Logo

जनयुद्धको जगमा परिवर्तन सम्भव भयो, अब बाँकी काम पूरा गर्नुपर्छ : काङ्ग्रेस नेता कार्की



रामेछाप– नेपाली काङ्ग्रेसका नेता सिताराम कार्कीले जनयुद्ध सुरु भएको ३१ वर्ष पूरा भएको सन्दर्भमा नेपाली कम्युनिष्ट पार्टीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै जनयुद्धले नेपाली राजनीतिमा ऐतिहासिक परिवर्तनको आधार तयार पारेको बताए ।

उनले २०५२ सालमा रामेछापको बेथानमा भएको प्रहरी चौकी आक्रमणबाट सशस्त्र आन्दोलनले औपचारिक रूप लिएको स्मरण गर्दै त्यसले दुई सयभन्दा बढी वर्षदेखि एउटै परिवारले नेतृत्व गर्दै आएको राज्य व्यवस्थामा चुनौती दिएको उल्लेख गरे । “त्यो साहसिक सुरुवातले अन्ततः संविधानसभा मार्फत नेपाली जनताले आफैं संविधान लेख्ने अवस्था निर्माण गर्‍यो,” उनले भने ।

कार्कीले पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन खेलेको भूमिकाको पनि चर्चा गरे । तत्कालीन अवस्थामा माओवादीलाई ‘आतंककारी’ भनिँदै गरेको बेला पनि कोइरालाले राजनीतिक समाधान खोज्दै शान्ति प्रक्रिया अगाडि बढाएको उनको भनाइ थियो ।

उनले जनयुद्धका कारण राज्यसत्तामा समावेशीकरण सम्भव भएको उल्लेख गर्दै विभिन्न पृष्ठभूमिका व्यक्तिहरू सांसद र जनप्रतिनिधि बन्न सफल भएको बताए । “पहिले शासक वर्गकै सन्तानले मात्रै नेतृत्व गर्ने परिपाटी थियो, तर आज सामान्य परिवारका व्यक्तिहरू पनि राज्यसत्तामा पुग्न सकेका छन्,” उनले भने ।

तर, उनले जनयुद्धका सबै आकांक्षा पूरा नभएको बताएका छन् । सहिद, बेपत्ता र घाइतेहरूको यथोचित व्यवस्थापन अझै हुन नसकेको, गाउँबस्ती रित्तिँदै गएको तथा राजनीतिक पार्टीहरुले कार्यकर्तालाई रोजगारी र उत्पादनशील क्षेत्रमा जोड्न नसकिएकोप्रति चिन्ता व्यक्त गरे । “विद्रोह गर्न सजिलो हुन्छ, तर व्यवस्थापन गर्न कठिन हुन्छ,” उनले भने, “हामीले व्यवस्थापनमा कमजोरी गरेका छौँ भन्ने यथार्थ स्वीकार गर्नुपर्छ ।”

नयाँ राजनीतिक शक्तिहरूले भ्रम फैलाइरहेको आरोप लगाउँदै उनले स्थापित दलहरूले शिक्षा, चेतना र व्यवहारिक राजनीतिका माध्यमबाट जनतालाई विश्वस्त पार्नुपर्ने धारणा राखे । विदेश पलायनको बढ्दो प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै उनले युवालाई देशमै अवसर सिर्जना गर्न सबै दलले पहल गर्नुपर्ने बताए ।

काङ्ग्रेस नेता कार्कीले नेपाली कम्युनिस्ट पार्टीलाई जनयुद्ध दिवसको शुभकामना दिँदै द्वन्द्वपीडितहरूको व्यवस्थापन र संविधान कार्यान्वयनमा अग्रसर हुन आग्रह गरे । उनले सबैमा सद्बुद्धि र सहकार्यको भावना विकास होस् भन्ने कामना पनि व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्