Logo

जेन्जी आन्दोलन अमेरिकाको परिचालनमा भएको हो : एमाले नेता चौलागाई



रामेछाप- नेकपा एमालेका पोलिटव्यूरो सदस्य कमलप्रसाद चौलागाईले जेन्जी आन्दोलन अमेरिकाद्धारा परिचालित भएको बताएका छन् । जेनजेड उमेर समूहका युवाहरुलाई सामाजिक सञ्जालमार्फत एकोहोरो बनाएर ती युवाहरुलाई आन्दोलनमा परिचालन गरेको नेता चौलागाईले आरोप लगाए । आन्दोलनको आयोजना गरेकाहरुले नै बालबालिकाको हत्या गर्ने योजना बनाएको र बालबालिकाको हत्या गराएर जेन्जी आन्दोलनमाथि हामी नेपाल नामक संस्थाका सुदन गुरुङ र काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहहरुद्धारा सिँधै हाइजेक गरी आन्दोलनलाई हिंसात्मक बनाइएको उनको आरोप छ । सरकारबाट बहिरिनु पर्दाको पीडामा रहेका माओवादी, रास्वपा लगायतका पार्टीहरु पनि केपी ओली नेतृत्वको सरकार ढाल्न लागिपरेका थिए, उनीहरुले पनि जेन्जी आन्दोलनलाई उक्साए नेता चौलागाईको भनाइ थियो ।

संसद विघटन गर्नु असंवैधानिक भएको भन्दै संसद पुनस्थापना गर्न नेकपा एमाले जस्तोसुकै मूल्य चुकाउन पनि तयार रहेको उनले बताए । गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको जेन्जी आन्दोलन जाँचबुझ आयोग खारेज गरी निष्पक्ष आयोग बनाएर जेन्जी आन्दोलनमा विध्वंश मच्चाउनेहरुको पहिचान गरी कारबाही गर्नु पर्ने साथै संसद पुनस्थापना गरी निर्वाचनको वातावरण नबनाएसम्म निर्वाचन हुन नसक्ने उनको दाबी छ । एमालेको मुख्य एजेण्डा संसद पुनस्थापना गर्नु रहेको पनि नेता चौलागाईले बताए ।


एमाले केन्द्रीय सदस्य गीता कार्कीले प्रतिगमन रोक्न र संविधान जोगाउन एमाले सडकमा उत्रिएको बताइन् । “बलिदान र त्यागले बनेको संविधानलाई कागजको खोस्टा बनाउने षड्यन्त्र सुरु भएको छ, अब हामी मौन बस्दैनौँ,” उनले जोड दिँदै भनिन् । त्यस्तै नेकपा (एमाले) बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले असंवैधानिक रूपमा विघटन गरिएको संसद्लाई पुनस्थापना गराएरै छाड्ने दाबी गरेका छन् । नेकपा एमाले रामेछापले शनिवार मन्थलीमा आयोजना गरेको शक्ति प्रदर्शन र्‍यालीपछि आयोजना गरिएको कोणसभालाई सम्बोधन गर्दै नेता ढुङ्गेलले यस्तो बताएका हुन् । उनले प्रतिनिधि सभा पुनस्थापनाका लागि पार्टी अन्तिमसम्म लड्ने पनि बताए ।

ढुंगेलले भने, “संसद पुनः स्थापना गरेर अध्यक्ष केपी शर्मा ओलीलाई सात दिन होस् या एक महिना, फेरि प्रधानमन्त्री बनाएरै छाड्ने छौँ । “लोकतन्त्र र संविधानलाई सबल बनाउन एमाले कुनै कसर बाँकी राख्दैन” उनले भने । आगामी मङ्सिर ६ गते काठमाडौँमा हुने एमालेको शक्ति प्रदर्शनमा सहभागी हुन उनले कार्यकर्ता तथा सर्वसाधारणलाई आह्वान समेत गरे । उनले सङ्कट र कठिनाइका क्षणमा जनताको घाउमा मलहम लगाउने पार्टी एमाले नै भएकाले समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पूरा गर्ने सामर्थ्य पनि एमालेमै भएको दाबी गरे । ढुंगेलले स्वच्छ र निष्पक्ष निर्वाचनको वातावरण बनेमा एमालेले अरू सबै दललाई “धुलो चटाउने” दाबी गरे । भदौ २३ र २४ मा भएको जेन्जी आन्दोलनको नाममा विदेशी एजेन्डामा आधारित गतिविधि गर्न खोज्नेहरूलाई सचेत रहन चेतावनी दिए । “आगो लगाएर सर्वोच्च अदालत, सिंहदरबार र संसद भवन जलाएजस्तो एमालेसँग लडाइँ लड्न सजिलो हुँदैन,” उनले भने ।


मकवानपुर, चितवन, सिन्धुली, काभ्रे, नुवाकोटलगायत जिल्लामा एमाले नेताहरूको घरमा आक्रमण भएपनि सङ्गठन कमजोर नभएको उनले बताए । रामेछापमा भने आन्दोलन एमालेकै जेन–जी कार्यकर्ताले नेतृत्व गरेकाले कुनै अप्रिय घटना हुन नपाएको उनको भनाइ थियो । नेता ढुङ्गेलले “एमाले सकियो भन्नेहरूलाई” चुनौती दिँदै आगामी निर्वाचनमा दोब्बर मत ल्याएर देखाउने घोषणासमेत गरे ।

नेकपा एमाले रामेछापका निवर्तमा अध्यक्ष तथा बागतमी प्रदेशभसा सदस्य आनन्दकुमार श्रेष्ठले प्रतिगामी षड्यन्त्रको विरुद्ध नेकपा एमालेले देशव्यापी जनदवाव सिर्जना गरिरहेको बताए । प्रतिगामी षड्यन्त्रलाई असफल पार्दै लोकतन्त्र सुनिश्चित गर्न र नेपाली जनताको सुखी नेपाली र समृद्ध नेपालको सपनालाई साकार पार्न नेकपा एमाले जस्तोसुकै आन्दोलनमा होमिन पनि तयार गरेको बताए । नेकपा एमाले जस्तोसुकै षड्यन्त्र, दमन र हिंसाको विरुद्धमा संविधान र लोकतन्त्र रक्षाको लागि सडकमा ओर्लिन तयार रहेको उनले बताए । एमाले रामेछाप अध्यक्ष पुरुषोत्तम कडरियाले विघटन गरिएको संसद पुनस्थापनालाई नै पार्टीको प्रमुख एजेन्डा बताउँदै रामेछापदेखि काठमाडौँसम्म दबाबका कार्यक्रम जारी रहने बताए ।

मन्थली क्याम्पस स्ववियु सभापति सुशील थापाले जिल्लामा जेनजी आन्दोलन ‘सन्तुलित’ रूपमा रहनुको कारण आफूहरूले जिम्मेवारीपूर्वक आन्दोलन नेतृत्व गरेको बताउँदै “रामेछापमा आगजनी–तोडफोड हुन नदिएको दाबी गरे । कोणसभा अघि र्‍याली निकालिएको थियो । नेकपा एमालेको पार्टी कार्यालय कटहरबोटबा निस्किएको र्‍याली मदनआश्रित चोक हुँदै बजार परिक्रमा गरी देवकोटाचोमा आएर कोणसभामा परिणत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्