Logo

देशमा शान्ति होस् भन्दै सरकारी गुठी पूजा



सन्तोष ढुङ्गेल


रामेछाप- रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकामा पर्ने नेपालकै एक ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल खाँडादेवी मन्दिरमा सरकारी गुठी पूजा गरिएको छ । देशमा अशान्ति र विकृति बढ्दै गएको भन्दै परापूर्वकालदेखि मन्दिरमा यो पूजा गरिँदै आएको छ । सरकारी पूजा चैत २४ गते आइतवार राम नवमीका दिन मन्दिरमा गरिएको खाँडादेवी विकास कोषका अध्यक्ष शेरबहादुर तामाङले जानकारी दिए । ‘देशमा शान्ति होस्, सम्पूर्ण मानव समुदायमा कुनै रोगव्याधि नलागोस्, सबैलाई सुख होस्, देश विखण्डन नहोस् र सम्पूर्ण देशवासीको शान्ति र समृद्धि होस् भनि प्राचीनकालदेखि सो पूजा गरिँदै आएको छ ।

तत्कालीन राजा पृथ्वीनारायण शाहले खाँडादेवी मन्दिरम सरकारी पूजा गर्न सुरुवात गरेका थिए । राजाहरु रहँदा राजाले गर्ने गरेको सो पूजा अहिले विकास कोषले गर्दै आएको छ । राजाको पलामा पूजाको लागि दरबारबाट नै सामग्री आउने गर्दथ्यो । आइतवार चैते दसैँ पनि परेकाले हजारौँ भक्तजनले दर्शन गरेका अध्यक्ष तामाङले बताए । मन्दिरमा चैते दसैँको नौरथा लागेदेखि नै दर्शनार्थीको भिड लागेको छ ।
खाँडादेवीलाई ऐतिहासिक र धार्मिक महìवको शक्तिपीठ मानिन्छ । यो मन्दिरमा वि.स. १२४० सालमा चढाएको चाँदीको जन्तर फेला परेको विकास कोषले जनाएको छ । तथापि त्यसको पुरातात्विक हिसाबले पुष्टि हुन भने बाँकी छ । वि.स. १५७३ मा मन्दिरमा चढाइएको घण्ट भने सुरक्षित छ ।


मन्दिरमा अहिले काठमाडौँ उपत्यका तराइका विभिन्न जिल्ला तथा पूर्वी नेपालकासहित भारतकासमेत दर्शनार्थीहरु आउने गरेका छन् । यसको अझ प्रचार गर्नसके धार्मिक पर्यटकीय क्षेत्र बनाउन सकिने सम्भावना रहेको छ ।

शिवपुराणको हिमवत खण्डमा रोशमती (रोशी) र सुनकोसी नदीको सङ्गम कुशेश्वरमा देवीले शुम्भ र निशुम्भ नामका राक्षसलाई बध गरी दुर्गा नदीमा खड्ग पखाली खाँडादेवीमा खड्ग गाडेर कालिञ्चोकमा अन्तर्धान भएको उल्लेख छ । त्यसैले पनि यो मन्दिरलाई पौराणिक मन्दिर मानिन्छ ।


सिन्धुलीगढीको लडाइँमा खाँडादेवीसँग बल पुकारा गरेर विजयप्राप्त गरेपछि पृथ्वीनारायण शाहले खाँडादेवीको शिलालाई काठमाडौँ लाने क्रममा सेनाले कतै पनि नबिसाई लगेको शिलालाई साँगामा पुर्याएर बिसाउँदा दुइपटक अलप भएपछि पुनः तेस्रो पटक भक्तपुरको खोपीढुङ्गामा पु¥याएर बिसाउँदा शिला फेरि पनि अलप भएर खाँडादेवीमा उत्पत्ति भएको किंवदन्ती रहेको छ । कसैगरे पनि शिला लैजान नसकेपछि पृथ्वीनारायण शाहले कमलामाईलाई परेवा, मङ्गलादेवीलाई भाले, भैरवीदेवीलाई राँगा, खाँडादेवीलाई हाँस र बोका बलि दिनु भनि आदेश दिइ पूजा चलाएको भनाइ छ । वडा दसैँँको नवमी र चैते दसैँँको राम नवमीमा मन्दिरमा सरकारी पूजा हुने गर्दछ ।


खाँडादेवी मन्दिरको अझ अनौठो कुरा के छ भने प्रत्येक गुठी पूजाको दिन मन्दिरमा पानी ल्याएको पाइपमा पानी सुक्ने गर्दछ । यसपटक पनि मन्दिर नजिक पानी ल्याइएको पाइपमा पानी अवरोध छ । खाँडादेवी मन्दिरका पूजारीहरुले स्नान गर्न र मन्दिरमा जल अर्पण गर्न खाँडादेवीको फेदीमा रहेको दुर्गा नदीको पानी मात्र प्रयोग गर्दै आएका खाँडादेवी विकास कोषका अध्यक्ष शेरबहादुर तामाङले बताए । तामाङ भन्छन् “आजमात्र होइन, सरकारी गुठी पूजाको दिन सँधैभरी मन्दिरमा ल्याइएको पानी अवरोध हुन्छ । म ४९ वर्षको भएँ, आजमात्र होइन, मैले थाहा पाएदेखि आजसम्म सरकारी पूजाको दिन मन्दिरमा ल्याइएको धारा अवरोध भएकै छ ।” मन्दिरमा चढाउन र पूजारीले स्नान गर्न दुर्गा नदिको पानी मात्र प्रयोग गर्छौँ, सरकारी पूजाको दिन धेरै पानी आवश्यक पर्ने भएकाले बाहिरबाट ल्याएको पानी चढाउँछ भनेर देवीले पानी अवरोध गराएको हो किन के हो, मैले थाहा पाएदेखि आजसम्म सरकारी पूजाको दिन धारामा पानी सुकेकै हुन्छ । यो मन्दिर यति ठुलो सत्यता र महिमा भएको मन्दिर हो, अध्यक्ष तामाङले भने– खाँडादेवी मन्दिर आएर दर्शन गरी पुन्य प्राप्त गर्न म सबैमा अनुरोध गर्न चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्