद कोइरालाको नेतृत्वमा राणा शासन अन्त्य भए पनि संविधानसभा सम्पन्न हुन सकेन । २०१७ सालमा संसद विघटन भई पञ्चायती व्यवस्था लागू गरियो । २०४६ सालको जनआन्दोलनपछि संवैधानिक राजतन्त्र स्थापना भए पनि सेना राजाको मातहतमै रहेकाले राजनीतिक अस्थिरता कायम रह्यो । त्यसपछिको संघर्ष, सात दल र माओवादीबिच भएको १२ बुँदे समझदारी तथा जनआन्दोलनको जगमा संविधानसभा निर्वाचन भई नयाँ संविधान घोषणा भएको उनले स्मरण गरे ।


उनले जनयुद्धका उपलब्धिका रूपमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना, तीन तहको सरकारको व्यवस्था, महिलालाई पैतृक सम्पत्तिमा समान अधिकार, ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चितता, दलित तथा उत्पीडित समुदायका लागि विशेषाधिकार र समावेशी व्यवस्था जस्ता ऐतिहासिक परिवर्तनहरु रहेका बताए । स्थानीय तहलाई व्यवस्थापकीय, कार्यकारी र न्यायिक अधिकार प्रदान गरिनु पनि जनयुद्धकै उपलब्धि भएको उनको भनाइ थियो ।

यद्यपि जनयुद्धका सबै एजेन्डा पूरा हुन नसकेको स्वीकार गर्दै उनले क्रान्तिकारी भूमिसुधार, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्था र विज्ञतामा आधारित मन्त्रिमण्डल गठनजस्ता मुद्दा अझै कार्यान्वयन हुन बाँकी रहेको बताए । पहिलो संविधानसभामा अपेक्षित दुई तिहाइ बहुमत नपाएकाले आफ्नै एजेन्डाअनुसार संविधान निर्माण गर्न नसकिएको उनको तर्क थियो । उनले सरकार सञ्चालनका क्रममा सुशासन र भ्रष्टाचारविरुद्ध अभियान चलाइएको दाबी गर्दै कतिपय उच्च पदस्थ व्यक्तिमाथि कारबाही भएको उल्लेख गरे ।


उनले वर्तमान राजनीतिक अवस्थाबारे चर्चा गर्दै नयाँ दलहरूले उठाएका प्रत्यक्ष निर्वाचित कार्यकारी र भ्रष्टाचारविरोधी मुद्दा माओवादीले पहिले नै उठाएको एजेन्डा भएको दाबी गरे । राजनीतिक स्थायित्व र सुशासनका लागि प्रणालीगत सुधार आवश्यक रहेको उनको भनाइ थियो । उनले आर्थिक मोडालिटी परिवर्तन नगरी देश आत्मनिर्भर बन्न नसक्ने उल्लेख गर्दै राष्ट्रिय उद्योगको विकास, स्वदेशी उत्पादन प्रवर्धन र रोजगारी सिर्जनामा ध्यान दिनुपर्ने बताए ।

भूराजनीतिक प्रभाव, युवापुस्ताको असन्तुष्टि र वैदेशिक रोजगारीमुखी अर्थतन्त्रजस्ता चुनौतीकाबिच आगामी निर्वाचनबाट प्राप्त जनादेशअनुसार पार्टीले बाँकी ऐतिहासिक कार्यभार पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले शहीद, बेपत्ता र घाइते परिवारप्रति सम्मान व्यक्त गर्दै उनीहरूको यथोचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा सहभागी विभिन्न राजनीतिक दलका प्रतिनिधि र सरोकारवालासँग सुझाव लिएर आगामी कार्यदिशा तय गरिने उनले बताए । उक्त अन्तरक्रिया कार्यक्रमको सहजीकरण नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य पवन कार्कीले गरेका थिए । कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका बागमती प्रदेश सदस्य शिशिर खड्गी, श्याम सुवेदी, हेमन्त पौडेल लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । शुक्रवार अपराहन्न अन्तरक्रिया कार्यक्रम आयोजना गरेको नेपाली कम्युनिष्ट पार्टीले साँझ देवकोटा चोकमा दीप प्रज्वलन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्